coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

त्रिवि दीक्षान्त समारोहमा १० हजार विद्यार्थी दीक्षित हुँदै

त्रिभुवन विश्वविद्यालयको ४८औ दीक्षान्त समारोह यही मंसिर २३ गते  शुक्रबार हुने भएको छ। दीक्षान्त समारोह ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने भएको हो।

दीक्षान्त मूलसमारोह समितिका सदस्य सचिव साधुराम अर्यालका अनुसार समारोहमा १० हजार तीन सय ९२ विद्यार्थी दीक्षित हुँदै छन्। विसं २०७८ असार १ गतेदेखि २०७९ जेठ मसान्तभित्रसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थी दीक्षान्त समारोहमा भाग लिन पाउने छन्।

उनले उक्त समय अवधिमा ७० हजार विद्यार्थीले ट्रान्सक्रिप्ट लिए पनि सहभागीका लागि १० हजार तीन सय ९२ जनाले मात्र आवेदन दिएको बताए।

उनका अनुसार स्नातक तहतर्फ छ हजार छ सय ९१, स्नातकोत्तरतर्फ तीन हजार पाँच ४९, एमफिल ५५ र विद्यावारिधितर्फ ९७ जना दीक्षित हुँदै छन्। समारोहमा दीक्षित हुने विद्यार्थीका एकजना अभिभावक सहभागी हुने छन्।

स्नातकतर्फ रु. तीन हजार सात सय, स्नातकोत्तर तह र एमफिलमा दुवैमा रु. चार हजार दुई सय तथा विद्यावारिधिमा रु.चार हजार सात सय शुल्क लाग्ने छ। समारोहमा त्रिविका कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल लगायतको सहभागिता रहने छ।

समारोह समितिका सदस्य सचिव साधुराम अर्यालले समारोहको प्रमुख अतिथिका रूपमा भारतको सेन्टर युनिभर्सिटी अफ पञ्जावका पूर्व उपकुलपति राघवेन्द्र पी तिवारीलाई बोलाइएको बताए। एमफिल, विद्यावारिधि र सर्वोकृष्ट अंक ल्याउनेलाई पदक वितरण गरिने छ। त्रिविले समारोहमा दीक्षित हुने विद्यार्थीलाई यही मंसिर १५ देखि २२ गतेसम्म गाउन/स्कार्फ वितरण गरिरहेको छ।

समारोहमा छात्रले आफू खुसी पोसाकमा कोट, पाइन्ट, टाई र भादगाउँले टोपीसहित त्रिविले उपलब्ध गराएको गाउन/स्कार्फ टोपी तथा छात्राले औपचारिक पोसाक वा साडी, ब्लाउज र त्रिविले उपलब्ध गराएको गाउन/स्कार्फ टोपी लगाउनुपर्ने हुन्छ। त्रिविले बर्सेनि दीक्षान्त समारोह गर्दै आइरहेको छ।

प्रकाशित: २१ मंसिर २०७९ ०७:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App