नेपाल–भारतबीच ‘विशेष सम्बन्ध’ रहेको चर्चा दुई देशका कूटनीतिक व्यक्तिहरूले बेलाबेलामा गर्ने गर्छन्। यथार्थमा त्यो सम्बन्ध विशेष होइन, बराबरीका आधारको पनि छैन। भारतीय पक्षले जहिल्यै नेपालीलाई गर्ने व्यवहारमा हेपाइ प्रष्ट देखिन्छ। भारत ठूलो मुलुक हो। तैपनि सार्वभौमसत्ता कहिल्यै ठूलो र सानो हुँदैन। नेपाली नागरिकले स्वतन्त्र आवागमनको अधिकार पाउनुपर्छ। भारतले दया गरेर दिनुपर्ने होइन। यो नेपालको अधिकार हो। नागरिक आवागमन सहज हुनुपर्छ। त्यसैगरी नेपालले पारबहन सुविधाका निम्ति पनि पटक–पटक आवाज उठाउनुपर्ने परिस्थिति आउनै हुँदैन।
राजधानी काठमाडौँबाट हवाईजहाज चढेर जाने नेपालीलाई समेत भारतको नयाँदिल्ली विमानस्थलमा पनि झमेला हुने गरेको छ। सीमा क्षेत्रका बासिन्दाले दैनिक जीवनमै कठिनाइ भोग्दै आएका छन्। र, सबै भन्दा पछिल्लो दृष्टान्त बनेका छन्– दार्चुलाको व्यास गाउँपालिका–२ का ३३ वर्षीय जयसिंह धामी। वैदेशिक रोजगारीका निम्ति हिँडेका धामी सिधै काठमाडौँ आउन नसकेपछि महाकाली तरेर भारतको बाटो हुँदै आफ्नो जिल्ला सदरमुकाम दार्चुला पुग्ने बाध्यतामा थिए। गाउँले साथीहरूसँगै उनी आगामी यात्रामा थिए। भारतीय सीमा सुरक्षा बल (एसएसबी) का कारण तुइनबाट महाकाली पार गर्ने उनको प्रयास बीचैमा असफल भयो। उनी तुइनबाट पार गर्दै गरेका बेला एसएसबीका जवानले काटिदिएपछि उनी महाकालीमै हेलिएर बेपत्ता भएका छन्। उनको यो दुःखद अवसानका कारण उनको परिवारमात्र होइन, सिंगो नेपाल शोकसन्तप्त भएको हो।
परिवारको सुखद भविष्यका निम्ति हिँडेको एउटा तन्नेरीको यो हदको अन्त्य आफैँमा पीडादायी छ। यस घटनाको जति भत्र्सना गरे पनि कम हुन्छ। भारत सरकारले यस घटनालाई गम्भीरतापूर्वक लिइ सम्बन्धित एसएसबी जवानमाथि अनुसन्धान र कारबाही गर्नुपर्छ। त्यसैगरी नेपाल सरकारले पनि यसलाई एउटा सामान्य घटनाका रूपमा मात्र लिने होइन, यहीँबाट आगामी दिनमा समेत यस्तो स्थिति आउन नदिन सजग हुनुपर्छ। त्यसका निम्ति दुई देशका नागरिकको सहज आवागमनका निम्ति के÷कस्ता प्रावधान आवश्यक हुन्छन्, त्यो मिलाउनुपर्छ। नेपालतिर आउने र यताबाट भारत जाने भारतीय नागरिकलाई प्राप्त सुविधा नेपालीलाई पनि प्राप्त हुनुपर्छ। भारतले नेपालीलाई रोक्छ र सहज आवागमन दिँदैन भने नेपालले पनि त्यहीअनुसारको आफ्नो व्यवस्थापन गर्नु उचित हुन्छ।
खासगरी सीमाञ्चल क्षेत्रका बासिन्दाले आफ्नो दैनिक कार्यव्यवहारका निम्ति एकअर्काको सीमा काटेर जानैपर्ने बाध्यता छ। सदियौँदेखि यस्तो व्यवस्था रहेका कारण ‘रोटी र बेटीको सम्बन्ध’ का आधारमा सीमाबाट खुला आवतजावतको व्यवस्था गरिएको छ। दुवै देशका नागरिकले सामान्य परिचय प्रमाण दिएका आधारमा ओहोरदोहोर गर्न पाउँछन्। त्यतिमात्र होइन, जति नेपालीले भारतमा गएर काम गर्छन्, त्यत्तिकै ठूलो संख्यामा भारतीयले पनि नेपालमा आएर काम गरेका छन्। नेपालबाट उल्लेख्य मात्रामा भारतले रेमिट्यान्स लैजाने गरेको छ। एक तथ्यांकअनुसार भारतबाट नेपालले वर्षमा सवा खर्ब रुपैयाँ रेमिट्यान्स पाउँछ भने भारतले नेपालबाट पाँच खर्ब रुपैयाँ लैजान्छ।
भारतले रेमिट्यान्स कमाउने देशमा नेपाल आठौं स्थानमा पर्छ। यो तथ्यलाई बेवास्ता गरी बेलाबेलामा नेपालीले मात्र भारतमा गएर रोजीरोटी आर्जन गरेको जस्तो भान पार्न खोजिन्छ। वास्तवमा भारतीयका निम्ति पनि नेपालले उत्तिकै रोजीरोटीको व्यवस्था गरेको छ। त्यतिमात्र होइन, भारतीय उत्पादनको एकमात्र बजार नेपाल हो। नेपालले वर्षको नौ खर्बको सामान भारतबाट किन्छ। आधुनिक वैश्ययुगको सिद्धान्तलाई मात्र ध्यानमा राख्ने हो भने नेपाली भारतका छिमेकीमात्र होइनन्, उपभोक्ता पनि हुन्।
यसपटक जयसिंह धामीको हत्यामा जसरी भारतीय एसएसबीको संलग्नता रह्यो, यो अत्यन्तै अमानवीय छ। शत्रु देशको नागरिकमाथि पनि यस्तो व्यवहार गरिँदैन। आफ्नै मुलुकको सीमा जोडिएका नेपालीमाथि गरिएको भारतीय आततायी व्यवहारका निम्ति नेपाल सरकारले गम्भीरतापूर्वक आवाज उठाउन सक्नुपर्छ। भारतलाई नेपालीहरूको आवागमनले समस्या भएको हो भने त्यसलाई व्यवस्थित बनाउन सरकार लाग्नुपर्छ। सीमा व्यवस्थापनलाई समयमै ध्यान दिनु भन्दा यसलाई राजनीतिक विषयमात्र बनाउँदा अहिलेको जस्तो परिस्थिति पटक–पटक आउँछ।
पूर्ववर्ती खड्गप्रसाद शर्मा ओली सरकारले यसलाई एउटा राजनीतिक विषयमात्र बनाउन चाह्यो। भारतीय जासुसी संस्था ‘रअ्’ प्रमुख सामन्त गोयललाई प्रधानमन्त्री निवास बालुवाटारमा मध्यरातमा भेटेपछि ओलीले सीमा समस्या सुधारका निम्ति गर्नुपर्ने काम बीचैमा छाडेका हुन्। चुच्चे नक्सा जारी गर्ने बेलामा नेपालमा जुन अभूतपूर्व एकता देखिएको थियो, त्यसको एकलौटी जस लिन भने उनी तयार रहे। यस्ता विषय कुनै व्यक्तिको लाभका निम्ति भन्दा पनि समग्र मुलुकका निम्ति हुनुपर्छ। त्यसो भयो भने राष्ट्रिय एकता स्वतः प्राप्त हुन्छ।
तत्कालीन प्रधानमन्त्री ओलीको कार्यकालको एउटा प्रमुख मुद्दा तुइनको विस्थापन थियो। तर आज एउटा नागरिकको तुइनबाट अन्त्य भएको छ। त्यही तुइन भारतीय सुरक्षाकर्मीले काटिदिँदा यो अवस्था आएको हो। समयमै सीमा नदीका पुल निर्माणलाई प्राथमिकतामा राख्न सकेको भए यो अवस्था आउने थिएन। राजधानी काठमाडौँको बीचमा धरहरा उभ्याउन भन्दा पहिले यस्ता पुल बनाउन जोड दिएको भए जयसिंह धामी जस्ता निर्दोषले बाँच्न पाउने थिए। २०४९ सालयता व्यास गाउँपालिका–२ का मात्रै १८ जनाको तुइनबाट खसेर ज्यान गएको दावी स्थानीय जनप्रतिनिधिले गरेका छन्। यसबाट बुझ्न सकिन्छ तुइन विस्थापन कति आवश्यक थियो। यस्ता लक्ष्य राखेर समयमै पूरा गर्न सकेको भए सर्वसाधारणको जीवन जोगाउन सकिने थियो।
सीमाञ्चल क्षेत्रका बासिन्दाले भोगिरहेको पीडा जयसिंह धामीको मुद्दासँगै फेरि सतहमा आएको छ। यसअघि पनि एसएसबीको ज्यादतीबार जानकारी नभएको होइन। तर ती अंश अंशमा सार्वजनिक हुने गरेका थिए। तिनलाई व्यवस्थित ढंगले अगाडि बढाउनुपर्ने अवस्था आएको छ। भारतले नेपाललाई बहुआयामिक क्षेत्रमा सहयोग गर्दै आएको छ। तैपनि उसका कतिपय गतिविधि आमनेपालीका निमित्त प्रीतिकर छैनन्। बेलाबेलामा भारतीय सुरक्षाकर्मी नेपाली क्षेत्रमा आएर सर्वसाधारणलाई पक्रेर बेपत्ता पारेका घटना छन्। कतिपयको ज्यान पनि यसबीचमा गइसकेको छ। यो स्थितिलाई मनन गर्दै सरकारले यस पटक गम्भीरपूर्वक वार्ता गरेर यो समस्या समाधान गरोस्। भारत सरकारले पनि यसलाई ध्यानमा राखोस्। आमनागरिकका मनमा लागेको यो चोटमा मलम त्यतिबेलामात्र लाग्नेछ जतिबेला दोषीमाथि कारबाही हुनेछ र भविष्यमा यस्तो घटना दोहोर्याइने छैन।
प्रकाशित: १८ श्रावण २०७८ ०४:५४ सोमबार