८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
शिक्षा

केपिलासगढीमा विद्यार्थीको ‘होमवर्क’ जाँच कार्यक्रम

केपिलासगढी गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको गृहकार्य परीक्षण कार्यक्रम कार्यान्वयनमा ल्याएको छ।

विद्यार्थीलाई शैक्षिक क्रियाकलापमा थप क्रियाशील गराउन गाउँपालिकाले निःशुल्क अभ्यासपुस्तिका (कापी) वितरण गर्ने र विद्यार्थीले लेखिसकेका कापी परीक्षण गर्ने कार्यक्रम लागू गरेको हो। गाउँपालिकाले कक्षा कार्य र गृहकार्य परीक्षण गर्ने गरी प्रथम चरणमा १ कक्षादेखि ३ सम्मका विद्यार्थीलाई आफैंले तयार पारेको ‘विद्यार्थी अभ्यासपुस्तिका’ निःशुल्क वितरण गरेको छ। पृष्ठभूमिमा गाउँपालिकाको कार्यालय र नक्सा राखिएको ‘विद्यार्थी अभ्यासपुस्तिका’ आइतबार औपचारिक कार्यक्रम गरेर विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि शिक्षकलाई हस्तान्तरण समेत गरिइएको छ।

गाउँपालिकाले गाउँपालिकाभरिका ३७ सामुदायिक विद्यालयका कक्षा १ देखि ३ सम्मका नौ सय ४९ विद्यार्थीलाई यही मंसिर महिनाका लागि चारचारका दरले तीन हजार सात सय ९६ वटा अभ्यासपुस्तिका वितरण गरेको शिक्षा शाखा प्रमुख सुरेन्द्र खनालले बताए। ‘चालू शैक्षिक सत्रका लागि गाउँपालिकाको लगानीमा १६ हजार कापी छापिएको छ’, उनले भने, ‘पुस, माघ र फागुन महिनाका लागि प्रतिविद्यार्थी चार वटाका दरले वितरण गर्ने गरी अन्य अभ्यासपुस्तिका भण्डारण गरेर राखिएको छ।’

पहिलो पृष्ठमा मिति, विद्यार्थीको नाम, कक्षा, रोल नम्बर, विषय, विद्यालय, विषय शिक्षकको नाम र सम्पर्क नम्बर, प्रधानाध्यापकको दस्तखत, अभिभावकको नाम र सम्पर्क नम्बर उल्लेख भएको ‘अभ्यास पुस्तिका’ वितरणपछि विद्यार्थीले अन्य कापी प्रयोग गर्न पाउने छैनन्। अभ्यासपुस्तिकाको पछाडिपट्टिको अन्तिम पृष्ठमा विद्यार्थी, शिक्षक र अभिभावकले पालन गर्नुपर्ने नियम उल्लेख गरिएको छ।

कक्षा कार्य र गृहकार्य गर्ने क्रममा भरिएको कापीलाई सम्बन्धित विद्यालयका प्रअले गाउँपालिकामा बुझाएर नयाँ कापी लैजाने व्यवस्था गरिएको छ। विद्यार्थीको कापी चेक गर्दा विद्यालय र शिक्षकको शैक्षिणक क्रियाकलापबारे गाउँपालिकालाई जानकारी हुने जनाइएको छ।

विद्यार्थीले सबै पानामा लेखिसकेपछि प्रअले बुझाएको कापीलाई भने जनप्रतिनिधिको उपस्थितिमा शिक्षा शाखाले परीक्षण गर्ने गाउँपालिकाका उपप्रमुख गुरुराज राईले बताए। ‘यो कार्यक्रम विद्यार्थीलाई सक्रिया बनाउन मात्र नभएर शिक्षकमाथिको ‘निगरानी’ गर्न पनि ल्याइएको हो’,उनले भने, ‘कतिपय शिक्षकले नपढाउने, पढाए पनि कक्षा कार्य र गृहकार्य गराउन पर्याप्त ध्यान नदिएकाले निःशुल्क कापी उपलब्ध गराउने र चेक गर्ने रणनीति अघि सारिएको हो। यसले शिक्षकमाथि विद्यार्थीलाई कक्षा र गृहकार्य गराउन दबाब सिर्जना हुने अपेक्षा गरेका छौ।’

विद्यार्थीको कापी परीक्षण गर्ने नीतिले गाउँपालिकाभरिका विद्यालयमा पाठ्यक्रमलाई एकै समयमा पूरा गर्न दबाब पुग्ने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ। कापी अभावमा गृहकार्य नगर्ने विद्यार्थीले पनि नियमित गर्ने वातावरण बन्ने गाउँपालिकाको अपेक्षा छ। गाउँपालिकाले लागू गरेको यो कार्यक्रमले फर्जी विद्यार्थीको संख्या देखाउने परिपाटीसमेत नियन्त्रण हुने गाउँपालिकाका अध्यक्ष समिर राईले बताए।

‘विद्यार्थीलाई लेख्न नलाएर वा अभ्यास नगराएकै कारण सामुदायिक विद्यालयको गुणस्तर खस्किएको हाम्रो बुझाइ छ। शिक्षकले पढाउने मात्रै अभ्यास नै नगराउने समस्या देखिएको छ’,उनले भने,‘विद्यार्थीको स्तर बनाउन तल्लो कक्षाको कापी परीक्षण गर्ने रणनीति बनाइएको हो। पढ्नुपर्छ, पढाउनुपर्छ भन्ने मानसिकता विकास गरिदिन खोजिएको हो। यसले शिक्षकलाई जिम्मेवार बन्न दबाब पुग्छ। विद्यार्थीलाई अभ्यासमा अग्रसर गराउँछ। यसबाट विद्यार्थी, शिक्षक र विद्यालय बिच प्रतिस्पर्धा पनि हुन्छ।’

यस्तै शैक्षिक गुणस्तर सुधारका लागि प्रअ तथा शिक्षा शाखाले विषय शिक्षक र कक्षा शिक्षकलाई लिखित सुझाव दिने ठाउँ बनाइएको छ। अभ्यासपुस्तिका प्रयोगका क्रममा विद्यार्थीले दिउँसोको कक्षा कार्य र गृहकार्य गरी शिक्षकलाई जाँच गराउनुपर्ने, कक्षा कार्य र गृहकार्यको मिति अनिवार्य लेख्ने र अभ्यासपुस्तिकाको सम्पूर्ण पाना लेखिसकेपछि विद्यालयमा बुझाउनुपर्नेछ।

शिक्षकले प्रत्येक दिन कक्षा कार्य र गृहकार्य दिने र रातो मसी प्रयोग गरी जाँच्नुपर्ने, विद्यार्थीले सम्पूर्ण पेज लेखिसकेपछि प्रअबाट प्रमाणित गराएर विद्यालय मार्फत शिक्षा शाखामा पठाउनुपर्ने छ।

यस्तै अभिभावकले प्रत्येक दिन शिक्षकले गृहकार्य दिए/नदिएको जाँच गर्नुपर्ने, आफ्नो छोराछोरीलाई दिइएको गृहकार्य अनिवार्य रूपमा गर्न लगाउनुपर्ने नियम राखिएको छ।

आगामी शैक्षिक सत्रदेखि ४ र ५ कक्षामा पनि ‘विद्यार्थी अभ्यास पुस्तिका’ निःशुल्क वितरण गर्दै चेक गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याइनेछ। कार्यक्रम प्रभावकारी देखिए ६ र ७ कक्षाको विज्ञान, गणित र अंग्रेजीको कापी परीक्षण गर्ने अवधारणा बनाइएको अध्यक्ष राई बताए। रासस

प्रकाशित: १२ मंसिर २०७९ ०५:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App