११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
सम्पादकीय

‘हेलो गर्भवतीज्यू !’

सुर्खेत सदरमुकाम मात्र हैन, सिंगै कर्णाली प्रदेशको समेत सदरमुकाम रहेको वीरेन्द्रनगर नगरपालिकाका गर्भवती महिलाले आफ्नो फोन वा मोबाइल जतिसुकै बेला पनि खुला राख्नुपर्ने भएको छ। यदि राखिएन भने उनीहरूले गर्भावस्थामा आइपर्ने स्वास्थ्य समस्या झेल्नुपर्ने हुन सक्छ। हो, नियमित समयमा स्वास्थ्य केन्द्रमा जानुपर्ने, जानुपर्ने समयमा गए/नगएको, केही समस्या उत्पन्न भए/नभएको र भएमा के गर्ने भन्ने सल्लाह आउने गर्छ उक्त फोन/मोबाइलमा। त्यसैले यतिबेला नगरपालिका र गर्भवतीको सम्पर्क सेतु बनेको छ फोन।

नगरपालिकाले सुरु गरेको ‘हेलो, गर्भवती आमा’ कार्यक्रमअन्तर्गत नगरका १६ वटै वडामा यस्तो कार्यक्रम सुरु हुने जानकारी पालिकाले दिएको छ। जसको सुरुवातचाहिँ भइसकेको छ। सबै वडाका २० वटा स्वास्थ्य केन्द्रमा केन्द्रित रहने स्वास्थ्य स्वयंसेविकाले प्रत्येक घरका गर्भवती महिलाको नाम र सम्पर्क नम्बर मात्रै संकलन गर्दैनन्, उनीहरूले चाहेको र उपलब्ध गराउनुपर्ने सेवा पनि पत्तो लगाउँछन्। अनि पालिकाको स्वास्थ्य शाखाका कर्मचारीले प्रत्येक गर्भवतीलाई फोन गर्छन्। र, उनीहरूको अवस्थाबारे जानकारी लिन्छन्। दिनुपरे दिन्छन्।

परामर्श यो कार्यक्रमको मुख्य काम हो। नगरपालिका नै भए पनि नेपालका सबै नगरबासी सामान्य जानकारीबाट समेत सूचित छैनन्। वीरेन्द्रनगर पनि यसमा अपवाद छैन। त्यसैले गर्भवती भएदेखि सुत्केरी हुनेबेलासम्म आठ पटक स्वास्थ्य निकायमा गएर नियमित जाँच गराउनुपर्ने, आवश्यक औषधि सेवन गर्नुपर्ने र अपनाउनुपर्ने होसियारीबारे परामर्श पाउँछन् उनीहरूले। अनि स्वास्थ्य निकाय जानुपर्ने अवधि र अवस्थाबारे पनि भनिदिन्छन्। त्यति मात्र हैन, यसरी नियमित जाँच नगराए आफ्नो र बच्चाको स्वास्थ्यमा असर पर्न सक्ने त छँदैछ, साथै सरकारले यातायात खर्चबापत उपलब्ध गराउने हजार रुपियाँसमेत नपाउने जानकारी दिन्छन्। त्यति मात्र पनि हैन, सुत्केरी गराउन जानेबेला पालिकाले पैसा तिर्नु नपर्ने गरी एम्बुलेन्स उपलब्ध गराउने जानकारी पनि दिन्छन्।

पालिकाहरू आफूहरूलाई बजेट कम दिइएको, अधिकार खुम्च्याइएको जस्ता गुनासो गरेरै भ्याउँदैनन्। तर खासै धेरै खर्च पनि नलाग्ने, आफ्नै जनशक्ति र स्रोतबाट गर्न सकिने अनि जसको लाभ पनि धेरैलाई पुग्ने र मनसमेत जित्न सकिने यस्तो कामतर्फ भने ध्यान दिँदैनन्। जुन कुरामा पहलकदमी लिएर वीरेन्द्रनगर नगरपालिका नेतृत्व धेरैको मन जित्न सफल भएको छ। यी खासै नयाँ सेवा होइनन् तर सेवा उपलब्ध गराउने शैली भने पक्कै नयाँ हो । जसलाई यो पालिकाले अपनाएर गर्भवती र उनीहरूका आफन्तको मन जितेको छ।

वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख महिला छन्– मोहनमाया ढकाल (भण्डारी)।  महिलाको पीडा बुझ्ने महिला नै हुन्छन् भन्ने भनाइलाई पनि चरितार्थ गरेकी छन् उनले यो कार्यक्रम लागु गरेर। हो पनि, गर्भ बोक्नु नपर्नेले गर्भवतीको पीडा थाहा पाओस् पनि कसरी ? यस्तो अवस्थामा गर्भवती लक्षित कार्यक्रम लागु गरी प्रभावकारी सेवा प्रदान गरेकामा नगर प्रमुख पक्कै पनि धन्यवादकी पात्र छिन्। सँगै ‘महिलालाई जिताउँदैमा के हुन्छ र ?’ भन्ने प्रश्नको उत्तर पनि हो ‘हलो, गर्भवती आमा’ कार्यक्रम। तर महिला प्रमुख भएपछि महिलाका लागि यति गरे सक्किगो भन्ने अर्थमा चाहिँ लिनुहुन्न अर्थात् यसलाई महिला नेतृत्वले गर्न सक्ने कामका प्रवेश विन्दुका रूपमा मात्र लिइनुपर्छ।

हुन त यो नगरपालिकाले स्वास्थ्य र महिलासँग जोडिएका अन्य काम पनि नगरेको हैन। दुई सय १२ जना गर्भवतीको भिडियो एक्सरे गरिएको छ भने एक हजार चार सय चार जना गर्भवती तथा सुत्केरीलाई घरमै पुगेर सेवा दिइएको छ। त्यसैगरी दुई हजार सात सय ५३ महिलालाई स्तन र पाठेघरको मुखमा हुने क्यान्सर जाँच सेवा प्रदान गरेको छ। अनि प्रजनन उमेर समूहका ३८ हजार महिला तथा किशोरीलाई स्यानिटरी प्याड पनि प्रदान गरेको छ । यसबाहेक नगर प्रमुख पोषण कोसेली यो नगरपालिकाले थालेको अर्को उल्लेखनीय कार्यक्रम हो। जसबाट एक सय ७२ जना लाभान्वित भइसकेका छन्। विशेषगरी चौधरी समुदायमा देखा पर्ने सिकलसेल रोग रोकथामका लागि पालिकाले दिएको विशेष प्राथमिकता पनि सराहनीय छ।

अरू सयौँ पालिका काम गर्ने वातावरण, बजेट र अधिकार भएन भनेर गुनासोमात्र गरिरहेका बेला महिला नेतृत्वको वीरेन्द्रनगर नगरपालिकाले थालेको यो महिला लक्षित कार्यक्रमले अनेक प्रतिकुलतामा नयाँ पहल गर्न सकिन्छ भन्ने पुष्टि गर्छ। अन्य पालिकाले पनि यसलाई अनुशरण गर्न सके समस्यामा परेका र पर्न सक्ने महिलाको त हित हुन्छ नै, समग्रमा जनप्रतिनिधिप्रति गरिने व्यवहार र हेरिने दृष्टिकोणमा समेत स्तर वृद्धि हुनेछ।

प्रकाशित: ११ आश्विन २०८१ ०६:०३ शुक्रबार

Download Nagarik App
Download Nagarik App