coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

स्ववियु निर्वाचन अनिश्चित बनेपछि क्याम्पसमा ताला

पाणिनी बहुमुखी क्याम्पसमा संयुक्त विद्यार्थी संगठनले तालाबन्दी गरेका छन्। शुक्रबार बिहान क्याम्पस प्रशासनको भवनमा तालाबन्दी गरेको विद्यालय प्रशासनले जनाएको छ।

चार वर्षदेखि सञ्चालक समिति गठन हुन नसक्दा क्याम्पसको प्रशासनिक काम गर्न बाधा पुगेको, समिति नबन्दा स्ववियु निर्वाचन पनि अनिश्चित बनेकाले तालाबन्दी गर्न बाध्य हुनुपरेको नेविसंघ नेता कृष्ण भुसालले बताए। ‘क्याम्पस राजनीतिक दलहरूको बन्धक जस्तै भएको छ,’ उनले भने, ‘क्याम्पसलाई निकास नदिएपछि तालाबन्दी गरेका हौं।’

लामो समयदेखि सञ्चालक समिति बनाउन क्याम्पस प्रशासन र विद्यार्थी संगठनहरूले आग्रह गर्दासमेत अटेरी गरेपछि तालाबन्दी गरेको विद्यार्थी संगठनहरूका नेताहरूले बताएका छन्। नेविसंघ नेता कृष्ण भुसाल, नेकपा बहुमत नेतृत्वको अखिल (क्रान्तिकारी) का अध्यक्ष पदम नेपाली, अनेरास्ववियुका विक्रम नेपाली, अखिल (क्रान्तिकारी) का अध्यक्ष सुदीप खनाल, अनेरास्ववियुका प्रतिनिधि नवीन विक, अखिल (छैठौं) का जिल्ला अध्यक्ष जीवन नेपाली, विप्लव नेतृत्वको अखिल (क्रान्तिकारी) का अध्यक्ष हरि सीलगायत विद्यार्थी नेताको सहभागितामा तालाबन्दी गरिएको हो। सञ्चालक समिति बनाउनुपर्ने माग राख्दै विद्यार्थी संगठनहरूले लामो समयदेखि प्रयास गरे पनि जिल्लाका राजनीतिक दलहरूले निकास नदिएको अखिल (क्रान्तिकारी) का अध्यक्ष सुदिप खनालले जानकारी दिए। खनालले विद्यार्थी संगठनहरूको माग पूरा नभएसम्म ताला नखुल्ने बताएका छन्। चार वर्षदेखि पाणिनी बहुमखी क्याम्पसको सञ्चालक समिति गठन हुन नसक्दा यहाँको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनसमेत अनिश्चित बनेको नेकपा बहुमत नेतृत्वको अखिल (क्रान्तिकारी) का अध्यक्ष पदम नेपालीले बताए।

सदरमुकाम सन्धिखर्कमा रहेको क्याम्पस विगत ४ वर्षदेखि सञ्चालक समितिविहीन छ। यसअघि २०७२ सालमा चेतनारायण आचार्यको अध्यक्षतामा सञ्चालक समिति बनेको थियो। क्याम्पसको विधानअनुसार प्रत्येक ३-३ वर्षमा क्याम्पस समिति गठन गर्नुपर्ने व्यवस्था छ। २०७५ सालमा गठन गर्नुपर्ने क्याम्पस सञ्चालक समिति त्यतिबेला विभिन्न कारणले बन्न सकेन। क्याम्पसले पटक–पटक क्याम्पस सञ्चालक समिति बनाउन आग्रह गर्दासमेत जिल्लाका राजनीतिक दलहरूले चासो नदेखाएको क्याम्पस स्रोतले जनाएको छ।

प्रकाशित: ४ चैत्र २०७९ ००:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App