२० श्रावण २०७७ मंगलबार
सम्पादकीय

बन्दाबन्दीबाट बाहिरिऔँ

कोरोना भाइरसविरुद्ध बन्दाबन्दी दुई महिना पुग्नै लाग्दा संक्रमित संख्या ४ सयबाट उकालो लागेको छ। त्यसमध्ये ३७ जना निको भइसकेका छन्। कोरोना विषाणु सम्बन्धित कारणबाट तीन जनाको मृत्यु भएको छ। चैत ११ देखि सुरु बन्दाबन्दी झण्डै दुई महिना पुग्नै लागेको छ। यसबीच वास्तविक अर्थमा बन्दाबन्दीबाट हुनुपर्ने फाइदा भएको छ/छैन ? प्रश्न उठेको छ। बन्दाबन्दी वास्तवमा विषाणु संक्रमण रोक्नका निम्ति भएको छ कि अर्थतन्त्रलाई थला पार्न भएको छ भन्नेमा पनि निर्मम विश्लेषण गर्न ढिला भइसकेको छ। एकातिर झण्डै दुई महिना लामो घर बसाइले व्यक्तिमा मनोसामाजिक दुष्प्रभाव पर्न थालिसकेका छन् अर्कोतिर यसले समग्र अर्थतन्त्र ध्वस्त हुने बाटोतर्फ अग्रसर भएको छ।  

सरकारले बन्दाबन्दीलाई मात्र कोरोनाविरुद्ध लड्ने हतियारका रूपमा उपयोग गरेको छ। हो, यसबीच कोरोना जाँचका निम्ति २० स्थान तय भएका छन्। विभिन्न अस्पतालमा यसको उपचार हुन थालेको छ। बन्दाबन्दीमा मुलुकलाई प्रवेश गराएपछि जुन ढंगले त्यसको कार्यान्वयन गरिनुपथ्र्यो त्यो नभएका कारण सुरुका दिनमा जे अभ्यास गरियो दुई महिना पुग्न लाग्दा पनि त्यही छ। अझ अहिले आएर समुदायलाई थप आतंकित तुल्याउने व्यवहार देखिन थालेका छन्। कोरोना संक्रमित देखिनासाथ ती क्षेत्रलाई ‘सिल’ गरिएको भन्ने जस्ता नकारात्मक शब्दावली प्रयोग गरी मानिसलाई झन् अशक्त अवस्थामा पु-याउन खोजिएको छ। अझै समुदायको तहमा संक्रमण फैलिसकेको छैन। बन्दाबन्दीलाई यथार्थमै सदुपयोग गरिएको भए अहिले भइरहेको फैलावट पनि हुने थिएन।  

बन्दाबन्दी अवधिमा धेरै मानिस ओहोरदोहोर गरेका देखिएको छ। विशेष गरी सहरी क्षेत्रबाट आफ्ना गाउँ वा नगर क्षेत्रतिर धेरैको आवागमन हुन पुगेको हो। बन्दाबन्दीको अभ्यास त्यतिबेला कसैलाई पनि थातथलो नछोड्न प्रेरित गर्ने हुनुपथ्र्यो। पछिल्लो चरणमा काठमाडौँ र पहाडी क्षेत्रमा समेत यसको फैलावट भएको छ। अहिले ३६ जिल्लासम्म यसको फैलावट हुनुमा मानिसको ओहोरदोहोरलाई कारकका रूपमा लिन सकिन्छ। सुरक्षा निकायले पनि यसलाई खुकुलो पारे। यसरी खुकुलो हुनुमा राजनीतिक नेतृत्वको पनि त्यत्तिकै भूमिका रह्यो। उनीहरूले आफ्नो राजनीतिक प्रभाव प्रयोग गरेर मानिसलाई विभिन्न ठाउँबाट ओसारपसार गरे। अहिले विभिन्न ठाउँमा क्वारेन्टाइनमा राख्न र व्यवस्थापन गर्न हम्मे परेको छ। वास्तवमा सुरुमै अहिलेको अवस्था आउन सक्छ भन्ने बुझेर काम गरेको भए ती मानिस जहाँ छन्, त्यहीँ राखेर व्यवस्थापन गर्न नसकिने थिएन।  

पछिल्लो पटक सातौँ पटकमा बढाइएको बन्दाबन्दी जेठ २० गतेसम्मलाई छ। सरकारले क्रमशः क्षेत्र छुट्याउँदै (जोनिङ) रातो, पहेँलो र हरियो गरी गतिविधि गर्न सक्ने गरी प्रस्ताव गए पनि संक्रमण बढिरहेको निहुँ गरेर बन्दाबन्दी थप गरिएको छ। कोरोना विषाणु अब हाम्रो जीवनको अभिन्न अंग भइसक्यो र तत्काल जाँदैन भन्ने मान्यता विश्वभरि विकसित भइरहेको छ। यो तथ्यलाई विश्व स्वास्थ्य संगठन मात्र होइन, हाम्रै स्वास्थ्य क्षेत्रका विज्ञले समेत अंगीकार गरिसकेका छन्। त्यसै आधारमा समाजलाई क्रमशः खुला गर्दै जाने रणनीति अख्तियारसमेत भइसकेको छ। तर हामीकहाँ भने बन्दाबन्दी गरेर मात्र यसलाई जितिन्छ भन्ने व्यवहार देखिएको छ। राजधानी काठमाडौँ जहाँ गतिविधि गर्न सकिने गरी वातावरण बनिरहेको थियो, पछिल्लो चरणमा मानिस ल्याउने र लैजाने गरेर यसलाई समेत फेरि लामो बन्दाबन्दीमा हाल्ने परिपाठ मिलाएजस्तो अवस्था अहिले देखिएको छ।  

सामाजिक दूरी होइन, शारीरिक दूरी कायम राख्दै दैनिक गतिविधितर्फ मुलुकलाई खुला गर्न ढिला भइसकेको छ। जाँचको दायरा बढाउँदै जहाँ संक्रमित बढी देखिएका छन्, ती ठाउँलाई केही समय रोकेर अन्य क्षेत्रलाई खुला गर्न सकिन्छ। बन्दाबन्दीका क्रममा मानिसलाई घरमै थुनेर राखिएको अवस्था छ। यसले व्यक्तिमा मोटोपन र अन्य रोग देखिन थालेका छन्। रातोदिन घरमा थुनिएका कारण मानसिक समस्यामा सबै उमेर समूहका मानिस परिसकेका छन्। कोरोना विषाणुविरुद्ध लड्न व्यक्तिको शरीरमा रोग प्रतिरोध क्षमता बढाउनुपर्छ। त्यसका निम्ति व्यक्तिले सुरक्षित ढंगले हिँडडुल र व्यायाम गर्नसमेत नपाउने अवस्था छ। अझ कतिपय ठाउँमा अवाञ्छित टोलेगुण्डाको समेत हप्कीदप्की सहनुपर्ने अवस्था आएको छ। एक ठाउँबाट अर्को ठाउँमा जान, स्वास्थ्य, चिकित्सा र अन्य अनिवार्य सेवामा क्रियाशील हुनुपर्ने व्यक्तिको आवास र आवागमनमै समस्या उत्पन्न हुने गरी व्यवहारसमेत हुन थालेका छन्। कतिपय ठाउँमा बाहिरका मानिसलाई निषेध भन्दै बार लगाउने काम हुँदैछ। संक्रमित व्यक्ति र तिनका परिवारमाथि समेत दुव्र्यवहार हुने घटनासमेत देखिन थालेका छन्। समाजलाई यस रोगको संक्रमण र गर्नुपर्ने व्यवहारबारे समेत राम्रो साक्षरता नभएको स्थिति छ।

बन्दाबन्दी अभ्यास गर्ने क्रममा जे÷जस्ता कमजोरी भएका छन् तिनलाई सुधार गर्दै जानु आवश्यक छ। त्यसका निम्ति अबको दुई साताभित्र सम्पूर्णका जाँच पूरा गर्ने र क्षेत्र छुट्याएर दैनिक जीवनलाई सहज तुल्याउनुपर्छ। बन्दाबन्दीलाई मात्र सशक्त बनाउने र सामान्य अवस्थामा मुलुकलाई फर्काउन यथोचित रणनीति अवलम्बन नगर्ने हो भने सबैलाई गाह्रो हुनेछ। यसले सामाजिक अव्यवस्थातर्फ मुलुकलाई धकेल्ने निश्चित छ।  

बन्दाबन्दी राजनीतिक उद्देश्य पूर्तिका निम्ति त हैन भन्ने भान परेको छ। सबैजसो व्यक्तिले भएका आफ्नो बचतसमेत उपभोग गरिसकेका छन्। दैनिक ज्याला मजदूरी गरेर खानेको अवस्था यसअघि नै भयाबह भइसकेको छ। यस्तो स्थितिमा बन्दाबन्दीले मात्र उपाय निस्किँदैन। कोरोना विषाणु नियन्त्रणका निम्ति बन्दाबन्दी गरेको हो भने अहिलेसम्म यो सामान्य अवस्थामा आइसक्नुपर्ने थियो। सरकारको बन्दाबन्दी खोल्ने रणनीति स्पष्ट नहुँदा सुझावमा रूपमा गएका विषयमा समेत माथिल्लो राजनीतिक नेतृत्वले सही निर्णय गरेको देखिएन। बीचमा जाँच नगरेका कारण कोरोना संक्रमण देखिएको थिएन। पछि जाँच गरेपछि संक्रमण संख्या देखिनासाथ फेरि बन्दाबन्दी थपिहाल्ने रणनीति मात्र देखिएको छ। कोरोना संक्रमण देखिन सक्छ तर त्यसका लागि क्षेत्रगत रणनीति हुनुपर्छ। सिंगै मुलुकलाई बन्दाबन्दीमा राखिरहने रणनीति अब धेरै लैजान सकिँदैन।  

अतः अहिलेको कोरोना विषाणुबाट उत्पन्न समस्याबाट मुलुकलाई निकाल्न प्रभावशाली राजनीतिक अनुहारको सख्त आवश्यकता छ। त्यस्तो व्यक्तिले समुदायदेखि राजनीतिक नेतृत्वसम्मलाई सम्हाल्न र सही सल्लाह दिन सहज हुन्छ। विशेषज्ञहरूलाई सुन्ने र तद्नुकूलकै निर्णय गर्दै जानुपर्छ। त्यो हुन सकेको छैन। उच्च राजनीतिक नेतृत्वलाई मनमा जे लाग्यो त्यही निर्णय गर्ने कि विशेषज्ञहरूलाई सुनेर निर्णय गर्ने ? कोरोना विषाणु नियन्त्रण र मुलुकको दैनिक जीवनको सहजीकरण अत्यावश्यक छ। मुलुकलाई बन्दाबन्दीबाट निकाल्न अब ढिला गर्नुहुँदैन। यसमा ध्यान पुगोस्।

प्रकाशित: ८ जेष्ठ २०७७ ०८:३५ बिहीबार

Download Nagarik App
Download Nagarik App