नेपाली कांग्रेस र नेकपा (एमाले)बिचको गठबन्धनमै धक्का लाग्ने स्थितिलाई टार्दै मुलुकले मंगलबार नयाँ गभर्नर पाएको छ। सामान्य मानिसका दृष्टिमा नोटमा सही गर्ने व्यक्ति हुन् - गभर्नर। मुलुकको मौद्रिक नीति तय गर्नेदेखि कार्यान्वयन गर्नेसम्ममा उनको भूमिका हुन्छ। सरकारको आर्थिक सल्लाहकारसमेतको भूमिकामा रहने नेपाल राष्ट्र बैंक गभर्नरविहीन अवस्था सामान्यतः परिकल्पना गरिँदैन। गठबन्धनले आपसी समस्या समाधान गर्दै नियुक्ति टुंग्याउन सक्नु आफैंमा सकारात्मक हो। त्यसमा पनि गभर्नरको नियुक्तिको प्रारम्भदेखि अनेकन शंकाउपशंका मडारिइरहेका बेला एकजना योग्य व्यक्ति त्यसमा पुग्नु आफैंमा सकारात्मक पक्ष हो। नयाँ गभर्नरसहितको राष्ट्र बैंकले लर्बराउन खोजेको मुलुकको अर्थतन्त्रलाई लयमा हिँडाउने अपेक्षा गरिएको छ। गभर्नर नियुक्तिको खबरसँगै सेयर बजारमा देखिएको सकारात्मक रहरले आशाका रंगहरू देखाएको छ।
नवनियुक्त गभर्नर डा. विश्व पौडेलका अगाडि चुनौतीका चाङ छन्। त्यसैले तिनलाई समाधान गर्दै अगाडि बढ्नु पर्ने हुन्छ। केन्द्रीय बैंकको शीर्ष नेतृत्वकारी व्यक्तिले सम्पादन गर्नुपर्ने थुप्रै काम छन्। खासगरी कोरोना महामारीसँगै भित्रिएको विश्वव्यापी आर्थिक मन्दीले नेपालको बैंकिङ क्षेत्र अझै तंग्रिन सकेको छैन। स्थायी सरकार नहुँदा फेरिइरहने नीतिहरूका कारण बैंकलगायतका विभिन्न वित्तीय निकाय अनिश्चयको स्थितिमा रहेका छन्। यही कारण लगानी डुब्ने डरले उद्योगी/व्यवसायीसमेत निर्धक्क भएर लगानी गर्ने अवस्थामा छैनन्। उद्योगी/व्यवसायीलाई ठग मात्र देख्ने एउटा ठूलो समूहका कारण उनीहरू पनि दृढ भएर उद्यममा हात हाल्न सक्ने अवस्था छैन। यस्तो विषम स्थितिलाई चिरेर मुलुकमा उद्योगीको मनोबल वृद्धि गर्ने र निर्धक्क लगानी गर्न सक्ने साहस जुटाउने वातावरण तयार गर्न नयाँ गभर्नरले नेतृत्व दिनुपर्छ।
एकातिर बैंकलगायतका वित्तीय संस्था आफैँ समस्यामा छन्। अर्कोतिर बैैंकको ऋण तिर्नुपर्दैन भन्ने प्रचारबाजी गरेर राजनीतिको बजार तताउन खोज्ने घातक प्रवृत्ति पनि मडारिइरहेको छ। बैंकको ऋण लिएर नतिर्ने केही व्यक्तिकै नेतृत्वमा यस्तो गतिविधि भइरहेको छ। अर्कोतर्फ भुइँ तहका लाखौँ मान्छेले खाइ/नखाइ जम्मा गरेका पैसा सहकारीमा हालिमुहाली चलाउने एकाध व्यक्तिले हिनामिना गरिरहेका छन्। आफ्नो पैसा फिर्ता गराउन उनीहरू देहातदेखि सिंहदरबारसम्म धाउनुपर्ने बाध्यता छ। यस्तो अवस्थाबाट मुलुकलाई उन्मुक्ति दिएर वित्तीय संस्थालाई जीवन दिनुपर्ने चुनौती उनीसामु छ भने अर्कोतर्फ बचतकर्ताको निक्षेपको सुरक्षा सुनिश्चित गर्नुपर्ने जिम्मेवारी पनि पूरा गर्नुपर्नेछ।
एकातिर बैंकमा पैसा थुप्रने अर्कोतिर उद्यम गर्न चाहनेहरू भने पुँजी अभावमा चूप लागेर बस्नुपर्ने अवस्था छ। लगानी पर्याप्त हुन नसकेकै कारण निक्षेपमा ब्याजसमेत न्यून हुँदै गएको छ। जसका कारण आमउपभोक्ता बैंकमा पैसा राख्नभन्दा घरजग्गाजस्ता अनुत्पादक क्षेत्रमा बढी आकर्षित भइरहेका छन्। बैंकहरूले उद्यम तथा रोजगारीभन्दा आफ्नो नाफालाई पहिलो प्राथमिकतामा राखेका कारण पनि यस्तो अवस्था सिर्जना भएको छ। जसले रोजगारी सिर्जनाको ठूलो सम्भावनालाई समेत पाखा लगाइरहेको छ। यो अवस्थामा नयाँ गभर्नरले निकै ध्यान पुर्याएर अघि बढ्न आवश्यक छ। यसबाहेक अर्थ मन्त्रालयसँग देखिएका विवाद निरूपण गरेर अघि बढ्ने, बैंकमा बढ्दो निक्षेपको उचित परिचालन, नेपाललाई एफएटिएफको ‘ग्रे लिस्ट’बाट मुक्त गराउनेलगायतका जिम्मेवारी उनले बहन गर्नुपर्नेछ।
नयाँ गभर्नर पौडेलसँग बैंकिङ क्षेत्रमा काम गरेको अनुभव नभएको भनेर आलोचना गर्नेहरू पनि छन्। तर एउटा स्थापित प्रणालीमा रहेर काम गर्ने व्यक्तिका निम्ति यो समस्या होइन। नेपाल राष्ट्र बैंकको आफ्नै ठूलो सञ्जाल छ। अनुभवी कर्मचारीहरू छन्। लामो समयदेखिको प्रक्रिया/प्रणाली छ। यसलाई पछ्याउने र कर्मचारीसँग समन्वय गरेर अघि बढ्ने समस्या पर्दैन। यस भित्रको संस्थागत संरचनाले राजनीतीकरण नगरी नयाँ नेतृत्वलाई साथ पनि दिनुपर्छ। पहिलो दिनमै गभर्नरलाई स्वागत गर्ने क्रममा वरिष्ठ अधिकारीहरूले देखाएको व्यवहार भने स्वाभाविक देखिएको छैन।
मुलुकमा गठबन्धन सरकार छ। नयाँ गभर्नरको पूर्ण कार्यकालभित्रै सरकार परिवर्तन हुन पनि सक्छन्। सरकार जुनसुकै दलका भए पनि केन्द्रीय बैंक नेतृत्वले निष्पक्षता देखाउने र अर्थतन्त्रलाई निरन्तर लयवद्ध गराउने काममा लागिरहनुपर्ने हुन्छ। आफूअनुकूलको सरकार हुँदा सहयोग गर्ने र अरू बेलामा भिन्न व्यवहार देखाउने गरेको भनी यदाकदा त्यो नेतृत्वमाथि आलोचना पनि हुने गरेको छ। एकजना व्यवसायिक व्यक्तिको नियुक्ति भएपछि त्यस्तो अवस्था आउन दिनु हुँदैन र संस्थागत विकासमै जोड दिनुपर्छ। हाम्रो अर्थतन्त्रलाई बढावा दिने गरी काम गर्नैपर्छ।
मौद्रिक तथा वित्तीय क्षेत्रमा आफ्ना नीति घुसाउन राजीतिक नेतृत्वको प्रायः रहर हुन खोज्छ। यस्तो अवस्थामा गभर्नरले दह्रो खुट्टा टेकेर मुलुकको हीतलाई नै सर्वोपरि मानेर काम गर्न सक्नु पर्छ। अर्थतन्त्रलाई अनुशासित तुल्याउने, फाइनान्सियल टास्क फोर्सको ‘ग्रे लिस्ट’बाट मुलुकलाई निकाल्न प्रयास गर्ने काम नयाँ गभर्नरको जिम्मेवारीमा छन्। चुनौती सबै नेतृत्वसामु हुन्छ नै। जो समस्यासँग भाग्दैन र चुनौती सामना गरेर त्यसमाथि विजय हासिल गर्छ, त्यो नै नेता हुने हो। अहिले पौडेलसामु यही अवसर आएको छ। आशा गरौँ, उनले यी चुनौती पार गर्दै मुलुकको आर्थिक क्षेत्रको मनोबल बढाउन सफलता हासिल गर्नेछन् र अनुभवबिहीन भनेर शंका गर्नेहरूलाई कामबाटै जवाफ दिनेछन्। गभर्नर पौडेललाई सफल कार्यकालको अग्रिम शुभकामना!
प्रकाशित: ८ जेष्ठ २०८२ ०५:५८ बिहीबार

