१५ पुस २०८२ मंगलबार
image/svg+xml
सम्पादकीय

फिल्मी सूचना सहयोग

सूचना जानकारी मात्र होइन। आधुनिक समयमा यो ठूलो शक्ति हो। त्यसैले विश्वका शक्तिशाली राष्ट्रहरूले सूचना प्राप्तिका लागि अर्बौँ रूपैयाँ खर्चिरहेका हुन्छन्। कैयौँ देशमा ज्यानै जोखिममा पारेर जासुस खटाइरहेका हुन्छन्। त्यसैले अहिले सूचना सबै भन्दा ठूलो हतियार बनेको छ। जो उपयोग गर्न जान्दा वा सदुपयोग गर्न सक्दा चमत्कारको साधनसमेत बन्न सक्छ। यस्तो सूचना कुन क्षेत्रमा बढी जरुरी छ भनेर बहस चलाउनु आवश्यक छैन। हरेक क्षेत्रका सूचना त्यो क्षेत्रका सरोकारवालाका लागि उत्तिकै महत्त्वको हुने गर्छ। एउटा क्षेत्र वा पेसामा लागेको व्यक्तिका लागि अर्को क्षेत्र वा पेसासँग सम्बन्धित सूचना कामयावी नहोला। तर सोही क्षेत्रका सरोकारवालाका लागि भने ठूलो उपलब्धि हासिल हुन सक्छ। जसले उसका समस्या समाधान गर्नेदेखि नवप्रवर्तनका लागि मार्ग उजागर गर्ने सम्भावनासमेत खोलिदिन्छ।

शायद सूचनाको यही शक्ति बुझेर होला, नेपाल चलचित्र निर्देशक समाजले भर्खरै हेल्प डेस्क सञ्चालनमा ल्याएको छ। जसले नेपाली फिल्म निर्माण तथा प्रदर्शनका क्रममा चाहिने आवश्यक जानकारी तथा परामर्श उपलब्ध गराउने उद्देश्य राखेको छ। फिल्म क्षेत्र ग्ल्यामर अर्थात मन मुग्ध पार्ने सौन्दर्य, अझ भनौँ, नकलझकलयुक्त बुझिन्छ। त्यसैले यो क्षेत्रमा धेरैको रुचि हुन्छ। विशेषगरी किशोरावस्थाका नवप्रवेशी यो क्षेत्रप्रति बढी नै आकर्षित हुन्छन्। यही वास्तविकता बुझेर फिल्मी क्षेत्रमा लाग्नेहरू बढी नै देखिएका छन्। अभिनय गर्ने, निर्देशन गर्ने, लगानी गर्ने, गीत/संगीतमा योगदान गर्ने जस्ता विविध पक्षमा लाग्न मरिहत्ते गर्नेहरू धेरै नै देखिएका छन्। तर यो क्षेत्रमा हाम्फाल्न खोज्नेहरू सबै बुझेकै मात्र हुँदैनन्। कतिपय लहलहैमा लागेर र कतिपयचाहिँ ‘भाइरल’ हुने रहरले पनि यतातर्फ डोरिएका हुन्छन्। त्यसैले यो क्षेत्रमा लाग्न चाहने सबैलाई फिल्मी क्षेत्रसम्बन्धी जानकारी गराउने डेस्कको उद्देश्य उपयुक्त मान्नुपर्छ।

जानकारी दिने मात्र हैन, यो हेल्प डेस्कले आवश्यक परे परामर्श पनि दिने उद्देश्य राखेको छ। जहाँबाट आफूलाई आवश्यक परेको वा जिज्ञासा लागेको विषयमा परमर्श लिन सकिने व्यवस्था गरिएको छ। कैयौँ मानिस बिनाजानकारी यो क्षेत्रमा होमिने र पछि दुखेसो गर्ने देखिँदै आएको छ। निर्देशक समाजको यस्तो प्रयासले फिल्मी क्षेत्रमा लाग्नुअघि नै जानकारी हासिल हुने भएकाले गुनासो गर्ने ठाउँ न्यून हुने अपेक्षा गर्न सकिन्छ। अहिले हेल्प डेस्कले नयाँ फिल्म निर्माता तथा निर्देशकलाई जानकारी र परामर्श दिनेमा उद्देश्य केन्द्रित गरेको छ। आगामी दिनमा हेल्प डेस्कको दायरा विस्तार गरेर फिल्मी क्षेत्रका सम्पूर्ण जानकारी चाहने जोसुकैलाई उपलब्ध गराउने व्यवस्था हुन सके त्यसले आमजिज्ञासु मात्र हैन, फिल्मी क्षेत्रमा समेत योगदान पुग्नेमा शंका छैन। विशेषगरी फिल्म क्षेत्रबारे अध्ययन÷अनुसन्धान गर्न चाहने, यसको कारोबार तथा अन्य गतिविधि थाहा पाउन चाहनेलाई यस्तो अवस्थाले गुन नै लगाउनेछ।

सञ्चार माध्यम सूचनाको स्रोत र सूचनाका आकांक्षीबीचको सेतु हो। निर्देशक समाजले अहिले थालेको यो हेल्प डेस्कले सञ्चार कर्ममा संलग्नहरूलाई आवश्यक पर्ने सूचनासमेत एउटै थलोबाट दिन सक्यो भने मिथ्या सूचना प्रवाहसमेत न्यूनीकरण हुन सक्छ। यस्तो अवस्थामा हेल्प डेस्क फिल्मी सूचनाको सबै भन्दा आधिकारिक निकाय बन्न सक्छ भने यही कारण सूचनाको विश्वसनीयतासमेत वृद्धि हुन सक्छ। यसैले हेल्प डेस्कलाई फिल्म बिटमा काम गर्ने सञ्चारकर्मीको मुख्य सूचना स्रोत बनाउन सक्दा त्यसले फिल्मी सूचनाकर्ता मात्र हैन, फिल्मी सूचनाका उपभोक्ता पनि गलत सूचनाको शिकार बन्नबाट बच्नेछन्। सर्वसाधारणको सूचनाको अधिकार कार्यान्वयन र संरक्षण सरकारको मात्र नभई, सबै संगठित निकायको समेत दायित्वभित्रै पर्छ। अहिले यो हेल्प डेस्कले सीमित नै भए पनि जुन जानकारी र परामर्श उपलब्ध गराउने प्रयास गरेको छ, त्यो सकारात्मक छ। यसले जनताको सूचनाको अधिकारलाई सम्मान गर्नका लागि सञ्चारकर्मी तथा अध्येता/जिज्ञासुका लागि पनि यो डेस्कको दायरा फराकिलो पार्नु उपयुक्त हुनेछ।

यतिबेलो नेपाली फिल्मी क्षेत्र सकारात्मक मोडतर्फ अघि बढिरहेको छ। ‘पूर्णबहादुरको सारंगी’ जस्ता केही फिल्मले विषयवस्तु र प्रस्तुति राम्रो हुने हो हाम्रा फिल्मले हलिउड र बलिउडलाई मात्र फिल्मको ऊर्वर क्षेत्र मानिरहनुपर्ने बाध्यता डाँडो काट्ने पाठ सिकाएका छन्। त्यसैले यो अवस्थालाई कायमै राख्न पनि सही सूचना आवश्यक छ। जस्तो– कुन फिल्मले कति व्यापार ग¥यो, यस्ता फिल्मसँग जोडिएर आउने विवादका मूल कारण के हुन् र ती कहाँबाट कुन प्रयोजनले प्रवाहित सूचना हुन्? तिनले कसरी नेपाली फिल्म उद्योगलाई हानि तुल्याउँछन् जस्ता जिज्ञासा पनि यस्तो डेस्कले सञ्चारकर्मीमार्फत सार्वजनिक गर्ने हो भने नेपाली फिल्मी क्षेत्रमा खेल्न चाहनेको उपचार सम्भव हुनेछ। जसले यो क्षेत्रलाई उभो लगाउन योगदान नै गर्नेछ।

मुख्य कुरा, हेल्प डेस्क आफैँमा सकारात्मक पहल भएकामा शंका छैन। अब यसको दायरा विस्तार गर्नु निर्देशक समाजका लागि चुनौती हुन सक्छ। जुन उसले चाहँदा त्यति ठूलो विषय पनि हैन। यो सार्थक प्रयासलाई थप उपलब्धिमूलक बनाउन र फिल्मी क्षेत्रका वास्तविक सूचना आमउपभोक्ताबीच सहज र सुलभ तथा यथार्थपरक बनाउन समाजले भूमिका बढाउनु बुद्धिमानी हुनेछ।  

प्रकाशित: १२ पुस २०८१ ०५:५० शुक्रबार

Download Nagarik App
Download Nagarik App