१३ पुस २०८२ आइतबार
image/svg+xml
सम्पादकीय

वृद्धावस्था व्यवस्थापन

जीवन समयको यात्रा हो। जन्मदेखि मृत्युसम्मको यो यात्रा कुनै साधारण रेखा होइन, असीमित संघर्ष र अदृश्य बलिदानले बुनेको एक अदृश्य गाथा हो। त्यस गाथामा आमा धर्ती हुन्– जसले जीवनलाई गर्भमा बोकेर अस्तित्व दिन्छिन् र बुबा आकाश हुन्– जसले त्यो अस्तित्वलाई आच्छादित गरेर जीवनलाई विस्तारित गर्छिन् ।

‘बुबा’ शब्द सामान्य लाग्छ तर यसभित्र समेटिएको अर्थ भावनाको भार र जीवनको शक्ति असाधारण हुन्छ। सन्तानका लागि बुबा शब्द केवल सम्बोधन मात्र होइन, जीवनको पहिलो पाठशाला, संघर्षको मूर्त रूप र भविष्यको आधारशीला हो।

जन्मदेखि मृत्युसम्म बुबाको अस्तित्व हाम्रो वरिपरि रहन्छ। बच्चा हुँदा हात समातेर हिँडाइ दिन्छन्। तारुण्यमा कठोर बनेर चेतावनी दिन्छन्। युवावस्थामा मौन बनेर टाढैबाट नियाल्छन् र बुढेसकालमा नि:शब्द भएर जीवनको अन्तिम छायाँमा बस्छन्।

बुबा त्यस्तो पात्र हुन्, जसले सन्तानलाई आफ्नो सपना बाँडेर होइन, आफ्नो सपना मारेर हुर्काउँछन् । आधा पेट खाएर पनि सन्तानलाई पेटभरि खुवाउने, आफ्नो स्वास्थ्य बेवास्ता गरेर पनि पढाइ–लेखाइमा लगाउने, जीवनका हरेक सानो खुसी त्यागेर पनि सन्तानलाई ठूलो खुसी दिन सक्ने नाम नै बुबा हो।

शनिबार भाद्र कृष्ण औंसी अर्थात् ‘बुबाको मुख हेर्ने दिन’। वर्ष दिनमा आउने ‘बुबाको मुख हेर्ने दिन’ यस वर्ष पनि औपचारिक पर्वजस्तै बनाइयो । सामाजिक सञ्जालमा फोटो पोस्ट गर्ने, दुनियाँलाई देखाउने, एक दिन मिठा खानेकुरा खुवाउने र लुगाफाटा दिने परम्परा यो वर्ष पनि पूरा भएको छ । यो दिनको सांस्कृतिक महत्वलाई नकार्न सकिँदैन तर प्रश्न उठ्छ– के एक दिनको भेटघाट, एक छाकको भोज र एक जोर लुगाले बुबाको संघर्षको ऋण चुक्ता हुन्छ ?

पश्चिमा शैलीको ‘फादर्स डे’ जस्तै, उपभोगवादी संस्कृतिले हाम्रो समाजमा पनि देखावटी सम्मानलाई जन्म दिइरहेको छ। समाजलाई देखाउन– ‘हामीले बुबाको मुख हेरेका छौं’ तर त्यसअघि ३६४ दिन उनीहरूको वास्तविक सेवा, माया र सहारा दिन सकेका छौं, त ?

हाम्रो सनातन संस्कृति भन्छ– पितृदेवो भव:। अर्थात्, बुबा देवतासमान हुन्छन्। देवता वर्षमा एकपटक पूजा गरेर मात्र सम्झनु हुँदैन, जीवनका हरेक क्षण श्रद्धा र सम्मान गर्नुपर्छ। पिताको महिमा कुनै एक दिनको प्रदर्शनमा सीमित हुन सक्दैन। यस्तो अस्तित्वलाई वर्षको एक दिन मात्र सम्झेर बाँकी दिन बेवास्ता गर्नु, हाम्रो नैतिक पतनको संकेत हो।

इतिहास र पुराण साक्षी छन्, पितृभक्त सन्तान नै आदर्श बने। परशुरामले पिताको आदेश शिरोपर गरेर पौराणिक आदर्श गढे। रामले पिताको वचन पूरा गर्न १४ वर्ष वनवास सहेर मर्यादा पुरुषोत्तमको दर्जा पाए। भीष्मले पिताको इच्छालाई शिरमा राखी जीवनभर अविवाहित रहनु पर्‍यो तर इतिहासले उनलाई अजर–अमर बनायो।

त्यसैगरी, पिताको सम्मान नगरेका पात्र पनि छन् । रावण विद्वान् थिए तर पिताको ज्ञानलाईभन्दा मावली संस्कारलाई प्राथमिकता दिए। कंसले आफ्नै पितालाई अपमानित गरे । उनीहरूको पतनमा पिताप्रतिको अवज्ञाले ठूलो भूमिका खेलेको पुराण प्रमाण दिन्छ।

आमा धर्ती हुन् भने बुबा आकाश हुन् । धर्तीले जीवन दिन्छ तर आकाशले त्यस जीवनलाई आच्छादित गरेर सुरक्षा गर्छ। धर्ती र आकाश छुट्टै भए पनि जीवन तिनीहरूको संगममा मात्र सम्भव हुन्छ। आमाको ममता र बुबाको संघर्षविना भविष्यले कुनै बाटो पाउँदैन।

आधुनिकीकरण व्यस्त जीवनशैली र पश्चिमा संस्कृतिको अनुकरणले संयुक्त परिवारको जरो काटिसकेको छ। कामकाजी जीवनशैली, प्रवास र व्यस्तताको कारण छोराछोरी र आमाबुबाबीच पुस्तान्तरिक दूरी बढेको छ। यसको परिणाम– बेसहारा, अशक्त र बुढेसकालको सहारा खोजिरहेका आमाबुबा वृद्धाश्रममा धकेलिन थालेका छन् । राष्ट्रिय मानवअधिकार आयोगको केही वर्षअघिको तथ्यांक अनुसार देशभर एक हजार पाँच सय ७७ ज्येष्ठ नागरिक वृद्धाश्रममा आश्रित छन्। तीमध्ये नौ सय ६५ महिला र ६ सय १२ पुरुष छन्। वास्तविक रूपमा घरमै ओझेलमा परेका, हेरचाहविहीन र मौन पीडामा बाँचेका वृद्धवृद्धाको संख्या अझ धेरै रहेको अनुमान गर्न सकिन्छ । २०७८ सालको जनगणना अनुसार नेपालको कुल जनसंख्याको १०.२१ प्रतिशत (२९ लाख ७७ हजार ३१८) ज्येष्ठ नागरिकको संख्या रहेको छ।

नेपालको सामाजिक परम्परामा ‘आमा–बुबा देवतासमान’ भन्ने संस्कार छ। विडम्बना, बुढेसकालमा आमा–बुबा घरको सम्मानित पात्र नभई वृद्धाश्रममा धकेलिनुपर्ने वस्तुस्थितिमा पुग्नु हाम्रो समाजको ठूलो घाउ हो। अझै पीडादायी त के छ भने– कतिपय घटनामा छोराछोरीहरूले बाआमाको भत्ता आफैं लिन्छन् तर हेरचाह र माया दिन रुचाउँदैनन्।

आज वृद्धाश्रमहरू पनि दाताको भरमा चलेका छन् । सरकारले तनहुँको देवघाट र काठमाडौंको पशुपतिबाहेक अन्य वृद्धाश्रमको खर्च व्यहोरेको छैन। सामाजिक सुरक्षा भत्ता दिने नाममा सरकार उन्मुक्त देखिए पनि ज्येष्ठ नागरिकको वास्तविक जीवनस्तरमा ठूलो सुधार ल्याउन सकेको छैन। स्वास्थ्य क्षेत्रमा ज्येष्ठ नागरिकको अवस्था अझै कमजोर छ। अस्पतालमा छुट्टै जेरियाट्रिक वार्डको व्यवस्था छैन, स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी छैन, आवश्यक जनशक्ति र पूर्वाधार अभाव छ । जीवनको सुनौलो अन्तिम समय परिवारको माया र हेरचाहमा बिताउनुपर्ने ठाउँमा उनीहरू परनिर्भर, आत्मसम्मान गुमाउँदै बस्न बाध्य छन्। खास बुढेसकालमै हो औषधि र सहारा चाहिने, त्यसबाट उनीहरू बिमुख छन् ।

आमा–बुबा हाम्रो जीवनका जरा हुन्। जरा सुक्दा रुख हरियो रहँदैन। वृद्धाश्रममा धकेलिएका बुबाआमाको आँसु हाम्रो संस्कृतिको पतन हो। बुबाआमाको सम्मान दिन विशेष पर्व वा भत्ता दिने कार्यमा मात्र सिमित हुनु हुँदैन। उनीहरूलाई जीवनभर माया, सम्मान र हेरचाह दिन सक्नु नै हाम्रो धर्म हो।

संविधानले धारा ४१ अन्तर्गत ज्येष्ठ नागरिकलाई मौलिक हकको रूपमा विशेष संरक्षण र सामाजिक सुरक्षाको ग्यारेन्टी गरेको छ। संविधानमा लेखिएको मात्र पर्याप्त हुँदैन– त्यो कार्यान्वयनमा पनि देखिनुपर्छ। ज्येष्ठ नागरिकहरूको अधिकार र अस्मिता रक्षा गर्नु केवल संविधानको शब्द नभई हाम्रो जीवनको मूल्य हुनुपर्छ।

राज्यले मौलिक हकअनुसार ज्येष्ठ नागरिकको जीवन सुरक्षित गर्ने जिम्मेवारी लिनै पर्छ। स्वास्थ्य, आवास, सामाजिक सुरक्षा भत्ता मात्र होइन, भावनात्मक हेरचाहका कार्यक्रमहरू विकास गर्नुपर्छ। परिवारले बुबाआमाको सम्मानलाई संस्कारको रूपमा आत्मसात गर्नुपर्छ। ‘एक दिन देखाउने’ होइन, जीवनभर निर्वाह गर्ने जिम्मेवारी हो। बुबाआमाले वृद्धाश्रमको होइन, आफ्नै परिवारको साथमा जीवनको अन्तिम श्वास लिन पाउनुपर्छ तब मात्र बुवाको मुख हेर्ने वा आमाको मुख हेर्ने दिन सार्थक बन्छ भन्ने चेतना समाजमा फैलाउनुपर्छ ।

प्रकाशित: ८ भाद्र २०८२ ०६:०३ आइतबार

Download Nagarik App
Download Nagarik App