१० मंसिर २०८१ सोमबार
image/svg+xml
सम्पादकीय

अध्यापकमाथि आक्रमण

गुरुको महत्तामाथि हामा शास्त्रले विशद चर्चा गरेका छन्। यो श्लोक प्रायः धेरैका मुखमै झुण्डिएको हुन्छ: गुरुब्र्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः। गुरुः साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमः।। अर्थात्, गुरु ब्रह्मा हुन्, गुरु विष्णु हुन्, गुरु नै शिव हुन्। गुरु नै साक्षात् परब्रह्म हुन्, उनै सद्गुरुलाई प्रणाम छ।

शास्त्रले यसो भनेर के गर्नु ? अचेल शास्त्र पढ्नेभन्दा शस्त्र उठाउने बलिया छन्। गुरुका बारेमा शास्त्रले जेसुकै भनोस्, शस्त्र उठाउन सिपालु चेलाले ‘कलीयुगी गुरुभेटी’ टक्र्याउँछ। संस्कारी शिष्यका निम्ति गुरु चेतनापुञ्ज हुन्। तिनै गुरु कृपाबाट शिष्य अन्धकार चिरी उज्यालोमा पुग्छ।

तिनको मार्गदर्शनबाटै धेरैको जीवन परिवर्तन हुन्छ। यतिबेला गुरुशिष्य महान् परम्परा भत्किएका छन्। यसरी भत्किनुलाई आधुनिकता मान्न सकिन्न। समय जतिसुकै आधुनिक भए पनि कैयौँ परम्परा अहिले मात्र होइन, भोलिका निम्ति पनि उत्तिकै जाज्वल्यमान छन्। तिनलाई यथा रूपमा स्वीकार गरेर हिड्ँदा कोही कमजोर हुँदैन।

गुरुले पनि हिजोजस्तो शारीरिक दण्ड दिएर सिकाउन पाउँदैनन्। यसको अर्थ गुरु कमजोर भएका होइनन्, तिनको सिकाइ फेरिएको हो। हिजोजस्तो ऋषिकुलमा गएर पढ्नुपर्दैन अहिले। तैपनि आजका दिनमा आवासीय शिक्षामा केही हदसम्म ऋषिकुलीन परम्परा कायम छन्। जुन विधिबाट शिक्षार्जन गरे पनि गुरूप्रति सम्मान कम हुन सक्दैन।

आफूप्रति थोरै सद्भाव राख्ने व्यक्तिप्रति समेत कृतज्ञता प्रकट गर्नु सुसंस्कृत व्यक्तिको पहिचान हो। आफूप्रति वैरभाव राख्नेसँग पनि वैरत्व उचित छैन। यस्तो महान् परम्पराबाट हुर्किएका हामीले गुरूप्रति सदैव  सद्भाव राख्नुपर्ने हुन्छ। यही परम्परालाई सम्झाउन हामीकहाँ गुरूपूर्णिमाको एउटा दिन छुट्ट्याइएको छ। यो एक दिन मात्र होइन, आफ्नो जिन्दगीभरि गुरूप्रति नतमष्तक हुनुपर्छ।

गुरुलाई यसरी उच्च स्थानमा राख्न सिकाए पनि त्यसको अनुसरण भइरहेको छैन। शिक्षकमाथि कुटपिटका घटना बेलाबेला भइरहेका छन्। त्यसले यो अनुकरणीय परम्पराको धज्जी उडाएको छ। राजधानी काठमाडौंको मुटुमा अवस्थित रत्नराज्य क्याम्पस मंगलबार मन कुढ्याउने समाचारको विषय बनेको छ। त्यहाँ चिट चोर्न नपाएका कारण शिक्षक प्रकाश पुडासैनीलाई विद्यार्थी कुबेर जेठाराले पानी खाने जगले टाउकोमा हिर्काएर घाइते बनाएका छन्।

विद्यालयदेखि विश्वविद्यालयसम्म अहिले अनुशासन छैन। मुलुकको जेठो उच्च शिक्षा आर्जनस्थल त्रिभुवन विश्वविद्यालयमा यस्ता घटना पटकपटक भएका छन्। यस्ता व्यवहारलाई एउटा सामान्य घटनाका रूपमा मात्र चित्रण गरिँदै आएको छ। कुनै पनि घटनालाई गम्भीरतापूर्वक लिई हदैसम्मको कारबाही नहुने हो भने यस्तो व्यवहार निरन्तर देखिन्छ।

शिक्षालयमा राजनीति हाबी छ। त्यहाँ कुनै एक राजनीतिक दलसँग सरोकार राख्ने विद्यार्थीबाट यस्ता घटना गराएको खण्डमा कारबाही हुँदैन। राजनीतिक दलसँग नजिक भएपछि अपराधबाट पनि मुक्त हुन पाइन्छ। कारबाहीको भागिदार हुनुनपर्ने र कथं पक्राउ परिहाले तिनलाई छुटाउने अवस्था रहेका कारण मनोबल बढेको देखिन्छ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतकै विभिन्न शैक्षिक संस्थामा यसअघि धेरैपटक शिक्षकमाथि कुटपिट भएको छ। यस्ता घटनाबारे केही दिन चर्चा हुन्छ र बिस्तारै सेलाउँदै जान्छ। गत वर्ष उपप्राध्यापक प्रेम चलाउनेमाथि यस्तै आक्रमण भएको घटना ताजै छ। उनीमाथि भएको सांघातिक आक्रमणले धेरैको मन छियाछिया भएको हो।

त्यस्तै त्रिचन्द्र कलेजका तत्कालीन प्रमुख प्रदीपबहादुर न्यौपानेलाई २०७५ सालमा विद्यार्थीले कुटपिट गरी घाइते बनाएको घटना विस्मृतिमा जान थालिसकेको छ। त्यो कुटपिटमा परेपछि उपचारका लागि उनी महिनौँ अस्पताल बस्नुपरेको पनि हो। उपचारपछि कुटपिटका घाउ निको हुन्छन्। तर, ती शिक्षकका मनमा लागेको चोट निको हुन मुस्किल छ। तिनले जिन्दगीभरि त्यो अपमान बिर्सन सक्दैनन्।

शिक्षालयमा गरिने यस किसिमका व्यवहारमा रोक लगाउन कठोर कदम चाल्नु आवश्यक छ। शिक्षकले अचेल शारीरिक दण्ड दिँदा जसरी कारबाहीको भागिदार हुनुपर्छ, त्यसरी नै उनीहरूमाथि हुने आक्रमणलाई पनि गम्भीरतापूर्वक लिइनुपर्छ। शिक्षालयमा हुने यस्ता घटनाले आम रूपमा विद्यार्थीमा नकारात्मक असर पार्छ। कलिलो उमेरका विद्यार्थीले शिक्षकमाथि यस्तो व्यवहार गर्नुपर्ने रहेछ भन्ने सन्देश जानु आफैंमा घातक हो।

कलिला विद्यार्थीमा उमेरजन्य केही भावुकता हुन्छन्। तत्कालको आक्रोश व्यवस्थापन गर्न नसक्दा तिनले शिक्षकमाथि आक्रमण गर्ने हुन्। अतः विद्यार्थीलाई के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने राम्ररी बुझाउन सक्नुपर्छ। त्यसका निम्ति विश्वविद्यालयले हाते पुस्तिका बनाउने र लागू गर्ने काम पनि गर्नु उचित हुन्छ।

पछिल्लोपटक रत्नराज्य क्याम्पसका शिक्षक पुडासैनीमाथि भएको आक्रमणको गम्भीर छानबिन हुन आवश्यक छ। आक्रमणकारीले शिक्षकमाथि गरेको दुव्र्यवहारका प्रत्यक्ष साक्षी पनि छन्। विवादका विषयमा छलफल गर्दागर्दै आक्रमण गर्ने ती विद्यार्थीलाई तत्काल पक्राउ गरी कारबाही अगाडि बढाउनुपर्छ। शिक्षकमाथि भौतिक आक्रमण गर्ने विद्यार्थीलाई शिक्षण संस्थाबाट निष्कासन गर्ने र केही वर्ष तिनलाई अध्ययनबाट वञ्चित गर्नेसम्मको कारबाही हुनुपर्छ।

त्यति मात्र होइन, यस्ता आक्रमणकारीको अभिलेख राख्ने व्यवस्था हुनुपर्छ। त्यसो भएमा भविष्यमा यस्ता आक्रमणका घटना रोकिने छन्। हाम्रा शास्त्रले गुरु निन्दा भएको ठाउँमा बस्न त वर्जित गरेको छ भने यस्तो आक्रमणलाई कसरी स्विकार्न सकिन्छ। ‘गुरोर्यत्र परीवादो निंदा वापिप्रवर्तते। कर्णौ तत्र विधातव्यो गन्तव्यं वा ततोऽन्यतः।। अर्थात्, जहाँ गुरुको निन्दा हुन्छ, त्यहाँ यसको विरोध गर्नुपर्छ। यो सम्भव भएन भने कान बन्द गरेर बस्नुपर्छ। यो पनि सम्भव भएन भने त्यहाँबाट उठेर अर्को स्थानमा जानुपर्छ।  

प्रकाशित: ८ पुस २०७८ ०३:०४ बिहीबार

Download Nagarik App
Download Nagarik App