१५ असार २०८१ शनिबार
image/svg+xml
सम्पादकीय

सगरमाथा प्रालि

टाशी र आङफुर्बा सगरमाथा आरोहणको साउथ कोलमा छन्। न कुनै गोरा साहेब, न दाता, न बिमा, न त आरोहणका लागि आवश्यक पर्याप्त सामग्री। हिजोसम्म विदेशी टोलीका सहयोगी हुने उनीहरू आज आफैं एक्सिपिडिसन स्टाइलमा नभई अल्पाइन स्टाइलमा सगरमाथा आरोहणको तयारीमा छन्।

त्यहीबेला उनीहरूले शरीरको एउटा मसलले कामै नगरे पनि सगरमाथाको टुप्पोमा पुगेरै छाड्ने जापानी हजुरआमा भेट्छन्। त्यसपछि चस्मा, जनै र धोती लगाएको लट्ठी टेक्दै उक्लिरहेका पण्डित द्रोणप्रसाद गुरु देख्छन्, जो चुचुरोमा होम लगाउन चाहन्छन्। 

थुप्रै सहयोगीसहित आइरहेका अंग्रेज कर्नेलसँग पनि उनीहरूको जम्काभेट हुन्छ, जसलाई ब्रिटिसराज शैलीमा चुच्चो टेक्नु छ। चुचुरोमा चंगा उडाउने लक्ष्य बोकेर काठमाडौं ओमबहालका हीराकाजीले पनि यहाँसम्मको यात्रा तय गरेका छन्।

अस्ट्रियाका नामुद आरोही राइन्होल्ड मेस्नर त पछाडि फर्केर आरोहण सफल पार्ने अभियानमा छन्। राजविराजकी कौशल्या सिंह टाउकामा टोकरी बोकेर अनि बझाङकी सीतादेवी रोकाया डोकोमा भारी बोकेर शिखर टेक्ने पहिलो महिला बन्न चाहन्छन्। अनि सुरु हुन्छ, धकेलाधकेल आरोहण यात्रा। जसोतसो शिखर पुगेका उनीहरू मजाले फोटोसेसन गर्छन्, सपना साकार भएझैं खुसी साट्छन्।

यो दृश्य पढिरहँदा हामीलाई सगरमाथाको आरोहणको ताजा तस्बिर सामुन्ने आउँछ। यही त भइरहेको छ हिजोआज। तर लेखकका लागि यो आख्यान वास्तविकताको पूर्वानुमान थियो या व्यंग्यमिश्रित सूक्ष्म दृष्टि ? जे होस्, आजभन्दा १३ वर्षअघि बालबालिकाका लागि भनेर कनकमणि दीक्षितले लेखेको र रातो बंगला किताबले छापेको सचित्र पुस्तक ‘जसै गरी सगरमाथा’ को कथा अहिले सत्य बनेको छ।

सगरमाथा आरोहणको योजनाबद्ध संघर्ष कथा सय वर्षअघि सन् १९२१ बाट सुरु हुन्छ। दुईपटकको असफलताबाट पनि हार नमानेपछिको सन् १९२४ को तेस्रो प्रयासमा चुचुरो नजिकै पुगेर पनि बेलायती आरोहीद्वय जर्ज म्यालोरी र एन्ड्रियु अरभिन दुःखद नियतिसँग साक्षात्कार हुन पुग्छन्, सगरमाथाको काखमा विलीन हुन्छन्। त्यसको २८ वर्षपछि मात्र हाम्रा तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका एडमन्ड हिलरीले चुचुरो टेक्ने चुनौतीमा सफलता हासिल गर्छन्, अदम्य साहसको प्रतीक बन्छन्।

तथ्यांक भन्छ, सन् १९५३ देखि आजसम्मको ७१ वर्षे अवधिमा सगरमाथा आरोहण गर्नेको संख्या १२ हजार नाघिसकेको छ। नेपालबाट ८ हजारभन्दा बढी र तिब्बतबाट झन्डै चार हजारले यसको चुचुरो चुमिसकेका छन्। तर रोचक त के भने सन् १९५३ देखि १९९२ सम्मका वर्षहरूमा भने सफल आरोहणकर्ताको संख्या केवल ३९४ मा सीमित थियो। यो तथ्यांकको अर्थ के त ? विश्लेषकहरू यसलाई ‘सगरमाथा व्यवसाय’सँग जोडेर हेर्छन्। जसै सन् १९९२ देखि सगरमाथामा पहिलोपटक व्यावसायिक रूपमा आरोहण थालियो, त्यसपछि यो शिखरमा ग्राहक र आरोहण दलका सदस्यहरू चढ्न थाले। सगरमाथा अद्वितीय साहसीको ‘तीर्थस्थल’भन्दा बढी सोख र रहर गर्नेहरूको ‘कीर्तिमानी थलो’ बन्न पुग्यो।

यसो भनिरहँदा अतिशयोक्ति लाग्न सक्ला तर आज सगरमाथा आरोहण हुनेखानेको रोमाञ्च बनेको छ। व्यावसायिक कम्पनीहरूको मद्दतमा जोकोही सगरमाथा चढ्न सक्ने भएका छन्। ‘जसै गरी सगरमाथा’ कै शैलीमा विवाह गर्न सगरमाथा, मधुमास मनाउन सगरमाथा, जन्मोत्सव मनाउन सगरमाथा, सबैभन्दा बढी उमेरमा सगरमाथा, श्रीमान्-श्रीमती एकैपटक सगरमाथा, दुवै कान नसुन्ने, आँखा नदेख्ने, दुवै खुट्टा नहुने, आफ्नो देशमात्र नभई प्रदेश, जिल्ला, नगर, गाउँ, जाति, गोत्रमै पहिलोपटक सगरमाथा, कुनै एक असाध्य रोग लागेका व्यक्ति सगरमाथा, समावेशी–सगरमाथालगायत अनेकन् ‘कीर्तिमान’ जोडिएर आउन थालेका छन्।

यसक्रममा सगरमाथामा व्यस्त सडकमा सुनिएझैं ट्राफिक जाम भएको तस्बिर आउन थालेका छन्। झन्डै दुई सय आरोहीको शव सगरमाथामै रहेका मात्र होइन, फोहोर र मलमूत्रले अर्को ‘सगरमाथा’ बनाएको खबर पनि सुनिन थालेको छ। सगरमाथालाई सम्मानित होइन, अत्यन्तै सस्तो बनाउने, पवित्र होइन विकृत तुल्याउने धन्धाको साधन बनाएको गम्भीर आरोप पनि सरकारलाई लाग्न थालेको छ। पछिल्लो समय यस्तो गुनासो पर्यावरणप्रेमीले मात्र होइन, सर्वोच्च अदालतले समेत लगाएको छ। र, अन्धाधुन्ध सगरमाथा आरोहणले ल्याएको विकारप्रति सरकारलाई विभिन्न निर्देशनसमेत दिएको छ।

त्यसो भए के गर्ने त ? अहं प्रश्न हो यो। अल्पाइन आरोहीहरू सगरमाथामा व्यावसायिक आरोहणले यसको प्राकृतिक गरिमा समाप्त पार्ने तर्क गरिररहेका छन्। उनीहरू जसरी पनि बढीभन्दा बढी राजस्व असुल्ने नियतले सरकारले बनाएका कानुनहरूको खिलाफमा छन्। तर वैदेशिक ऋणबाट सरकार चलाउन बाध्य सरकारलाई हाम्रा हिमालहरूको राजस्वले खास अर्थ राख्छ। स्थानीय सरकारको विकासमा पनि हिमालको आम्दानीले योगदान पुर्‍याइरहेकै छ। व्यवसायीका लागि यो स्वाभाविक हो, जतिसक्दो धेरैलाई जसरी हुन्छ, शिखर पुर्‍याउनु उनीहरूको धर्म, कर्म र फल सबै हो।

तर राज्यको संकीर्ण र स्वार्थी मानसिकतामा नघुसेको कुरा, सगरमाथा हाम्रो मात्र होइन, विश्वकै सम्पदा हो, जसको तुलना आज राज्यले पाइरहेको नगण्य आर्थिक लाभसँग हुनै सक्तैन। सगरमाथाको महत्त्व संसारकै सर्वाधिक अग्लो हिमाल हुनुमा मात्र छैन, यी हिमशृंखला त संसारकै पानीका प्रमुख स्रोत हुन्। अहिले हामीले महसुस गरिरहेको उखुम गर्मीलाई बढ्न नदिने प्राकृतिक देन हुन्। जलवायु परिवर्तनको विनाशबाट हामीलाई बचाउने शस्त्र हुन्।

त्यसैले हाम्रा सरकारहरूले यस्तो सन्तुलित नीति अपनाउनुपरेको छ, जहाँ सगरमाथा पनि बचोस्, आरोहणको आत्मसम्मान पनि स्थापित होस्, हिमाली जनताले त्यसको लाभ पनि पाइरहून् र गरिब देशको आम्दानी पनि भइहोस्। यसका लागि हिमालमा पैसापैसा देख्ने आजका व्यवसायी र सरकारी अधिकारीका आँखामा लागेको पट्टी खोलिनुपर्छ। भोलिका पुस्ताका लागि पनि हिमाल बचाइराख्नुपर्छ। बिम्बमै सही, हाम्रा कवि माधवप्रसाद घिमिरेले ‘नेपाली हामी रहौंला कहाँ, नेपालै नरहे, उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे’ भनी लेखेको यसै होइन भनी हामीले बुझ्नुपरेको छ।

प्रकाशित: २० जेष्ठ २०८१ ०६:०६ आइतबार

Download Nagarik App
Download Nagarik App