शिक्षा तथा खेलकुद मन्त्रालयले सरकार गठनपछिको पहिलो १०० दिनमा शिक्षा र खेलकुद क्षेत्रको सुधारलाई लक्षित गर्दै नीतिगत, संस्थागत तथा सेवा प्रवाहका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ।
मन्त्रालयले सार्वजनिक गरेको १०० दिने प्रगति विवरणअनुसार यस अवधिमा नागरिकले सुशासनको अनुभूति गर्ने गरी प्रणालीगत सुधार सुरु गरिएको छ भने शिक्षा र खेलकुदका क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने नीति तथा योजनाको आधार निर्माण गरिएको छ। मन्त्रालयका अनुसार सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने उद्देश्यका साथ विभिन्न सुधारका कार्यक्रम अघि बढाइएका छन्।
सेवा प्रवाह प्रणालीमा नागरिकको प्रत्यक्ष चासो र सहभागिता बढेको, गुनासो व्यवस्थापन प्रभावकारी बन्दै गएको तथा सरकारी प्रयासप्रति जनविश्वास उल्लेखनीय रूपमा बढेको मन्त्रालयको दाबी छ। १०० दिनको अवधिमा शिक्षा क्षेत्रको गुणस्तर सुधार, विद्यालय शिक्षाको सुदृढीकरण, उच्च शिक्षाको व्यवस्थापन तथा प्राविधिक एवं व्यावसायिक शिक्षाको विस्तारलाई प्राथमिकतामा राखेर आवश्यक नीतिगत तयारी सुरु गरिएको मन्त्रालयले जनाएको छ। साथै, शिक्षा क्षेत्रका दीर्घकालीन चुनौती समाधान गर्न आवश्यक कानुनी तथा योजनागत आधार तयार गर्ने कामलाई पनि तीव्रता दिइएको छ।
खेलकुदतर्फ राष्ट्रिय खेलकुदको विकास, खेल पूर्वाधार विस्तार, खेलाडीमैत्री वातावरण निर्माण तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको सहभागिता सुदृढ गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम अघि बढाइएको मन्त्रालयले जनाएको छ। खेल प्रशासनलाई थप व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने दिशामा समेत आवश्यक तयारी गरिएको उल्लेख गरिएको छ।
मन्त्रालयका अनुसार डिजिटल प्रविधिको प्रयोग बढाउँदै प्रशासनिक कार्यलाई सरल, छरितो र प्रभावकारी बनाउने प्रयासलाई पनि प्राथमिकता दिइएको छ। यसले सेवाग्राहीलाई सहज रूपमा सेवा प्राप्त गर्न सहयोग पुगेको तथा मन्त्रालयको कार्यसम्पादनमा पारदर्शिता र जवाफदेहिता अभिवृद्धि भएको दाबी गरिएको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयले १०० दिनको अवधिमा हासिल भएका उपलब्धिले आगामी दिनमा शिक्षा प्रणालीको रूपान्तरण, खेलकुद क्षेत्रको संस्थागत विकास तथा सुशासन प्रवर्द्धनका लागि बलियो आधार तयार भएको जनाएको छ। मन्त्रालयले आगामी दिनमा पनि नीतिगत सुधार, सेवा प्रवाहको आधुनिकीकरण तथा गुणस्तरीय शिक्षा र प्रतिस्पर्धी खेलकुद प्रणाली निर्माणलाई उच्च प्राथमिकताका साथ अघि बढाइने जनाएको छ।
प्रकाशित: २१ असार २०८३ १३:४१ आइतबार





