coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

अध्ययन कक्षमा पुस्तक पढ्ने बढ्दै

प्रहरी कार्यालय कालिककोटले स्थानपना गरेको अध्ययन कक्षमा पुस्तक पढ्ने बढ्दै गएका छन्। रातदिन जनताको सुरक्षामा खट्ने प्रहरी फुर्सदको समयमा अध्ययनमा व्यस्त छन्। साहित्यिक मनका प्रहरी प्रमुख डीएसपी जयश्वर रिमालले प्रहरी र थुनुवामा सकारात्मक सोचको विकास गर्न पढ्ने बानी बसाल्न आफ्नै कार्यकक्षमा अध्ययन कक्ष (शिविर) सुरु गरे ।

‘रिमालले भने, ‘थुनुवा, प्रहरी कर्मचारी र अध्ययनमा रुचि भएका पाठकले यसबाट लाभ लिन सक्छन्।’ उनले बाल बिज्याइँ गरेर आएका बालबालिका, थुनामा परेका महिलाका लागि स्थापना गरिएको महिला तथा बालबालिका सेवा केन्द्रलाई व्यवस्थित बनाउने क्रममा ३८ हजार मूल्यको किताब खरिद गरिएको बताए । थुनुवाका लागि जतिखेर पनि अध्ययन गर्न पाउने गरी समय तालिका बनाइएको छ ।  

अध्ययन कक्षमाको लागी सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीले पनी केही थान पुस्तक सहयोग गरेका छन् । प्रहरीका लागि भने बिहान ८ बजेदेखि ९ बजेसम्म र बेलुकी ५ बजेदेखि ६ बजेसम्मको अध्ययन समय तोकिएको छ ।

प्रहरीले सुरुवात गरेको कामको प्रशंसा गर्दै यहाँका स्थानीय तहले पनि थप पुस्तक र पुस्तकालयका लागि आवश्यक फर्निचरलगायतका सामग्री सहयोग गर्ने वाचा गरेका छन् । ‘लेट्स रिड टुगेदर’ अर्थात् ‘सँगसँगै पढौं’ भन्ने नाराका साथ सुरु गरिएको पुस्तकालय अवधारणा प्रहरीका लागि नयाँ भएकाले प्रहरी पनि अध्ययनमा उत्सुक रहेको सूचना अधिकारीसमेत रहेका प्रहरी निरीक्षक सुवराज बमले बताए ।

अहिले प्रहरीको किताब कुनोमा कालिकोटकै लेखक बुद्धिसागरको कर्नाली ब्लुज, फिरफिरे, नारायण वाग्लेको पल्पसा क्याफे, झमक घिमिरेको जीवन काँडा कि फूल, हरिवंश आचार्यको चिना हराएको मान्छे, सुविन भट्टराईको साया र समर लभ, पारिजातको शिरीषको फूल, अमर न्यौपानेको गुलाबी फूल, करोडौं कस्तुरी र सेतो धरती, सरस्वती प्रतीक्षाको नथिया, चन्द्रप्रकाश बानियाको महारानीलगायतका साहित्यिक पुस्तक छन्।

स्थानीय युवामा पढ्ने बानी बसाल्न जिल्ला प्रहरी कार्यालयमा पुस्तकालय स्थापना गरेर पढ्न चाहनेलाई भर्पाई गरेर किताब घर पनि लैजान दिने योजना प्रहरीको छ । सुरक्षामा खटिनुपर्ने प्रहरी पनि किताब पढेर बस्छन् भन्दा सुन्नेलाई अनौठो लागे पनि समाजमा सकारात्मक सोचको विकास गर्न पुस्तकालयको आवश्यकता रहेको प्रहरी कार्यालयले जनाएको छ ।  

प्रकाशित: २० फाल्गुन २०७९ ०२:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App