जब डोनाल्ड ट्रम्प दोस्रोपटक अमेरिकाको राष्ट्रपति निर्वाचित भए, लगत्तै विभिन्न देशका लागि कर वृद्धि गरे। जुन जुन देशले अमेरिकाको व्यापारबाट फाइदा लिइरहेका छन् भन्ने उनलाई लागेको छ, ती ती देशलाई बढी लक्षित गरे। उनको सोच थियो– मैले कर बढाएपछि उनीहरू रोइकराइ गर्न आउने छन्, त्यसपछि आफूलाई फाइदा हुने सर्तमा सम्झौता गर्न सकिनेछ।
ट्रम्पको ‘सन्काहा शैली’ का जानकार धेरै देशले ‘पर्ख र हेर’ को नीति अपनाए। उनीहरू प्रतिक्रिया दिइहाल्न तयार भएनन्। तर अमेरिकासँग अरबौँ डलरको व्यापार फाइदा उठाइरहेको चीन भने ‘जस्तालाई तस्तै’ शैलीमा प्रस्तुत भयो। ट्रम्पले जुन शैलीमा कर बढाउँदै गए, उसले पनि यसैगरी बढाउँदै लग्यो। र, हुँदाहुँदा अमेरिका र चीन दुवै मिल्ने र सकिनेसम्म विन्दुमा एकअर्काविरुद्ध कर वृद्धि गर्ने अवस्थामा पुगे। जसका कारण दुवै देशको व्यापार धर्मरायो। र, खासगरी अमेरिकाले दीर्घकालमा यसको नराम्रो नतिजा भोग्नुपर्ने अवस्था सहजै देखिन थाल्यो।
सतहमा यो व्यापार युद्ध चीन र अमेरिकाबीचको देखिए पनि खासमा यो विश्वव्यापी प्रभावको विषय थियो। किनकि आजको विश्व नै एक गाउँमा बदलिएको परिप्रेक्ष्यमा एक देशको असर अर्को देशमा स्वतः पर्छ नै। अझ यी दुई त त्यस्ता देश हुन् जुन आज विश्वले उपयोग गरिहेको अति सस्तादेखि अति नै महँगा चिजसमेत उत्पादन गर्छन्। दैनिक करोडौलाई उडाउने बोइङ उत्पादनकर्ता अमेरिकादेखि नेपालीका लागि ३० रुपियाँ प्रतिगोटाका दरले घडी उपलब्ध गराइदिनेसम्मको चीनबीच हुने दुश्मनीको नतिजा उनीहरूबीच मात्र पक्कै पनि सीमित हुने थिएन। जसको असर अहिले नै देखिन थालिसकेको पनि थियो।
यही अवस्थालाई मध्यनजर गर्दै यी दुई विश्व शक्तिमानहरूको बेलायतमा भएको वार्ता व्यापार युद्ध विराम ढाँचामा सहमति गर्दै सकिएको छ। जसले दुई देशबीचको व्यापारिक तनाव कम गर्न र विश्वव्यापी उत्पादनमा बाधा पुर्याउन सक्ने निर्यात प्रतिबन्धहरूलाई सहज बनाउन सफल भएको दुवै देशका अधिकारीले जनाएका छन्। यसबाट कम्तीमा पनि अब यी दुई शक्ति राष्ट्रको आपसी व्यापार द्वन्द्व थप नचुलिने अनुमान गर्न सकिन्छ। यो अनुमान यसकारण पनि महŒवपूर्ण छ कि यत्तिले पनि सम्भावित आर्थिक मन्दीहरूमा राहत प्रदान गर्न सक्छ।
अमेरिकी राष्ट्रपति ट्रम्प दीर्घकालीन सोच र योजनाबिना नै कदम चाल्छन् भन्ने पुष्टि धेरैपटक भइसकेको छ। आप्रवासीहरूलाई हेर्ने दृष्टिकोण, जलवायु परिवर्तनको सवालमाथि नजरअन्दाज, एलजिबिटिक्युआइ प्लसप्रतिको नकारात्मक धारणा, गरिबहरूलाई होच्याउने प्रवृत्ति आदि सवालमा उनले लिएका निर्णय र कतिपयबाट पछि हटेका उदाहरण पनि ताजै छन्। भर्खरै मात्र उनले आप्रवासीप्रति अपनाएका गलत नीतिका कारण अमेरिकी राज्यहरूमा भइरहेका आन्दोलन र त्यसलाई रोक्न उनले शक्ति प्रयोग गरिरहेका विषय पनि छर्लंगै छन्। उनी कति हचुवा र केटाकेटीपन मन पराउँछन् भन्ने त आफ्नै दोस्त एलन मस्कसँगको झगडा र मुख छोडाछोडबाट पनि प्रष्ट हुन्छ। अहिले विशेषगरी चीनका लागि उनले घोषणा गरेका करको निर्णयबाट पछि हट्नुलाई यही कारण गम्भीरपूर्वक लिइरहनु भने पर्दैन।
अन्तर्राष्ट्रिय मुद्रा कोषले समेत अमेरिकाको आर्थिक वृद्धि दर २.७ हुने अनुमान गरिएकामा ट्रम्पले लिएका कर नीतिकै कारण यो १.८ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरिसकेको छ। त्यसैगरी अन्य सर्वेक्षणहरूले समेत यस्तैखाले प्रक्षेपण सार्वजनिक गरेपछि र स्वदेशमै व्यापक विरोध भएपछि ट्रम्प विशेषगरी चीनसँगको कर मामलामा लचक भएका हुन्। हुन त यो व्यापार युद्धबाट चीनको र अन्य देशको पनि आर्थिक वृद्धि दर प्रभावित हुन्छ तर सबै भन्दा बढीचाहिँ अमेरिकाकै हुने देखिएपछि ट्रम्प अहिले चीनसँग झुक्न पुगेका हुन्।
अहिलेको जमानामा जसले पनि आफूलाई बढी फाइदा हुने ठाउँबाट सामान खरिद र बिक्री गर्छ। त्यसैले कुनै देश शक्ति सम्पन्न छ भन्दैमा उसैले भनेको सर्तमा घाटा खान कोही तयार हुँदैन। तर शक्तिद्वारा शान्ति प्राप्त गर्ने अवधारणा रुचाउने र बाध्यतामा पारेर आत्मसमर्पण गर्न बाध्य पार्ने सोचका अनुयायी अमेरिकी राष्ट्रपति अहिले जसरी करको मामलामा आफ्नै ढिपीप्रति पुनर्विचार गर्न अग्रसर देखिएका छन्, त्यसबाट प्रष्ट भएको छ कि अबको दुनिया कसैको सन्की लहड र धम्कीको भरमा चल्न सक्दैन। सबै विकल्प सोच्न र आफ्नो फाइदाउपर निर्णय गर्न सक्षम छन्। कम्तीमा पनि चीनको अडानका कारण सम्भव यो महान् कदमबाट ट्रम्पपीडित सयौँ राष्ट्रले राहत महसुस गरेका मात्र छैनन् उनीहरूको आत्मबलसमेत बढेको छ।
प्रकाशित: ३० जेष्ठ २०८२ ०६:०५ शुक्रबार