१५ असार २०८१ शनिबार
image/svg+xml
सम्पादकीय

बालेन, कान र काठमाडौं

शनिबार सञ्चारमाध्यमहरूमा काठमाडौं महानगरपालिकाका युवा मेयर बालेन्द्र साह (बालेन) फ्रान्समा कान सहरमा आयोजित ७७ औं कान फिल्म फेस्टिभलको रेड कार्पेटमा हिँडिरहेको खबर सार्वजनिक भयो। चलचित्रकर्मीका लागि कानको निमन्त्रण सम्मानसँगै आफ्नै समुदायसँग साक्षात्कार हुने पर्वकै बराबर हुने गर्छ। तर, हाम्रा मेयर आफ्नो कार्यगत क्षेत्र र जिम्मेवारी नहुँदानहुँदै किन व्यस्त समय खर्चेर चलचित्र महोत्सवमा गए ? समाचारका अनुसार समकक्षी कानका मेयर डेभिड लिसनार्दको निमन्त्रणामा उनी त्यहाँ पुगेका हुन्। तर, फ्रान्सको त्यो दक्षिणपूर्वी कुनोमा अरू समय र सन्दर्भमा पनि जान त सकिन्थ्यो होला नि ? यी र यस्ता जिज्ञासालाई खारेज गरिहाल्न पनि मिल्दैन । तर, बालेन कान पुगिसकेका छन्। त्यसैले अब उनी त्यहाँ किन पुगेभन्दा पनि उनले त्यहाँबाट के–के सिक्न सक्छन्, त्यसबाट काठमाडौं महानगर र पुरै मुलुकले कसरी लाभ लिन सक्छन् भन्ने दिशामा विमर्श गरिनु उचित हुनेछ।

पहिलो त प्राचीन ग्रिक सभ्यताको समेत झलक पाइने फ्रान्सको यो पुरानो सहर कान पर्यटकीय दृष्टिमा समेत देशकै प्रमुख सहरमध्ये एक हो, काठमाडौंजस्तै। त्यसो त काठमाडौं र कानका आधारभूत चुनौती नै अलग छन्। त्यहाँ नागरिक दायित्व र करदाता संरक्षण प्रमुख मुद्दा छ तर हामीकहाँ भौतिक विकास, पूर्वाधार र नागरिकका लागि आधारभूत सेवासुविधाकै जोहो दुरुह बनिरहेको छ। तर, कान सहरले कसरी ती समस्यासँग संघर्ष गरेर आजको विकाससँग आत्मसात् गर्न सक्यो ? मेयर बालेनका लागि त्यो सिकाइ हुन सक्छ। आजका कानवासीका समस्या भोलि काठमाडौंवासीका पनि हुन सक्छन्, त्यसतर्फ पनि उनको ध्यान पुग्नु जरुरी हुनेछ।

र्‍यापर, इन्जिनियर र मेयरको ख्यातिका लागि ठीक एक वर्षअघि द न्युयोर्क टाइम्सले व्यक्तिचित्र नै छापेर चर्चित गराइदिएकाले बालेनका लागि कानका मेयर लिसनार्द स्वयं पनि एक पाठ हुन सक्छन्। राजनीति सिक्दै, बुझ्दै उपमेयरबाट सन् २०१४ मा पहिलोपटक कानका मेयरमा निर्वाचित लिसनार्दले २०२० मा भएको दोस्रो कार्यकालको निर्वाचनमा ८८ प्रतिशत मत ल्याउँदै ऐतिहासिक विजय हासिल गरेका थिए। राजनीतिको विगत नभएर पनि स्वतन्त्रकै हैसियतमा प्रशस्त मतले मेयरमा निर्वाचित बालेन आफूलाई राजनीतिकर्मी नै बनाइराख्न चाहन्छन् भने लिसनार्दको नेतृत्व अनुभव पनि उनका लागि मननयोग्य हुन सक्छ। तर, बालेनको कान कार्पेटबाट सबैभन्दा बढी उत्साही कोही छन् भने ती चलचित्रकर्मी नै हुन्। र, उनीहरूको भनाइमा मेयर बालेनले कानको भव्यताबाट नेपाल लिएर आउन सक्ने महŒवपूर्ण र खास चिज पनि कानसँगै जोडिएको छ। के कान महोत्सवबाट फर्किदा मेयर बालेनसँग काठमाडौंलाई पनि ‘अर्को कान’ बनाउने सपना हुनेछ ? यस्तो महŒवाकांक्षा हुनेछ, जसले काठमाडौंलाई पनि विश्वका कलाकर्मीको एक गन्तव्य बनाओस् ?

कतिपयलाई यो अतिशयोक्ति पनि लाग्न सक्ला। तर, हामी काठमाडौंवासीसँग यति भन्ने र गर्ने आत्मविश्वास छ। र, यसको आधार पनि निर्माण भइसकेको छ। काठमाडौंमा अबको ठीक १० दिनपछि हुने २१औं काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) यस्तो एउटा महोत्सव हो, जसमा विश्वभरिका गैरआख्यान र आख्यान चलचित्रहरू प्रतिस्पर्धाका लागि आउँछन्। प्रत्येक दुई वर्षमा हुने फिल्म साउथ एसिया (एफएसए) अर्को मञ्च हो, जहाँ यसैगरी हाम्रा छिमेकी राष्ट्रका चलचित्रकर्मीहरू आफ्ना साझा कर्म र कठिनाइलाई आपसमा साटासाट गर्छन्। फोटो काठमाडौं, काठमाडौं ट्रिएना काठमाडौंमा हुने यस्ता दुर्लभ कला महोत्सव गर्छन्, जहाँ विश्वस्तरका कृति प्रदर्शन गरिन्छन्। ज्याजमान्डु अर्को सफल प्रतियोगिता हो। यस्ता अरू पनि पहल छन्, जसले सभ्यता र सम्पदाको यो सहरमा सुन्दरता थपेका छन्।

आधारसँगै काठमाडौंसँग यस्तो ठुला महोत्सवहरू आयोजन गर्ने वातावरण पनि छ। जसरी इटालीको भेनिस फिल्म फेस्टिभलमा मुसोलोनी र हिटलरको हस्तक्षेपपछिको विद्रोहले सन् १९४६ मा कान फेस्टिभल स्थापनामा मद्दत ग¥यो, छिमेकी देशहरूमा बढिरहेको अलोकतान्त्रिक र धार्मिक अतिवादको राजनीतिविरुद्ध काठमाडौं त्यस्तै प्रतिरोधको सहर बन्न सक्छ। सबै मत र वादसँगको समभाव, सहिष्णु र सुरक्षित सहर बन्न सक्छ।

वास्तविकता के भने कतिपय अर्थमा काठमाडौंमा राज्यको प्रत्यक्ष सहयोगबेगर नै वर्षौंदेखि यस्तो अभ्यास पनि हुँदै आइरहेका छन्, जहाँ भारत, पाकिस्तान, श्रीलंकामा भन्न नसकिने कुरा भनिएका छन्, गर्न र देखाउन प्रतिबन्धित सिर्जना हाकाहाकी प्रदर्शनमा आइरहेकै छन्। तर, राज्यको निरन्तरको उदासीनताले केही संस्था, दातृ निकायमा भर परेका यस्ता पहलकदमी यतिबेला लरखराएका छन्। कति त एकाध वर्ष चलेर बन्द पनि भएका छन्। कतिले धुकधुकीसम्म बचाएका छन्।

आशा छ, कान दर्शनबाट फर्किएपछि मेयर बालेनले आफ्नो नगरले बनाएको दक्षिण एसियाकै सांस्कृतिक राजधानीको ‘सफ्ट पावर’को शक्तिमा विश्वास गर्नेछन्, यो पहिचान बचाउन लागिपर्नेछन्। काठमाडौंमा भइरहेका र हुने यसखाले उत्सवहरूलाई जोगाउन उदार मनले हात फैलाउनेछन्, सँगै सरकार र राज्यका अन्य निकायका लागि पनि उदाहरण बन्नेछन्।

यो पनि आग्रह छ कि कान पुगेका हाम्रा मेयर बालेन आउँदो मे २९ मा किम्फ पनि पुगून् !

प्रकाशित: ६ जेष्ठ २०८१ ०६:०२ आइतबार

Download Nagarik App
Download Nagarik App