coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

त्रिविमा १४ वर्षपछि स्ववियु निर्वाचन

स्ववियु निर्वाचनअन्तर्गत आइतबार नेपाल ल क्याम्पसमा मतदान गर्दै विद्यार्थी। तस्बिर ः प्रसन गुरुङ-नागरिक

अनेकौं शंका–उपशंका र अन्योलबीच १४ वर्षको अन्तरालपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका अधिकांश क्याम्पसमा शनिबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन सम्पन्न भएको छ। सबैभन्दा बढी क्याम्पसको सञ्जाल रहेको त्रिविअन्तर्गत ६२ आंगिक र १ हजार ४० सम्बन्धनप्राप्त क्याम्पस छन्। तीमध्ये आइतबार अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएको त्रिवि केन्द्रीय स्ववियु निर्वाचन अनुगमन तथा समन्वय समितिका सदस्य सचिव एवं विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारीले बताए।  

‘आज (आइतबार) अधिकांश क्याम्पसमा निर्वाचन भएको छ। ६२ आंगिकमध्ये १४-१५ वटा मात्रै बाँकी रहे होलान्,’उनले भने, ‘बाँकीमध्ये केहीमा ८ गते पनि निर्वाचन हुँदैछ।’ त्रिवि स्रोतका अनुसार उपत्यकाका सातवटा आंगिक क्याम्पसहरूमा आइतबार चुनाव हुन सकेको छैन। १ हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमध्ये अधिकांशमा आइतबार नै निर्वाचन सम्पन्न भएको प्राध्यापक अधिकारीले बताए। ‘सबैको यकिन विवरण त आइसकेको छैन। त्रिविको आह्वानमा एकैसाथ निर्वाचन भएको छ,’ उनले भने। शनिबार हुन नसकेका सबै क्याम्पसमा एक महिनाभित्रै स्ववियु निर्वाचन गर्न निर्देशन प्रवाह गरिसकेको उनले जानकारी दिए। ‘संस्थाभित्र वैधानिक संस्थाको निर्माण गर्ने र जसले समग्र शैक्षिक वातावरणलाई सकारात्मक दिशामा बढाउन विद्यार्थी सहभागिता बढाउनेमा त्रिवि प्रशासनको जोड छ,’ प्राध्यापक अधिकारीले भने, ‘यसकारण स्ववियुविहीनताको अवस्थालाई यसपटक हटाउने योजनाअनुसार सबै क्याम्पसमा निर्वाचन सम्पन्न गर्न निर्देशन गरिएको हो।’

कहाँ कसको जित?

स्ववियु निर्वाचन सम्पन्न भएसँगै क्याम्पसहरूको नतिजा पनि आउन सुरु भएको छ। शनिबार साँझसम्म सार्वजनिक नतिजाअनुसार देशभरका प्रमुख क्याम्पसहरूमध्ये त्रिविको केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बाजी मारेको छ। नेविसंघका श्यामराज ओझाले ९३२ मतका साथ सभापतिमा जित निकालेका हुन्। यहाँ ३ हजार ४०० मतदातामध्ये २ हजार ७५ मत मात्रै खसेको थियो। यस्तै थापाथलीको इन्जिनियरिङ अध्ययन संस्थामा पनि नेविसंघले सभापति जितेको छ। नेविसंघका पुष्करविक्रम शाही निर्वाचित हुँदा सचिवमा भने नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले जितेको छ। पुल्चोक इन्जिनियरिङ क्याम्पसको सभापति अनेरास्ववियुले जितेको छ। अनेरास्वयुविका विराज अर्यालले सभापति जितेका हुन्। उनले ६६९ मत ल्याउँदा प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल (क्रान्तिकारी) का अजयकुमार मण्डलले ६०२ मत पाए।  

उता पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा नेविसंघका नवीन श्रेष्ठ विजयी भएका छन्। यसअघि धनकुटा बहुमुखी क्याम्पसमा अनेरास्ववियु र गोरखा बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको नेतृत्वमा निर्विरोध स्ववियु चयन भएको थियो। अन्य आंगिक र सम्बन्धनप्राप्त क्याम्पसहरूको नतिजा भने धमाधम आइरहेको छ। हालसम्म पहिलो स्थानका लागि एमालेको अनेरास्ववियु र कांग्रेसको नेविसंघबीच प्रतिस्पर्धा भइरहँदा माओवादी केन्द्रको अखिल क्रान्तिकारीले पछ्याइरहेको छ। त्रिविसँग भने हालसम्म यकिन तथ्यांक आइसकेको छैन। ‘हामीसँग त्यस्तो फटाफट विवरण लिने सचिवालय र मेकानिजम तयार छैन। भोलि (सोमबार) सम्म विवरण आएपछि भन्न सकिएला,’प्राध्यापक अधिकारीले भने। काठमाडौं उपत्यकाका प्रमुख क्याम्पसहरूमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) सहितको गठबन्धनमा रहेका दलनिकट विद्यार्थी संगठनहरूको तालमेल छ। यी क्याम्पसहरूमा शनिबार अबेरसम्म मतगणना चलिरहेको थियो।  

स्ववियुसम्बन्धी व्यवस्था

सरकारले देशभरका सबैजसो विश्वविद्यालय तथा क्याम्पसमा शिक्षाको गुणस्तर कायम गर्न क्याम्पस तथा विश्वविद्यालयको नीति निर्माण र कार्यान्वयनमा विद्यार्थी प्रतिनिधित्व सुनिश्चित गर्न, शैक्षिक वातावरण कायम गर्न र विद्यार्थीको चौतर्फी विकासका लागि स्ववियुको व्यवस्था गरेको छ। यही व्यवस्थाअनुसार स्ववियु चयनका लागि हरेक दुईदुई वर्षमा विश्वविद्यालयमातहतका क्याम्पसहरूमा निर्वाचन गर्नुपर्ने प्रावधान राखिएको छ। सरकारले यस्तो व्यवस्था गरे पनि पछिल्लो समय सबैजसो विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा १४ वर्षदेखि स्ववियु निर्वाचन हुन सकेको थिएन। पछिल्लोपटक २०६५ सालमा स्ववियु निर्वाचन भएको थियो। त्यसपछि २०७३ सालमा निर्वाचन घोषणा गरिए पनि केहीमा हुँदा अधिकांश क्याम्पसहरूमा निर्वाचन हुन सकेको थिएन।

हाल सरकारले स्ववियु निर्वाचन मिश्रित प्रणालीबाट गर्ने व्यवस्था गरेको छ। जसमा सभापति, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित गर्ने व्यवस्था गरेको छ। अहिलेको निर्वाचन यही प्रणालीबाट सम्पन्न हुँदैछ।  

स्ववियु इतिहास  

राजा महेन्द्रले २०१७ सालमा बिपी कोइराला नेतृत्वको जननिर्वाचित सरकार अपदस्थ गरी ‘कु’मार्फत दलहरूमाथि प्रतिबन्ध लगाएका थिए। यसरी लगाइएको पञ्चायती व्यवस्थाको विरोधमा उठ्ने हरेक आवाजलाई प्रतिबन्ध लगाइएको थियो। यस्तो अवस्थामा त्रिविमा अध्ययनरत विद्यार्थीहरूले संगठित भएर राज्यको दमनविरुद्ध आवाज उठाउन थाले। त्यतिबेला हडताल, आमरण अनशनजस्ता आन्दोलन गरिएका थिए। उनीहरूले स्ववियु गठनको माग गर्दै आन्दोलन गरेका थिए। विश्वविद्यालयभित्र विद्यार्थीका हकहितका लागि काम गर्ने संगठन खोल्न दिनुपर्ने बहानामा उक्त संगठनको माग गरिएको थियो। राजा महेन्द्रले स्ववियुका नामबाट ठुलै विद्रोह हुन सक्ने देखेपछि त्यसलाई मान्यता दिए पनि त्यसको सचिव र कोषाध्यक्ष सरकारले नै तोक्ने व्यवस्था गर्यो। सरकारकै निर्देशनमा सभासम्मेलन गर्नुपर्ने प्रावधान पनि राखियो।  

यसरी पहिलोपटक २०१८ सालमा तीर्थनाथ डंगोलको सभापतित्वमा पहिलो कार्यसमिति सर्वसम्मत चुनिएको थियो। त्यसपछि दोस्रो कार्यसमिति आउँदा स्ववियुका लागि निर्वाचन भयो। जसमा नवराज सुवेदी सभापति र प्रजातन्त्रवादी समूह (नेपाली कांग्रेस) का तर्फबाट दमननाथ ढुंगाना उपसभापतिमा निर्वाचित भए। सुवेदी दरबारको पक्षमा लाग्दा उपसभापति ढुंगानालाई पछि साधारणसभाले कार्यवाहक सभापति बनाएको थियो।  यसरी पञ्चायतकालमा त्रिविमा सुरु भएको स्ववियुले सोही व्यवस्थाविरुद्ध विद्यार्थीलाई संगठित गरेर आन्दोलनमा होमिन उत्प्रेरित गर्ने काम गरेको जानकारहरू बताउँछन्। त्यसो त स्ववियुको जग २००४ सालको ‘जयतु संस्कृतम्’ आन्दोलन रहेको पनि एकथरीको तर्क छ। २००७ सालमा प्रजातन्त्र बहाली भएपछि जयतु संस्कृतम्कै सिकाइबाट क्याम्पसहरूमा छात्र संघ गठन गरिएको थियो।

प्रकाशित: ६ चैत्र २०७९ ००:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App