७ वैशाख २०८१ शुक्रबार
शिक्षा

पूर्वविद्यार्थीको सहयोगले करोडको भवन

पूर्व विद्यार्थीले चाहे भने आफूले अध्ययन गरेको स्कुलको मुहार फेर्न सक्छन्। यस्तै उदाहरण बनेका छन्–भोजपुरको शारदा मावि प्याउलीका पूर्वविद्यार्थीहरू। शारदा मावि, प्याउली, भोजपुरका विद्यार्थीले आफू पढेको विद्यालयलाई भविष्यमा दूरशिक्षालाई मद्दत पुग्ने गरी ईलाइब्रेरी भवन बनाइदिएका छन्। करिब सवा करोड रूपैयाँ लागतको उक्त भवन निर्माण सम्पन्न भएपछि गत आइतबार एक भव्य समारोहबीच हस्तान्तरणसमेत भएको छ।

भवन हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै विद्यालयका पूर्वविद्यार्थी नेदरल्यान्डसका अवैतनिक बाणिज्यदूत तथा करुणा फाउन्डेसनका कार्यकारी अधिकृत दीपकराज सापकोटाले भने, ‘ई–लाइब्रेरीले गाउँ र सहरका विद्यार्थीबीच समान अवसर प्रदान गर्न मद्दत गर्छ।’

इन्टरनेटको सहज पहुँचले गाउँका विद्यार्थीलाई संसारका अन्य समवयी विद्यार्थीसरह अवसर प्रदान गर्ने सापकोटाले बताए। भोजपुरको प्रवेशद्वारका रूपमा रहेको यो विद्यालयको ई–लाइब्रेरीले राम्ररी काम गर्न सक्यो भने भविष्यमा जिल्लाका अन्य शिक्षालयले पनि नमुनाका रूपमा यसलाई हेर्न र प्रेरणा लिन सक्ने विश्वास उनले व्यक्त गरे।

यस विद्यालयमा अध्ययन गरेका पूर्वविद्यार्थी संसारका विभिन्न ठाउँमा मात्र फैलिएका छैनन्, तिनीहरू देशभित्रै पनि विभिन्न जिम्मेवारीमा छन्। तिनले आफ्नो थातथलोलाई सम्झिएर यति ठूलो सहयोग प्रदान गरेका हुन्। ई–लाइबे्ररी भवन हस्तान्तरण समारोह पुनर्मिलनको घडीजस्तो रहेको थियो। आफ्नो बाल्यकाल सम्झँदै र आफ्ना पितापुर्खाका योगदानलाई स्मृतिमा ल्याउँदै समारोहका वक्ताहरूले वातावरणलाई भावुकसमेत बनाएका थिए।

समारोहका प्रमुख अतिथि अरूण नगरपालिका प्रमुख शालिकराम खत्रीले पूर्वविद्यार्थीको यो सहयोगको मुग्धकण्ठले प्रशंसा गरेका थिए। ‘यस विद्यालयलाई टेकोपिडो दिने र थामिराख्ने काम भएको छ,’ उनले भने, ‘यो थालनी विद्यालय र गाउँपालिकाका लागि मार्गदर्शन हुनेछ।’

आन्तरिक विवादका कारण गाउँपालिका भवनसमेत बनाउन नसकेर भाडाका घरमा नगरपालिकाका विभिन्न विभाग नगरमा छरिएर रहेको अवस्थाको समेत प्रमुख खत्रीले चित्रण गरे। वार्षिक २० लाख रूपैयाँभन्दा बढी घर भाडामै जाने गरे पनि कुन कर्मचारी कहाँ बसेर काम गरेका छन् भनेर अनुगमनसमेत गर्न नसकिने अहिलेको अवस्थाका आधारमा पनि विद्यालयको ई–लाइब्रेरी भवन निर्माणले आफूहरूलाई प्रेरित गरेको खत्रीले बताए।

बजारबाट ७५० मिटर पूर्व र मध्यपहाडी राजमार्गबाट दुई सय मिटर माथि दाताले दिएको जग्गामा समेत नगरपालिका भवन बनाउन नसकिएको दुखेसो खत्रीले पोखे। सबैको सहमतिमा दाताबाट प्राप्त जमिनमा नगरपालिका भवन बनाउन प्रतिबद्ध रहेको उनको धारणासमेत समारोहमा प्रकट भएको थियो।

विद्यालयका प्रधानाध्यापक श्यामसुन्दर साहले पूर्वविद्यार्थीले सहयोग गरी दुई तले आधुनिक भवन निर्माण गरिदिएकोमा आभार प्रकट गरे। विद्यालयले उत्पादन गरेका पूर्वविद्यार्थीलाई उनले ‘बहुमूल्य रत्न’का रूपमा चित्रण समेत गरे। नवनिर्मित भवनमै अर्को एकतला थप गर्न सके विद्यालयलाई भइरहेको स्थान अभावको समस्या समाधान गर्न सम्भव हुने पनि उनको धारणा थियो।

उक्त समारोहमा अन्य पूर्वविद्यार्थीले समेत एकपछि अर्को सहयोगको घोषणा गरेका थिए। पूर्वविद्यार्थी इन्द्र खत्री (राजन)ले आफ्नो लगानीको इन्जिनियरिङ कलेजमा हरेक वर्ष एक विद्यार्थीलाई निःशुल्क पढाउने प्रतिबद्धता व्यक्त गरेका थिए। विराट हेल्थ कलेजका प्रबन्ध निर्देशक राजनले आफू संलग्न रहेका अन्य शैक्षिक संस्थाबाट समेत यस विद्यालयका विद्यार्थीलाई मद्दत गर्ने आश्वासन दिए।

समारोह सञ्चालक पूर्वविद्यार्थी समाजका कोषाध्यक्ष रोहिणी खनालले आफू र आफ्नो परिवारका तर्फबाट ई–लाइब्रेरी सञ्चालनका लागि एक लाख रूपैयाँ अक्षयकोष स्थापनाका निम्ति हस्तान्तरण गरेका थिए। पूर्वविद्यार्थी एवम् नेपाल सरकारका सहसचिव उत्तरकुमार खत्रीले ई–लाइब्रेरीमा उच्च गतिको इन्टरनेट सेवा जडान गर्ने प्रक्रिया अघि बढिरहेको जानकारी दिएका थिए। ‘विद्यालयलाई हामी सहयोग गरिरहन्छौं,’ उनले भने।

ई–लाइब्रेरीमा जोडिएका कम्प्युटरमा कक्षा एकदेखि स्नातक तहसम्मका विभिन्न पाठ्यसामग्री इन्टरनेट नहुँदा पनि पहुँचमा हुन्छन्। यसको सर्भर र सम्पूर्ण सूचना बूढानीलकण्ठ पूर्वविद्यार्थी समाज (सेब्स) ले उपलब्ध गराएको हो।  

प्रकाशित: २७ फाल्गुन २०७९ ०३:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App