२०४६ सालको जनआन्दोलनको सफलतापछि स्थापित पूर्व पञ्चहरूको दल राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रजातन्त्रका आधारभूत प्रस्थापनालाई सहजै आत्मसात गरेको छ।
राप्रपाले अहिले पनि राजतन्त्र स्थापना हुनुपर्छ भन्दै आएको छ। तैपनि लोकतन्त्रका आधारभूत मान्यताका पक्षमा यसले आफूलाई निर्धक्क राख्दै आएको छ। २०४६ सालको परिवर्तनलगत्तै राप्रपाका नेता तथा कार्यकर्तालाई आफ्नो राजनीतिक मूल्य र मान्यताबारे सार्वजनिक हुन सजिलो थिएन।
तैपनि उनीहरूले निरन्तर आफूलाई लोकतन्त्रको एउटा उदारवादी पक्षका रूपमा स्थापित गर्दै आएका छन्। २०६२/०६३ को जनआन्दोलनपछि मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापित भएपछि अढाइ सय वर्ष पुरानो राजतन्त्रको अन्त्य भइसकेको छ। त्यसयता पनि राप्रपाले शान्तिपूर्ण ढंगले आफ्ना अजेन्डाबारे जनपरिचालन गर्ने र आफ्नो राजनीति अगाडि बढाउने काम गरिरहेको छ।
लोकतन्त्रको सुन्दर पक्ष यही हो। आफ्नो राजनीतिक सिद्धान्तमा विश्वास व्यक्त गर्न पाइन्छ। त्यसलाई नागरिकसमक्ष प्रस्तुत गर्दा स्वीकार भयो भने सरकार चलाउने मौका आउन सक्छ। राप्रपा जन्मिदा एकैपटक दुईटा दल राजनीतिक रंगमञ्चमा उपस्थित भएका हुन्।
पूर्वपञ्चहरूको उदारवादी र अनुदारवादी हिस्साको प्रतिनिधित्व गर्दै अलग अलग जन्मिए पनि कालान्तरमा एकीकरण पुनः विभाजनको अवस्थामा ती रहेका छन्। अहिले भने राप्रपाका पुराना सबै नेता एकै ठाउँमा रहेका छन्।
बुधबारदेखि उनीहरूले एकता महाधिवेशन गरिरहेका छन्। सम्भवतः शुक्रबारसम्ममा नयाँ नेतृत्वसहित यो सम्पन्न हुनेछ। यसमा पुराना पुस्ताका डा. प्रकाशचन्द्र लोहनी,पशुपतिशमशेर जबरा र कमल थापा एकै ठाउँमा छन्। लोहनी र राणा यसपटक नेतृत्वका निम्ति सक्रिय भएका छैनन्। थापा अध्यक्ष पदका निम्ति उम्मेदवार बनेका छन्।
युवा नेता राजेन्द्र लिङ्देन यसपटक राप्रपा नेतृत्व हात पार्न उम्मेदवार भएका छन्। पुरानो पुस्ताका थापा र नयाँ पुस्ताका लिङ्देनबीचको यो प्रतिस्पर्धाका कारण पनि राप्रपाको यो महाधिवेशन हेर्न लायक भएको छ। अझ रोचक पक्ष,लोहनीले लिङ्देनको उम्मेदवारीलाई समर्थन गरेका छन्। राणा उम्मेदवारपट्टि खुलेका छैनन्।
प्रतिस्पर्धाबाट राप्रपाले नेतृत्व स्थापित गरी महाधिवेशन सम्पन्न गर्दा स्वाभाविकरूपमा यो दलप्रति विश्वसनीयता बढ्छ। सबैजसो दलमा महाधिवेशनका कारण धेरथोर समस्या देखिएका छन्। नेकपा (एमाले)ले आफ्नै किसिमबाट आफ्नो महाधिवेशन सम्पन्न गरिसकेको छ।
सत्तारुढ नेपाली कांग्रेस अहिले महाधिवेशनकै क्रममा छ। तर, यसलाई पनि नेतृत्वबारे निर्णय गर्न कम्ता कठिनाइ देखिएको छैन। नेताहरूबीच निकै रस्साकस्सी छ। यी सबै हिसाबले हेर्दा राप्रपामा न धेरै गालीगलोज देखिन्छ न शालीनतालाई बिर्सेको नै। प्रतिस्पर्धा गर्दा पनि राप्रपाले अन्य दललाई राम्रैसँग अनुकरण गर्न सकिने गुणहरू देखाइरहेको छ।
राप्रपाका पुराना नेताहरू पञ्चायतमै प्रशिक्षित भई अहिलेसम्म सक्रिय छन्। तिनको व्यवहार लोकतन्त्रका निम्ति जिन्दगीभरि लडेका नेताहरूको भन्दा कुनै अर्थमा कमजोर देखिएको छैन। यस अर्थमा पनि राप्रपा महाधिवेशन मुलुकको लोकतान्त्रिक संस्कृति निर्माणमा महत्वपूर्ण छ।
राप्रपा लोकतान्त्रिक अभ्यासमा उम्दा छ। तर संविधानका केही आधारभूत प्रस्थापनाप्रति भने यसको विमति छ। खासगरी संविधानका संघीयता,धर्म निरपेक्षता र गणतन्त्रप्रति यसले आफूलाई सहज पार्न सकेको छैन। संविधान जारी गर्नेबित्तिकै सरकारको जिम्मेवार मन्त्रीका रूपमा थापाले यसको कार्यान्वयनका निम्ति भूमिका खेलेका हुन्।
सरकारमा रहेका बेला संविधानका प्रावधानप्रति राप्रपा नेताले प्रश्न गरेका छैनन्। संघीयता, धर्म निरपेक्षता र लोकतान्त्रिक गणतन्त्रका विपक्षमा उनीहरूले आफूलाई प्रस्तुत गरे पनि निर्वाचनमा जनताले अपेक्षा गरेअनुसार पत्याउन सकेका छैनन्। वास्तवमा संविधानका यी विषयप्रति आमजनमत सकारात्मक छ र सबैजसो प्रमुख दलले यसलाई स्वीकार गरेका छन्।
राप्रपाले नेतृत्वमा पुग्न जति अनुदारवादी अडान लियो, त्यति सहज हुन सक्छ। आमनागरिकमा स्थापित हुन भने राप्रपाले पनि आफूलाई समय प्रवाहसँगै हिँडाउनु आवश्यक हुन्छ। नेपाल राजनीतिक र सामाजिक सम्बन्धका हिसाबले निकै अगाडि बढिसकेको छ।
राजनीतिक दल र यसको नेतृत्वप्रति आमनागरिकको असन्तुष्टि रहे पनि संविधानका आधारभूत प्रस्थापनाप्रति विमति छैन। अबको नेपाल अहिलेका परिवर्तनबाट पछाडि फर्कन सक्दैन। बरु अहिले भन्दा थप समावेशी,उदार र सशक्त लोकतन्त्र मात्रै नेपालको विकल्प हुन सक्छ।
यस हिसाबले पनि राप्रपाले आफूलाई समयानुकूल परिवर्तन गर्दै अघि बढ्नु उचित हुन्छ। महाधिवेशनमा यस्ता विषय पनि छलफलमा ल्याइयो भने यो दललाई अगाडि बढ्न सहज हुन्छ।
लोकतान्त्रिक अभ्यास स्वीकार गरेर अगाडि बढेको राप्रपाले आफूलाई उदारवादी राजनीतितर्फ उन्मुख गराएको खण्डमा आगामी दिन सफलता उन्मुख हुनेछन्। मुलुकमा वैकल्पिक राजनीतिक दलबारे पनि चर्चा हुने गरेको छ। यदाकदा त्यसका निम्ति पहल हुने गरेका छन्। तर वैकल्पिक राजनीतिक शक्ति बन्न भनेर खुलेका दलले समेत आफूलाई उम्दा बनाउन सकेका छैनन्।
आम नागरिकले यो पक्षलाई पत्याउने स्थिति बनिसकेको छैन। लामो राजनीतिक अभ्यास र संस्कार भएको राप्रपालाई त्यो स्थान हासिल गर्न सहज हुन्छ। यसपटकको निर्वाचनमा थापा वा लिङ्देन जसले जिते पनि विस्तारै युवाहरूलाई यो दलले आकर्षित गर्नुपर्ने देखिन्छ।
युवालाई राजनीतिमा ल्याउन अहिले देशभरि हावा चलिरहेको छ। युवा वा वृद्ध जसले सरकारको नेतृत्व गरे पनि परिवर्तन हुनुपर्ने पक्ष सोच नै हो। सोच उदारवादी भयो भने त्यसले अपेक्षा गरेअनुसार दललाई स्थापित गर्दै जान्छ।
अबको नेपाल बढी लोकतन्त्र, उदारता, मानव अधिकार र खुलापनयुक्त हुन्छ। त्यसका निम्ति दलहरूले पनि आफ्नो नीति र नेतृत्वलाई परिष्कार गर्दै जानु उचित हुन्छ। मुलुकले परिवर्तन गरिसकेको हिजोको एकात्मक राजनीतिक प्रणाली, राजतन्त्र र धर्म सापेक्ष राज्यको पुनरावृत्ति हुन सहज छैन।
प्रकाशित: १७ मंसिर २०७८ ०१:२५ शुक्रबार