२९ वैशाख २०८१ शनिबार
image/svg+xml
शिक्षा

नेपाली विद्यार्थीको रोजाइमा किन पर्छ बेलायत?

उच्च शिक्षा अध्ययन गर्न जान चाहाने नेपाली विद्यार्थीकालागि प्रमुख शैक्षिक गन्तव्य मध्य एक हो बेलायत। नेपालको सन्दर्भमा बाहिर पढ्न जाने विद्यार्थीहरूको प्राथमिकता अस्ट्रेलिया पछि बेलायत र अमेरिका रहेको देखिन्छ।

प्रत्येक वर्ष हजारौँ अन्तर्राष्ट्रिय विद्यार्थीहरू बेलायतमा अध्ययन गर्ने गर्दछन् जसले बेलायतलाई लोकप्रियतामा लगातार उच्च श्रेणी प्रदान गर्दै आइरहेको छ।

नेपाली विद्यार्थीहरूले बेलायतलाई प्राथमिकतामा राख्नुको कारण त्यहाँको उच्च गुणस्तरको शिक्षा हो। बेलायतमा उत्कृष्ट विश्वविद्यालयहरूको लामो इतिहास छ जसले विश्वको सबैभन्दा सम्मानित शिक्षाविद् र अनुसन्धानहरू उत्पादन गरेको छ। जसको कारण विद्यार्थीहरूसँग विश्व स्तरीय सुविधाहरू, पुस्तकालयहरू, प्रयोगशालाहरू र अन्य स्रोतहरूमा पहुँच हुन्छ।

परम्परागत स्नातक र मास्टर डिग्रीदेखि विशेषज्ञ पाठ्यक्रमहरूले विद्यार्थीहरूलाई यहाँ आकर्षित गर्दछ। बेलायतमा अध्ययन गर्ने सामाजिक पक्ष पनि विद्यार्थीहरूको लागि ठुलो आकर्षण हो। 

बेलायतको बलियो अर्थतन्त्रले विद्यार्थीहरूलाई रोजगारीका प्रशस्त अवसरहरू प्रदान गर्दछ, जसले यसलाई करियर सुरु गर्नको लागि उत्कृष्ट स्थान बनाउँछ। यसको विश्व स्तरीय शिक्षा, जीवन्त संस्कृति, र रोजगारीका अवसरहरूको साथ, बेलायत अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि एक आदर्श गन्तव्य बनेको छ।

शिक्षा मन्त्रालयका अनुसार पछिल्लो पाँच महिनामा बेलायत जाने विद्यार्थीको संख्या बढिरहेको छ। आर्थिक वर्ष ०७९ मा ५,३०४ विद्यार्थीले उच्च शिक्षा हासिल गर्न बेलायतका लागि नो अब्जेक्सन लेटर लिएका छन्।

तनहुँका समीर अधिकारी आफ्नो उच्च शिक्षाका लागि बेलायत जाने तरखरमा छन् उनले आफू पढ्नका लागि बेलायत रोज्नुको मुख्य कारण युकेमा डिग्री लिन अस्ट्रेलियाको तुलनामा केही कम खर्चिलो देखिएको बताउँछन् त्यसले विद्यार्थीहरूमा अनावश्यक आर्थिक भार नपर्ने र पार्ट टाइम काम गर्न सकिने भएकाले बेलायत रोजेको उनेको भनाई छ।

‘युकेको शिक्षा विश्वकै उत्कृष्ट शिक्षा हो भनेर धेरैबाट सुन्दै आएको छु, बेलायती सरकारले विदेशी विद्यार्थीलाई प्रवेशको बाटो अझ सहज बनाइदिएको छ। युकेले विदेशी विद्यार्थीहरुलाई अध्ययन पूरा गरेपछि २ वर्षे वर्क परमिट भिसा समेत दिने भएकाले युके नै रोजेको हुँ।’ उनले भने।

युके उच्च शिक्षा अध्ययन गर्ने चाहाना भएका विद्यार्थीलाई ठुलो अवसर हुन सक्ने उनी बताउँछन् उनी भन्छन् ‘युकेमा स्नातकोत्तर तह अध्ययन गर्न जाने विद्यार्थीले पहिलो वर्षमा शुल्क तिर्नुपर्ने तर दोस्रो वर्षमा शुल्क तिर्न नपर्ने कोर्सहरू धेरै रहेछन् जसले गर्दा अन्य देशमा जानुभन्दा आर्थिक भार र खर्च पनि कम पर्छ’

त्यस्तै पर्वतको जलजला गाउँपालिका घर भई हाल काठमाडौंको शंखमुल बस्दै आएका गणेश रेग्मी अहिले उच्च शिक्षाका लागि बेलायत जाने तयारी गर्दैछन् अहिले उनी त्यहाँका विश्वविद्यालयहरू बुझ्नमा व्यस्त छन् उनले आफू पढ्नका लागि बेलायत छान्नुको कारण त्यहाँको पढाई सैद्धान्तिक मात्र नभई व्यावहारिक पनि भएको बताउँछन्।

उनी भन्छन् ‘मैले रिसर्च गरेर बुझ्दा त्यहाँ मास्टर डिग्री जेनेरल एक वर्षको मात्र हुने रहेछ, त्यो हुँदा कलेजमा पनि सहज हुने देखियो, अनि अर्को कारण मेरो पुसाजु पनि उतै हुनुहुन्छ, उहाँ भइसके पछि मलाई बस्न खान पनि सहज हुने भएकाले मैले बेलायत छानेको हुँ।’

प्रोजेक्ट कन्स्ट्रक्सन इन्जिनियरिङ म्यानेजमेन्ट अध्ययन गर्न चाहेका उनले लण्डन सिटी आसपासका कलेज बुझ्दै गरेको बताए। ‘त्यही पढ्दै गर्नुभएका सिनियर दाईहरुसँग पनि कुरा गर्दै छु, के कति खर्च लाग्छ, कुन राम्रो छ भनेर बुझ्दै छु। काम गर्ने समय हप्ताको २० घण्टा छ, जे होस आफू खान बस्नलाई चाहिँ राम्रै सँग म्यानेज हुन्छ जस्तो लाग्छ।’ उनले भने।

काठमाडौंको डिल्लीबजारमा स्थित ग्लोबल रीच एजुकेसनल कन्सल्टेन्सीका एडभाइजर नारायण बजाजका अनुसार प्रायः युके पढ्न जाने विद्यार्थीहरू मास्टर्सका लागि जाने गर्दछन् त्यहाँको एक वर्षीय मास्टर्स कोर्सले विद्यार्थीहरू युके प्रति आकर्षित भएको उनको भनाइ छ।

‘कतिपय विश्वविद्यालयहरूले एक वर्ष इन्टर्न सहित २ वर्ष कोर्स बनाएको हुँदा, एक वर्ष काम खोज्ने समय पनि रहन्छ र दुई वर्ष वर्क परमिट पनि पाउने हुँदा यसतर्फ विद्यार्थीहरू आकर्षित भएका छन्।’ उनले भने।

उनका अनुसार विद्यार्थीले उसले अध्ययन गर्ने विषय, रोजगारीको अवसरको बारेमा जानकारी लिएर जाँदा अध्ययन गर्ने विद्यार्थीले दुःख पाउनु पर्दैन। त्यहाँका खान पिन, कल्चर लगायतका विषयमा सामान्य जानकारी हुन जरुरी हुन्छ।

‘विद्यार्थीले आफू अध्ययन गर्न जाने विश्वविद्यालयबाट अफर लेटर पाए सँगै नेपालबाट बेलायत जानका लागि अध्ययन अनुमति पत्र (नोअव्जेक्सन लेटर) लिन सक्छन्। विश्वविद्यालयले लिने अन्तरवार्तामा उत्तिण भएका विद्यार्थीले युकेमा पढ्न जान ‘स्टुडेन्ट भिसा’ पाउँछन्।

बेलायतमा गुणस्तरीय शिक्षासँगै रोजगारीको अवसर पनि भएकाले विद्यार्थीको आकर्षण यस तर्फ बढेको उनको भनाइ छ। उनले बेलायत पढ्न जाने विद्यार्थीहरूको न्यूनतम शुल्क दश हजार देखि १५ हजार पाउन्ड स्टर्लिङ सम्म लाग्न सक्ने बताए। उनका अनुसार बेलायत पढ्न जाने विद्यार्थीहरू मध्ये धेरैजसो 'ए लेभल' र मास्टर्स पढ्ने विद्यार्थीहरू छन्।

‘बेलायतमा बस्न कस्तो? हावापानी कस्तो छ? सार्वजनिक यातायातको व्यवस्था कस्तो छ ? यी जानकारीहरू विद्यार्थीहरूलाई बेलायत पढ्न जान चाहिने प्रमुख जानकारीहरू मध्ये हुन्। सर्वप्रथम विद्यार्थीलाई उसले अध्ययन गर्ने विषय र उपयुक्त विश्वविद्यालय छनोट गर्नुपर्दछ, विश्वविद्यालय छनोट गर्दा लागत खर्च, विश्वविद्यालयको श्रेणी ,उसले अध्ययन गर्ने विषयको पाठ्यक्रम, र विश्वविद्यालयमा उसले अध्ययन गर्न उसको योग्यता पुग्छ कि पुग्दैन हेर्न जरुरी हुन्छ।

बेलायतका अध्ययनका लागि जाने विद्यार्थीको प्रमुख रोजाई लण्डन नै हुने गरेको छ। तर त्यहाँ भन्दा बाहिर पनि राम्रा विश्वविद्यालयहरू छन् त्यहाँको हरेक शहर विकसित छ, लन्डन एउटा ऐतिहासिक शहर हो तर अलि बेसी खर्चिलो हुन्छ, आफ्नो लिभिङ कष्ट कम बनाउने हो भने लण्डन बाहिर सेरोफेरोका विश्वविद्यालयहरू पनि उपयुक्त हुन सक्छन्' बजाजले भने।

विद्यार्थीहरूलाई युकेको शिक्षा प्रणाली, विश्वविद्यालय र कलेजहरूको जानकारी मात्र नभई त्यहाँ जानका लागि के कस्तो तयारी गर्ने, शैक्षिक, आर्थिक अवस्था कस्तो हुनुपर्छ, भिसा प्रक्रिया कस्तो छ, छात्रवृत्ति छ कि छैन, रोजगारीका अवसर कसरी पाइन्छ, त्यहाँको कानुन कस्तो छ भन्ने विषयमा जानकारी लिन जरुरी हुने उनी बताउँछन्।

काठमाडौंको पुतलीसडक स्थित, ब्ल्यु बेरी एजुकेसनका संस्थापक (सिइओ) महेन्द्र थापाका अनुसार तुलनात्मक रूपमा विद्यार्थीहरूलाई अष्ट्रेलिया भन्दा बेलायत अलि महँगो पर्न जान्छ। तर झन्झट भने अष्ट्रेलिया, क्यानडाको तुलनामा धेरै झेल्नु पर्दैन। बेलायतमा अध्यानका लागि जाँदा बाबु आमाको वार्षिक आम्दानी देखाउनु नपर्ने हुँदा र आर्थिक अवस्था कमजोर हुने बिद्यार्थीहरुलाई पनि सहज हुने हुँदा अधिकांश विद्यार्थीहरूको रोजाइमा बेलायत पर्न गएको उनको भनाइ छ।

‘अहिले युकेमा कति पय विश्वबिद्यालयहरुले आईएलस, टोफेलमा यति नै अङ्क ल्याउनै पर्छ भनेर मापदण्ड तोकेका छैनन्, उनीहरूको विद्यार्थी छान्ने आफ्नै एउटा तरिका हुन्छ, त्यही अनुसारको मापदण्ड मिलेको खण्डमा ५/६ ओटा विश्व विद्यालयहरूले विना आईएलस, टोफेलनै विद्यार्थी भर्ना लिने गर्दछन, त्यसो हुँदा कक्षा १२ को अंग्रजीमा कम नम्बर आएका विद्यार्थीहरूले पनि सजिलै एप्लाई गर्न सक्छन्’ उनले भने।

संस्थापक थापाका अनुसार अष्ट्रेलिया क्यानडा जस्ता देशहरूमा आईएलस स्कोर नपुगेको अवस्थामा पनि बिद्यार्थीहरुले युके एप्लाइ गर्दै आएका छन्।

‘भिसाको पछिल्लो तथ्याङ्क हेर्ने हो भने बिचमा अष्ट्रेलियाको भिसा धेरै अस्वीकृत भएको देखिन्छ, बिद्यार्थीहरुले अष्ट्रेलियाको भिसा रिजेक्ट भए पश्चात पनि नेपालमै बसेर पढ्छु भन्ने मनसाय राखी सकेका हुँदैनन्, साथीभाइहरू बाहिरै गएर पढेको देख्दा उनीहरूलाई पनि बाहिरै गएर पढ्न मन हुन्छ। त्यसपछि सबै भन्दा बढी भिसा कुन देशको लागिरहेछ भनेर खोज्दै जाँदा उनीहरूको रोजाइमा बेलायत पर्न जान्छ।’ थापाले भने।

सबै कागजात मिलेको खण्डमा युकेमा ‘स्टुडेन्ट भिसा’ सजिलै पाउन सकिने उनेको भनाई छ। उनले अरू देशको तुलनामा बेलायतमा स्टुडेन्ट भिसा पाउन धेरै कठिन नहुने प्रस्ट पारे।

थापा भन्छन् ‘लण्डन सिटी बाहिरका विश्वविद्यालयहरूमा पढ्दा अलि सस्तो पर्न जान्छ र ती विश्वविद्यालयहरूले छात्रवृत्ति पनि बढी दिएको पाइन्छ। नेपाली विद्यार्थीहरूलाई पछिल्लो समय यहाँ स्थित कन्सल्टेन्सीहरूले लण्डन सिटी बाहिरका विश्वविद्यालयहरू प्रिफर गर्दिने गरेका छन्।  

लण्डन सिटी बाहिर रोजगारी अवसर कम हुने गर्दछ। त्यहाँ नेपाली विद्यार्थीहरू पनि कम हुने र काम पनि नपाउने हुँदा कति पय विद्यालयहरू समस्यामा परेका गुनासोहरू पनि आइरहेका छन्। लण्डन सिटी आसपासका विश्वविद्यालय जाने विद्यार्थीहरूले चाहिँ यस्ता समस्याहरू झेल्नु पर्दैन, लण्डनमा काम पाइन्छ, बेरोजगार बस्नु पर्दैन।’

लण्डन आसपासका विश्वविद्यालय जाने विद्यार्थीहरूबाट सकारात्मक प्रतिक्रिया र लण्डन सिटी बाहिर जाने विद्यार्थीहरूको गुनासो आइरहने उनले सुनाए।

उनका अनुसार बेलायतमा विद्यार्थीहरूलाई काम गर्न पनि सहज छ। आतिथ्य, घरको हेरचाह जस्ता काम गर्दा प्रति घण्टा ९ देखि १५ पाउण्ड सम्म दिने गरिन्छ भने भारतीय रेस्टरेन्टहरुमा, बालबालिका हेरचाह जस्ता काम गर्दा २० पाउण्ड सम्म हुने गरेको उनले बताए। बेलायतका अरू ठाउँहरू भन्दा लण्डन सिटी आसपासमा विद्यार्थीहरूले बढी भुक्तानी पाउने गरेको उनले सुनाए।

‘बेलायत सुरक्षाको हिसाबले पनि एउटा राम्रो देश हो। नेपाली विद्यार्थीहरुहरुलाई त्यहाँ पर्ने सक्ने समस्या भनेको एउटा आवास हो। बस्नका लागि समस्या हो। अनि अर्को लण्डन बाहिर बस्ने विद्यार्थीका लागि जागिर पनि समस्या हो।

त्यसपछि अर्को मुख्य समस्या भनेको विद्यार्थीहरू पढ्न धेरै जान्छन्, पढ्छन् कम, काम धेरै गर्दछन्। त्यो हुँदा पढाइमा विश्वविद्यालयले तोकेको अङ्क, हाजिर विद्यार्थीहरूले ल्याउन सक्दैनन र विद्यालयले सिधै निकाल्दिने हुँदा यस्ता केसहरू पनि धेरै सुनिने गर्दछ। बेलायतमा कलेज, प्रोग्राम र इन्टेक फेरबदल गर्न पाइँदैन जसको कारण विद्यार्थीहरुलाइ समस्या पर्न जान्छ। कामसँगै पढाई पनि मेन्टेन गर्नुपर्दछ, पढाइ भन्दा कमाइलाई प्राथमिकतामा दिँदा समस्या हुने हो।’ उनले भने।

उनका अनुसार विद्यार्थीहरू बेलायत जानु अघि आफू किन त्यहाँ जाँदै छु भनेर सोच्न जरुरी हुन्छ। त्यहाँ पढ्न मात्र जाने हो भने त्यही अनुसारको तयारी गर्नुपर्ने हुन्छ र उतै बसोबास गर्ने हो भने सोही अनुसारको तयारी आवश्यक रहन्छ।

‘यदि विद्यार्थीहरू त्यहाँ पढ्न भनेर मात्र जाने हो र पछि नेपाल नै फर्किएर केही गर्छु भन्ने हो भने विद्यार्थीहरूले राम्रो विश्व विद्यालय छान्नु जरुरी हुन्छ जसको पढाई राम्रो छ, जसको डिग्रीको मान्यता हुन्छ। अनि आफूलाई पायक पर्ने विश्वविद्यालय नै रोज्नु पर्छ नत्र समस्या पर्न सकिन्छ।

यदि बेलायत मै बस्छु उतै सेटल हुन्छु भन्ने विद्यार्थीहरूले यस्तो प्रोग्राम छान्नु र्पयो की भोलि उनहरु त्यही सेटल हुन सकुन्। जसमा उच्च माग भएको पाठ्यक्रम जस्तै अकाउन्ट लगायतका विषहरू छान्नु पर्दछ। ताकि डिग्री सकिए पछि राम्रो जागिर पाउन सकुन्।

बेलायत जानु अघि बिद्यार्थीहरुलाई यहाँ स्थित कन्सल्टेन्सीहरूले विश्वविद्यालयहरू सँग जोडिदिन्छन् तर आफू त्यहाँ जोडिन के के कुरामा ध्यान दिनु पर्छ त्यो विद्यार्थी आफैले खोजी गर्नु पर्ने उनको सुझाव छ।

बेलायतका चर्चित विश्वविद्यालयहरूमा अक्सफोर्ड विश्वविद्यालय, क्याम्ब्रिज विश्वविद्यालय, इम्पेरियल कलेज लन्डन, विश्वविद्यालय कलेज लन्डन, डरहम विश्वविद्यालय, एडिनबर्ग विश्वविद्यालय,म्यानचेस्टर विश्वविद्यालय, किंग्स कलेज लन्डन,वारविक विश्वविद्यालय र ब्रिस्टल विश्वविद्यालय रहेका छन्।

प्रकाशित: १७ फाल्गुन २०७९ ०२:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App