२१ पुस २०८२ सोमबार
image/svg+xml
सम्पादकीय

संगीत सेतु

इलामको रोङ गाउँपालिकाले महिलाको आर्थिक अवस्था सुधार्ने तथा तथा संस्कृति जगेर्ना गर्ने उद्देश्यले नौमती बाजा सिकाउन थालेको छ। सर्सर्ती हेर्दा नौमती बाजा यी दुई पक्षसँग मात्र सम्बन्धित देखिए पनि यसका अप्रत्यक्ष फाइदा भने धेरै देखिएका छन्। जसले समाजमा व्याप्त विभेदी धारणा परिवर्तनदेखि उद्यम गर्नुपर्छ भन्ने भावना जगाउनसमेत मद्दत पुगेको छ।

खासमा पालिकाले महिलालाई नौमती बाजा सिकाउन सुरु गरेको हो। त्यसैले हेर्दा यो नौमती बाजा बजाउन सिक्नेसँग मात्र सम्बन्धित छ तर पालिकाको यो कदमले एकैपटक धेरै सन्देश दिएको छ। यस्तो सन्देशमध्ये सबैभन्दा मुख्यचाहिँ कामप्रतिको सम्मान हो। हाम्रो समाजमा यो काम यसले गर्नुपर्ने वा अर्कोले गर्न नहुने भन्ने अर्थमा बुझिँदै आएको छ। त्यसैले बरु मानिस खाली हात बस्ने तर समाजले गर्नुहुन्न भनेर घेरा लगाइदिएको काम नगर्ने परिपाटी थियो। त्यसैले चुलाचौकामा मात्र सीमित महिलाले पनि बाजा बजाउन सक्ने र हुने कुरा धेरैपछि आएर मात्र प्रमाणित भएको हो। अहिले रोङका महिला नौमती बाजा बजाउने तालिममा सरिक हुनु यही कामप्रतिको सम्मान नै होभन्दा अन्युक्ति हुने छैन।

अर्को कुरा बाजा बजाउने काम दलित समुदायका व्यक्तिले मात्र गर्ने ठान्छ हाम्रो समाज। पछिल्लो समय यो धारणामा केही परिवर्तन आए पनि आमूल परिवर्तन भने निकै टाढा छ। तर अहिले यस्तो बाजा बजाउने तालिममा ब्राह्मण/क्षत्री परिवारका महिलासमेत संलग्न छन्। जसका कारण एकातर्फ दलित समुदाय पनि हौसिएका छन् भने अर्कोतर्फ आखिर गर्दा हुने रहेछ नि भन्ने भावना बढेको छ। काम सानो र ठूलोले गर्ने भन्ने नै हुँदैन भन्ने यो ठूलो प्रमाण हो।

भनिन्छ– आराम हराम हो। नौमती बाजा बजाउने तालिममा सहभागी महिलाले पुष्टि गरेका अर्को पक्ष यो पनि हो। घरमा फुर्सदको समय बिताउन झन्झट लागेर विकल्प खोजिरहेका महिलाका लागि केही सिप जरुरी थियो। त्यसैले जब उनीहरूले पालिकाबाट यस्तो कार्यक्रम थाहा पाए, त्यसपछि सरिक भइहाले। जसबाट तालिमका सहभागी त लाभान्वित भइरहेका छन् नै, साथै अन्य महिला पनि यस्तो काममा अग्रसर हुने ढोका खुलेको छ।

कामका आधारमा जारी विभेदलाई यो तालिमका सहभागीले खारेज गरिदिएका छन्। अर्थात कामकै आधारमा हुने विभेद अनावश्यक भएको पुष्टि गरेका छन्। को दलित, को गैरदलित, को तल्लो जात, को माथिल्लो जात, आखिर काममा लागेपछि सबै बराबर भन्ने मान्यतालाई व्यवहारमा पुष्टि गरेका छन् उनीहरूले। सँगै बस्ने, सँगै खाने, सँगै सिक्ने र सँगै बजाउने कार्यले उनीहरूलाई विभेदबाट अलग्याएको छ। अर्थात् सहभागी सबै तालिमे। त्यहाँ न जातका आधारमा विभेद छ न त वर्गकै। न रङका आधारमा कसैले कसैलाई हेप्छ न त भूगोलकै।

नौमतीसँग जोडिएको यो तालिमको अर्को सन्देश संस्कृति जगेर्ना हामी सबैको कर्तव्य हो भन्ने पनि हो। किनकि भारतका प्रसिद्ध वाद्यवादक नौबत खाँको सम्झनामा नामकरण गरिए पनि ढोलक, ट्याम्को, सनही, तुरही, कर्नाल आदि नेपाली संस्कृतिको अभिन्न अंग भइसकेका छन्। त्यसैले आफ्नो संस्कृतिको जगेर्ना गर्ने काम कुनै अमुक समुदाय, जात वा भूगोलका मान्छेको मात्र कर्तव्य हुन सक्दैन। यही बुझेर सबै जातका महिला नौमती बजाउने कर्ममा संलग्न हुनु निकै राम्रो पक्ष मान्नुपर्छ।

खासमा हाम्रो समाजमा धेरै काम यसरी विभाजित गरिएको छ कि जुन पुरुषले गरिआएका तर महिलाले नसक्ने ठानिएका छन्। यस्तै काममध्ये एउटा बाजा बजाउनु पनि हो। तर अहिले महिला स्वयं बाजा बजाउन अग्रसर हुनुले पुरुषका लागि भनेर छुट्याइएका काम महिलाले पनि सहजै गर्छ सक्छन् भन्ने पुष्टि गरेका छन्। समानताका हिसाबले मात्र हैन, आँट र आत्मविश्वासका हिसाबले पनि यो सन्देश महत्त्वपूर्ण छ।

आर्थिक सशक्तीकरणबिना महिला सशक्तीकरण सम्भव छैन भन्ने बुझाइ नौमती बाजा तालिमका सहभागीले पनि पुष्टि गरे। त्यसैले यो तालिममा सहभागी हुनुको अर्थ यो सिपलाई व्यावसायिक बनाउने र त्यसका माध्यमबाट अर्थोपार्जन गर्ने पनि हो। आफू र परिवारलाई समेत आर्थिक रूपले सशक्त तुल्याउने र त्यसका लागि अग्रसर हुने तालिमेको प्रयास स्तुत्य छ।

यो तालिमका सहभागीले पुष्टि गरेका अर्को तथ्य यो पनि हो कि संगीतले सेतुको काम गर्न सक्छ। हिजो तालिममा जानुअघि तल्लो जात र माथ्लो जात भनेर बस्नेहरू यतिबेला सबै एकै ठाउँमा भेला भएर रुचिपूर्वक सिप सिकिरहेका छन्। जसले जानेको छ, उसले अरूलाई सिकाइरहेको छ। यसबाट दलित समुदायका व्यक्ति पनि मख्ख परेका छन्। त्यसैले संगीत विभाजित समाजलाई एउटै तानमा उन्न पनि सक्षम छ भन्ने सन्देश नौमती बाजाका तालिमेबाट मिलेको छ ।

कमजोरी अवसरमा छ, महिलामा हैन भन्ने अर्को महŒवपूर्ण सन्देश पनि देखिन्छ नौमती बाजाका तालिमेमा। जब पालिकाले यो अवसर दिएको थिएन, उनीहरू चुलोचौकामै सीमित थिए, यो अवसर पाएपछि तालिममा सहभागी भए र उत्सुकतापूर्वक सिप हासिल गरिरहेका छन्। त्यसैले महिला अवसर पाएमा कम छैनन् भन्ने सन्देश पनि पालिकाको यो कदमले दिएको छ। यी यस्ता सन्देश हुन् जसले अन्य पालिकालाई पनि नयाँ र आकर्षक काममा अग्रसर गराउँछन्।

प्रकाशित: १५ पुस २०८१ ०६:०६ सोमबार

Download Nagarik App
Download Nagarik App