नेपाल मुद्रण उद्योग महासंघले निजी क्षेत्रसँग सहकार्य गर्दा समयमै पाठ्यपुस्तक पुगेको बताएको छ।
महासंघले शैक्षिक सत्र २०८० मा कक्षा १ देखि १० सम्मका सरकारी पाठ्यपुस्तक शैक्षिक सत्र सुरु हुनु अगावै विद्यार्थीको हात हातमा पुगेको भन्दै सरकारको भूमिकाको प्रशंसा गरेको हो।
'पुस्तक अभाव भएको समाचार हामी कसैले लेख्नु पनि परेन र पढ्नु पनि परेन। विगत बर्सहरूमा निजी क्षेत्रले समेत छपाई तथा वितरण अनुमति प्राप्त गरेको कक्षा ४ र कक्षा ५ को पाठ्यपुस्तक छपाई तथा बिक्री वितरणको अधिकार शैक्षिक सत्र २०७९ मा खोसिएको कारणले पाठ्यपुस्तकको अभाव हुन गई लाखौं विद्यार्थीहरु पाठ्यपुस्तक बिना नै परीक्षा दिन बाध्य भएका थिए।भने निजी छापाखानाका मेशिन तथा जनशक्ति काम विहीन अवस्थामा पुगेका थिए।' महासंघ द्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई सम्मान समेत गरिएको थियो। कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र ढकाल, उपाध्यक्ष ज्योत्सना श्रेष्ठ सहित कार्यसमिति सदस्यहरूलाई सम्मान गरिएको थियो।
महासंघले यस पटक नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सुझबुझपूर्ण निर्णयले कक्षा १-५ सम्मका पाठ्यपुस्तक निजी क्षेत्रको समेत सहभागितामा छपाई तथा बिक्री वितरण गर्न पुनः अनुमति प्राप्त भएपछि यो सम्भव भएको जनाएको छ।
महासंघले सरकारले तोकेकै मूल्यमा पाठ्यपुस्तक बिक्री वितरण भएको जानकारी गराएको छ।
प्रकाशित: १४ जेष्ठ २०८० १३:१२ आइतबार





