१ चैत्र २०८१ शुक्रबार
image/svg+xml १७:३६ अपराह्न
सम्पादकीय

एचपिभीविरुद्धको उत्सव

‘नमस्ते सबैलाई। मेरो नाम ज्यास्मिन अधिकारी। म जनप्रेमी वल्र्ड स्कुलमा  कक्षा ८ मा पढ्छु। मैले एचपिभी भ्याक्सिन लगाइसकें। एचपिभी भ्याक्सिन लगाउँदाखेरि डराउनुपर्ने कुरा छैन। मलाई पनि सुरुमा डर लागेको थियो। तर, अरू भ्याक्सिन लगाएजस्तै अलिअलि मात्रै दुख्छ। र, यो भ्याक्सिन ढुक्कसँग लगाउँदा हुन्छ। त्यसैले, म यो भ्याक्सिन सबै दिदीबहिनीलाई लगाउन अनुरोध गर्छु। किनकि, यो हामी सबैले लगाउनु जरुरी छ।’

यतिबेला देशमा ह्युमन पापिलोमा भाइरस (एचपिभी) का कारण पाठेघरको मुखमा हुने क्यान्सर न्यूनीकरण र नियन्त्रणका लागि निःशुल्क एचपिभी खोप अभियान जारी छ। माघ २२ देखि सुरु भएको यो अभियान फागुन ६ सम्म चल्नेछ। र, यस अभियानअन्तर्गत शुक्रबारसम्म ज्यास्मिनजस्तै सात लाख ८० हजारभन्दा बढी बालिकाले यो खोप लगाइसकेका छन् र आफूजस्तै उमेरका सबैलाई यो खोप लगाउन आग्रह गरिरहेका छन्। स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाका अनुसार खोप अभियानमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ५० प्रतिशत बालिका सहभागी भइसकेका छन्। अन्य पाँच प्रदेशमा भने मंगलबार र बुधबार सरस्वती पूजा र त्यससँग सम्बन्धित कार्यक्रमका कारण तुलनात्मक रूपमा कम सहभागी भए पनि बिहीबारदेखि तीव्रता आएको छ। सरकारले यो वर्ष देशभरिमा १० वर्षमाथि १४ वर्षसम्मको उमेर समूहका १६ लाख ८८ हजार बालिकालाई एचपिभी खोप लगाउने लक्ष्य लिएको छ।

लक्षित सबै बालिकाले किन लगाउनुपर्छ एचपिभी खोप र किन सफल हुनुपर्छ यो अभियान? यसका लागि नेपालले लामो समयदेखि पाठेघरको मुखको क्यान्सरबाट भोगिरहेको मानवीय, आर्थिक र सामाजिक क्षतिबारे पत्ता पाउनुपर्छ। नेपाली महिलाहरूको असहनीय पीडालाई बोध गर्नुपर्छ। हामीले बुझ्नुपर्छ, पाठेघरको मुखको क्यान्सर (सर्भिकल क्यान्सर) महिलामा लाग्ने क्यान्सरहरूमध्ये सबैभन्दा ठुलो समस्या हो। विशेषज्ञहरूका अनुसार विश्वका महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर चौथो स्थानमा रहेको छ तर नेपालमा भने यो पहिलो स्थानमा छ। र, के देखिन्छ भने विश्वभर पाठेघरको मुखमा हुने क्यान्सरमा ९५ प्रतिशतभन्दा बढी यही एचपिभी भाइरस नै कारक रहेको छ। एचपिभी भाइरसका दुई सयभन्दा बढी प्रजाति हुने र त्यसमा कम्तीमा १२ वटा प्रजातिले पाठेघरको मुखको क्यान्सर गराउने मानिन्छ। त्यसमध्ये पनि १६ र १८ प्रजाति प्रमुख मानिन्छन्। र, नेपालका ८० प्रतिशत महिलामा त्यही १६ र १८ प्रजातिको संक्रमण पाइएको छ।

यसलाई क्षतिको तथ्यांकमा हेर्ने हो भने विश्वमा प्रति एक लाख महिलामध्ये १३.१ लाई पाठेघरको मुखको क्यान्सर हुने पाइएको छ, जसमा मृत्युदर ६.९ रहेको छ। दक्षिण एसियामा प्रति एक लाखमा सरदर १५.८ महिलामा यो क्यान्सर हुने गरेको र ९.६ प्रतिशतको मृत्यु हुने गरेको छ। विश्व स्वास्थ्य संगठनको सन् २०१८ को प्रतिवेदनअनुसार नेपालमा हुने क्यान्सरहरूमध्ये पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी छ। यहाँ प्रति एक लाख महिलामा २१.५ मा नयाँ क्यान्सर र १४.३ को मृत्यु हुने गरेको छ। सरकारी तथ्यांकअनुसार नेपालमा प्रत्येक दिन चार जना महिलाले पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गुमाइरहेका छन्।

त्यसैले पनि यहाँ के भन्नैपर्छ भने कतिपयका लागि यो सामान्य खोप अभियान लागे पनि जनस्वास्थ्यका दृष्टिबाट यो एउटा महाअभियान अर्थात् उत्सव हो। यस्तो उत्सव जसले हाम्रा अबका महिलाले पाठेघरको मुखको क्यान्सरमुक्त जीवन बाँच्नेछन्, जसले समाज अनि देशलाई स्वस्थ्य र समृद्ध राख्नेछ। तर, यतैकतै सामाजिक सञ्जालतिर एचपिभी भाइरसविरुद्धको यो खोपले बाँझो बनाउने, यसको असरले अनेक समस्या ल्याउने, खोपले काम नगर्ने जस्ता कुतर्क पनि सुनिएका छन्। कतिले यसलाई पश्चिमा धनी देश र विश्व स्वास्थ्य संगठनको नेपाललाई खोप परीक्षणको प्रयोगशाला बनाउने षड्यन्त्र भन्दै अफवाह फैलाइरहेका छन्। तर, हामीले के तथ्य भुल्नु हुँदैन भने विकसित देशहरूले आजभन्दा दुई दशकअघि नै यो खोपको अनि यसको सफलता दर ९५ प्रतिशतभन्दा बढी रहेको मापन गरिसकेका छन्। अहिले पनि कतिपय कम विकसित र गरिब देशका बालिका यो खोपबाट वञ्चित छन्। त्यति मात्र होइन, छिमेकी भारतकै पनि सबै बालिकाले यो खोप निःशुल्क पाएका छैनन्। सन् २०२४ को बजेट भाषणमार्फत वित्तमन्त्री निर्मला सीतारमणले नारी शक्ति कार्यक्रमअन्तर्गत यसलाई निःशुल्क र सर्वसुलभ बनाउने भने पनि अझसम्म यो कार्यान्यन हुन सकेको छैन, बरु बजारमा भारतीय रूपैयाँ तीन हजारदेखि १५ हजारसम्म यसको बिक्री हुने गरेको छ।

बरु हामीले धन्यवाद दिनुपर्छ, सरकारलाई, स्वास्थ्य मन्त्रालय र सम्बन्धित अधिकारीलाई, दातृ निकायलाई, जसको लामो रस्साकस्सीबाट आज नेपाली बालिकाले सित्तैमा यो खोप लगाउने अवसर पाएका छन्। खबरदारी त यस्ता विषयमा गर्नुपर्छ कि सबै बालिकाले यो सुविधाको उपयोग गरे/गरेनन्, कोही छुटे त किन छुटे? खोप अभियानमा त्रुटि कहाँनेर रह्यो? खोपको अबको किस्ता यसैगरी उनीहरूलाई कसरी दिलाउने हो? थप एचपिभीका बाँकी तीन खोपका धनी बनिसकेका विकसित मुलुकजस्तै हामीले पनि ती खोपको सुविधा कहिले पाउने हो? विज्ञानको वर्षौंको परिश्रमले सिद्ध उपचार पद्धतिमा हाम्रो अज्ञानता, अनावश्यक सन्देह र दुष्प्रचारले स्वयंलाई त भ्रमित पारिहाल्यो, हाम्रा छोरीहरूलाई भने कसैगरी यसको सिकार बनाउनुहुन्न। यो सन्देश खासगरी अभिभावकलाई। 

प्रकाशित: २७ माघ २०८१ ०६:०९ आइतबार

Download Nagarik App
Download Nagarik App