१३ आश्विन २०८१ आइतबार
image/svg+xml
शिक्षा

सट्टामा एसईई दिलाउने नगर प्रमुखलाई पक्राउ पुर्जी

रौतहटको देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहमाटि कानुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। शुक्रबार रौतहट जिल्ला अदालतले नगर प्रमुख साहसहित पाँच जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।  

एसइइ परीक्षामा आफ्नो सट्टा ज्वाइलाई सामेल गराएको आरोपमा विबादमा तानिएका नगर प्रमुख  साह, उनका छोरा लगायतका आरोपीहरु फरार छन्।

मौलापुर नगरपालिकास्थित लक्ष्मीनिया मावि केन्द्रमा संचालन भइरहेको एसइइमा नियमिततर्फका परीक्षा दिइरहेका गरुडा नगरपालिका ६ पोठियाहीका कमल साह (सिम्बोल नम्बर ३५०३७२८) पक्राउ परेपछि नगर प्रमुख साहको सट्टामा बसेको खुलेको हो। साहको बयानको आधारमा नगर प्रमुख साह र उनका जेठो छोरा कुन्दन साह, लक्ष्मिनिया माबिका तत्कालीन केन्द्राध्यक्ष तेजनारायण साहलगायत ५ जना विरुद्ध पक्राउ पूर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

पक्राउ परेका कमल साह रेडियो नेपालको बर्दिवास शाखामा पाँचौ तहमा कार्यरत स्थायी कर्मचारी हुन्। साहले अनुसन्धानका क्रममा नगर प्रमुख साहले आफूलाई परीक्षा दिन बोलाएको स्वीकार गरेको प्रहरीको भनाइ छ। स्थायी कर्मचारी साह नगर प्रमुख साहको ज्वाईँ भएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

साहले सरकारी वकिलको कार्यालयमा ससुराको स्थानमा आफुलाई परीक्षा दिन लगाइएको बयान दिएका छन्। अनुसन्धानका क्रममा नगर प्रमुख साहको नाम आएकोले छानबिन गर्नु परेकोले जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी भएको जिल्ला प्रहरी प्रमुख एसपि बिरबहादुर बुढामगरले बताएका छन्। फरार रहेका सबैको खोजी कार्य भइरहेको र सबै प्रहरी युनिटमा पत्राचार गरिसकिएको एसपि बुढामगरको भनाइ छ।

गत आइतवार परीक्षा संचालन भइरहेको बेला अनुगमन टोलीलाई विद्यार्थीप्रति शंका लागेर चेकजाँच गर्दा नक्कली परीक्षार्थी साह पक्राउ परेका थिए। नगर प्रमुख साहले आफुले कुनै पनि विद्यालयमा भर्ना नभएको र फर्म समेत नभरेकोले फसाउन षड्यन्त्र गरेको दाबी गर्दै तिन दिन पहिले दाबी गरेका थिए। नगर प्रमुख साहले नगरपालिकाको लेटरप्याडमा  बिज्ञप्ति निकालेका थिए।

प्रहरीले परीक्षा फर्म, रजिष्ट्रेशन तथा परीक्षाका अन्य कागजात झिकाएर अनुसन्धान गरिरहेको छ।  शिक्षा ऐन २०२८ को दफा १७ मा नक्कली परीक्षार्थीबाट जाँच दिन लगाउने र दिने दुबैलाई ६ महिना कैद वा १ लाख रुपैया जरिवाना वा दुबै हुन सक्ने कानुनी व्यवस्था छ। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मणिभूषण साहको नेतृत्वको परीक्षा अनुगमन टोलीले नगर प्रमुख साहको ज्वाइँलाई पक्राउ गरेको थियो। नक्कली परीक्षार्थीबारे सूचना पाएपछि प्रशासनको टोली मौलापुर पुगेको थियो।

चलिरहेको एसइइ परीक्षाको क्रममा रौतहटको मुडबलवाबाट पनि एक जना नक्कली परीक्षार्थी पक्राउ परिसकेको छ।  

प्रकाशित: २४ चैत्र २०७९ १३:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App