भारतको जम्मु–कश्मीरस्थित पहलगाममा आतंककारीद्वारा मंगलबार गरिएको आक्रमणमा २७ जना मारिएका छन्। आक्रमणमा नेपालका युवा सुदीप न्यौपानेसमेत परेका छन्। संयुक्त अरब इमिरेट्सका एकजना नागरिक पनि मारिएका छन्। बाँकी भारतीय नागरिक छन्। उत्तर प्रदेश, गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडू र ओडिसाका पर्यटक मारिएका भारतीय सञ्चार माध्यमले जनाएका छन्।
आक्रमणका कारण यति धेरै जनाको ज्यान गएपछि यो घटना अहिले विश्वभर निन्दित बनेको छ। साउदी अरब भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार फर्किसकेका छन्। त्यसैगरी गृहमन्त्री अमित शाह घटनास्थल पुगेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत विश्व नेताहरूले समेत यो घटनाको भत्र्सना गरेका छन्। हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत आफ्ना समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन गरी आतंकवादविरुद्धको लडाइँमा ऐक्यवद्धता व्यक्त गरेका छन्।
यस्तो आतंकपूर्ण आक्रमण जसले गरे पनि त्यसलाई समर्थन गर्न सकिँदैन। आतंककारी कुनै देश, भूगोल, सीमा, जात, वर्ग, समुदाय, वर्ण, लिंग, रंग आदिमा सीमित हुँदैन। न उसमा दया हुन्छ न त धर्म र कानुनकै डर। त्यसैले आतंककारीहरू निर्दयी हुन्छन् र कसैको ज्यान लिनु उनीहरूका लागि सामान्य काम हुन्छ। जसको ज्यान गयो उसको जुनी सकियो नै, उसका आफन्त भने बाँचुन्जेल तड्पिइरहन बाध्य हुन्छन्। यसरी हेर्दा प्रत्यक्ष मृत्यु हुनेमा केही देखिए पनि बाँचेर पनि पल–पल मर्न बाध्य हुनेमा सयौँ परिवार हुनेछन्। यसर्थ पनि यस्ता आक्रमण सदाका लागि रोक्नेतर्फ लाग्नु सबैको जिम्मेवारीमा पर्नुपर्छ।
आक्रमणको जिम्मेवारी पाकिस्तानको प्रतिबन्धित विद्रोही समूह लश्कर–ए–तैयबा (एलइटी) को छायाँ संगठन द रेजिस्टेन्स फ्रन्ट (टिआरएफ) ले लिएको छ। यही कारण भारत र पाकिस्तानबिच तीव्र दुश्मनीसमेत साँध्न थालिएको छ। भारतले पाकिस्तान सरकारको आधिकारिक एक्स अकाउन्ट ब्लक गरेको छ।
त्यति मात्र हैन, सिन्धु जल सम्झौता निलम्बन गरेको छ भने भारतमा रहेका वरिष्ठ कूटनीतिक कर्मचारीहरूलाई देश छाड्ने आदेशसमेत दिएको छ। एकातिर भारतले पाकिस्तानलाई सीमा पार आतंकवादलाई समर्थन गरेको आरोप लगाएको छ भने अर्कोतर्फ पाकिस्तानले भने आफूमाथि भारतले वाहियात आरोप लगाएको भन्दै उसका गतिविधिप्रति उपयुक्त जवाफ फर्काउने उत्तर दिएको छ।
यसरी हेर्दा यो आक्रमण एउटा देशको एउटा ठाउँमा भएको देखिए पनि यसले एउटा देश मात्र नभई छिमेकी मुलुकहरूमा समेत कसरी नकारात्मक असर पार्छ भन्ने देखिन्छ। जसको दूरगामी असर हामीले सोचेभन्दा धेरै घातक हुन सक्छ।
आक्रमणमा नेपालीसमेत मारिएकाले मात्र हैन, नजिकको हितैषी छिमेकी भएका कारण पनि भारतका हरेक दुःख नेपालीका लागि असह्य हुनु स्वाभाविक हुन्छ। प्रधानमन्त्री ओली र परराष्ट्र मन्त्रीले उक्त घटनाप्रति सहानुभूति व्यक्त गर्दै आतंकवादविरुद्धका प्रत्येक कदममा नेपालको साथ रहने प्रतिबद्धता व्यक्त गरेका हुन्। छिमेकमा आइपरेको पीडामा मलम लगाउन अग्रसर हुनु अर्को छिमेकको परम कर्तव्य नै हुन्छ। यही कर्तव्य बुझेर नेपालले आतंकवादप्रति जुन रोष प्रकट गरेको छ र यसमा भारतीय सरकारसँगै रहने वाचा गरेको छ, त्यो उपयुक्त र अर्थपूर्णसमेत छ।
आतंकले कसैलाई पनि आफन्त ठान्दैन। आतंककारी कसैका आफ्ना होइनन्। यिनको काम नै विध्वंश मच्चाउने र समाजमा कायम अमनचयन खल्बल्याउने हो। यो वास्तविकता बुझेर हामी कसैले पनि आतंकवादीलाई प्रश्रय पुग्ने काम गर्नु हुँदैन। हामीले गर्ने र गरिरहेको कुनै कामले कतै उनीहरूलाई हौसला मिलिरहेको त छैन भन्नेबारे प्रत्येक पल सतर्क हुनु जरुरी छ। जुनसुकै समूहले गरेको भए पनि तिनको पहिचान, सजाय र उन्मुलनमा सघाउनु हामी सबैको दायित्व हुनुपर्छ। विश्वमा मानवता कायमै राख्न पनि यो अत्यावश्यक छ।
प्रकाशित: १२ वैशाख २०८२ ०५:५४ शुक्रबार