देशको राजधानी काठमाडौंले अहिले ट्राफिक व्यवस्थापनमा गम्भीर संकट सामना गर्दै छ। पछिल्लो तथ्यांकअनुसार उपत्यकामा दर्ता भएका २० लाखभन्दा बढी सवारी साधनलाई मात्र एक हजार पाँच सय ८९ जना ट्राफिक प्रहरीले व्यवस्थापन गरिरहेका छन्। यस हिसाबले प्रत्येक ट्राफिक प्रहरीको जिम्मेवारीमा औसत एक हजार दुई सय ७० सवारी साधन पर्छन्। दैनिक १०–१२ घण्टा सडकमा खटिने यी निलो पोसाकधारी प्रहरीले सवारीचाप नियन्त्रण, दुर्घटना न्यूनीकरण, चोरी भएका सवारी साधन खोजी गर्ने कार्य गरिरहेका हुन्छन्। यसैगरी उनीहरूले मादक पदार्थ सेवन गरेर गाडी चलाउने चालक नियन्त्रण गर्ने, सार्वजनिक सभा र जुलुस व्यवस्थापन गर्ने जस्ता बहुआयामिक जिम्मेवारी पनि निर्वाह गरिरहेका छन्।
त्यसमाथि सडक साँघुरा, फुटपाथ अतिक्रमण, पार्किङ अभाव र सार्वजनिक यातायातमा सुधार नहुँदा ट्राफिकको काम थप जटिल बन्छ। धुलो, धुवाँ, चर्को घाम, वर्षा र प्रदूषणसँग जुध्नुपर्दा प्रहरीको स्वास्थ्यमा समेत असर पर्नु स्वाभाविक हो। धेरै जसोले सडकमा रहेको अव्यवस्थाका लागि ट्राफिक प्रहरीलाई दोष दिन्छन् तर यो विषय ट्राफिक प्रहरीको एकल जिम्माको मात्र किमार्थ होइन। हाम्रो समस्या व्यवस्थापन प्रणालीमा छ।
विश्वव्यापी अभ्यासले देखाउँछ कि विकसित सहरहरूले ट्राफिक व्यवस्थापनमा प्रविधि, पूर्वयोजना र नागरिक सहभागितामा जोड दिएका छन्। उदाहरणका लागि टोकियो, सिंगापुर र लन्डनमा ‘स्मार्ट ट्राफिक म्यानेजमेन्ट’ प्रणाली लागु गरिएको छ। यसमा रियल–टाइम ट्राफिक मोनिटरिङ, स्मार्ट ट्राफिक लाइट, ‘फेसलेस’ कारबाही र सार्वजनिक यातायातसँग समन्वयजस्ता उपायलाई लिन सकिन्छ। सिंगापुरमा ट्राफिकजाम नियन्त्रणका लागि ‘अत्यधिक प्रयोग शुल्क प्रणाली’ लागु गरिएको छ, जसले सवारीचाप घटाउन सहयोग गरेको छ। युरोपका केही सहरहरूले साइकल र सार्वजनिक यातायातलाई प्राथमिकता दिँदै निजी सवारी साधनलाई सीमित गर्ने नीति अपनाएका छन्। यी अभ्यासहरूले प्रस्ट इगित गरेको कुरा के हो भने मात्र ट्राफिक प्रहरीको संख्या बढाउनु पर्याप्त छैन, प्रविधि र नीतिगत सुधार अपरिहार्य छ।
काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन केवल प्रहरीको प्रयासमा मात्र निर्भर हुने विषय होइन। राज्यको नीति, प्रविधि, पूर्वाधार सुधार र नागरिक सहभागिताले मात्र सडकलाई सुरक्षित, व्यवस्थित र दिगो बनाउँछ। वैश्विक अभ्यासले पनि स्मार्ट व्यवस्थापन र जनसहभागिताले मात्रै सडकको जाम, दुर्घटना र तनाव घटाउने देखाउँछ।
त्यसो त, काठमाडौं उपत्यकामा पनि ट्राफिक व्यवस्थापन सुधारका लागि केही प्रविधिमैत्री कदम चालिएका छन्। थापाथली चोकमा फेसलेस ट्राफिक म्यानेजमेन्ट सुरु गरिएको छ, जसले सवारी चालकको प्रत्यक्ष विवाद घटाउने र नियम कार्यान्वयन प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। तर यो असल अभ्यासलाई उपत्यकाभर विस्तार गर्न आवश्यक छ। साथै, सडक विस्तार, पार्किङ व्यवस्थापन, फुटपाथ अतिक्रमण नियन्त्रण, सार्वजनिक यातायात सुधार र सवारीचालक तथा पैदलयात्रीको चेतना अभिवृद्धिजस्ता कार्य गर्न पनि उत्तिकै जरुरी छ।
आगामी दिनमा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन मुख्य रूपमा तीन कुरामा जोड दिन सकिन्छ। पहिलो जनशक्तिको पर्याप्त व्यवस्था हो। राजधानी उपत्यकामा १२ सय ७० सवारी साधनको जिम्मेवारी एकजना ट्राफिक प्रहरीको जिम्मामा रहेको वर्तमान अवस्थाको अन्त्य गर्नुपर्छ। दोस्रो पक्ष भनेको प्रविधि र स्मार्ट व्यवस्थापन हो। फेसलेस ट्राफिक, सिसिटिभी निगरानी, स्मार्ट लाइट र मोबाइल एप्समार्फत ट्राफिक जानकारी उपलब्ध गराउने प्रणालीलाई अझ सशक्त पार्न जरुरी छ। तेस्रो विषय भनेको नागरिक जिम्मेवारी र चेतना अभिवृद्धि हो। सडक नियम पालन गर्नु, हेलमेट र सिटबेल्ट प्रयोग गर्नु, जथाभावी लेन परिवर्तन नगर्नु, मोबाइलमा कुरा नगरी गाडी चलाउनु नागरिकको प्रत्यक्ष जिम्मेवारी हो। त्यसमा कुनै लापरबाही हुनुहुँदैन।
नवीनतम प्रविधिको अवलम्बन र स्मार्ट व्यवस्थापनसँगै सरकारको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ। नीति निर्माण, सडक पूर्वाधार विकास, सार्वजनिक यातायात सुधार, पार्किङ व्यवस्थापन र ट्राफिक जनशक्ति व्यवस्थापनमा दीर्घकालीन योजना ल्याउन उत्तिकै आवश्यक छ। केवल आकस्मिक तथा छड्के कारबाही र ट्राफिक प्रहरीको व्यक्तिगत प्रयासले उपत्यकाको ट्राफिक समस्या समाधान हुँदैन।
प्रस्ट छ, काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन केवल प्रहरीको प्रयासमा मात्र निर्भर हुने विषय होइन। राज्यको नीति, प्रविधि, पूर्वाधार सुधार र नागरिक सहभागिताले मात्र सडकलाई सुरक्षित, व्यवस्थित र दिगो बनाउन सक्छ। वैश्विक अभ्यासले पनिस्मार्ट व्यवस्थापन र जनसहभागिताले मात्रै सडकको जाम, दुर्घटना र तनाव घटाउने देखाउँछ।
सारांशमा, ट्राफिक प्रहरीले दिनरात गरेको कठिन परिश्रमलाई एकातिर सम्मान आवश्यक छ भने अर्कातिर प्रविधि, नीतिगत सुधार र नागरिक जिम्मेवारीलाई एकसाथ अघि बढाउन उत्तिकै जरुरी छ। त्यसो हुँदा राजधानी खाल्डोमा सडक सुरक्षित, व्यवस्थित र दिगो बनाउन सकिन्छ। ट्राफिक प्रहरीलाई मात्र दोष दिनुको सट्टा राज्य र नागरिकले आआफ्नो जिम्मेवारी निर्वाह गर्नु आजको आवश्यकता हो। त्यसो गर्न सकेमा मात्र सडक सुरक्षित हुन्छ र सहरको गरिमा र पहिचानलाई अक्षुण्ण राख्न सकिन्छ।
प्रकाशित: २९ वैशाख २०८३ ०६:३५ मंगलबार

