१० फाल्गुन २०८० बिहीबार
सम्पादकीय

पवित्र सम्पदा अपवित्र साँठगाँठ

लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामा अत्यन्तै विवादित व्यक्ति हुन्। खासमा उनी जे गर्छन्, त्यसले विवाद सिर्जना गर्छ। विवादास्पद व्यक्ति हुँदाहुँदै पनि उनलाई किन जिम्मेवारीका पदमा पुर्‍याइन्छ भन्ने प्रश्न आफैंमा उठेको छ। उनी विगतमा हातहतियार, अकुत सम्पत्ति आर्जन, दोहोरो नागरिकता, राहदानी आदि अभियोगमा पक्राउ परेका व्यक्ति हुन्। विवादास्पद अतीत भएका व्यक्तिलाई लुम्बिनी विकास कोषको जिम्मेवारी दिएर सरकारले कस्तो सन्देश दिन खोजेको हो? लुम्बिनीस्थित रामग्राम ९९ वर्षका लागि निजी कम्पनीलाई दिने गरी सम्झौता भएपछि सुरुदेखि नै विवाद भइरहेको छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले आइतबार उक्त सम्झौता खारेज गर्न निर्देशन दिइसकेको छ। सम्झौता खारेज गर्ने निर्देशन दिनुको कारण प्रक्रिया कानुनसम्मत नहुनु र राज्यलाई दीर्घकालीनरूपमा हानि–नोक्सानी पुर्‍याउने देखिनु हो। यो निर्देशनले पनि व्यक्तिको गैरजिम्मेवार प्रवृत्ति प्रकट हुन्छ।

ल्हारक्यालले गरेको विवादास्पद सम्झौता प्रोमिस्ड ल्यान्ड प्राइभेट लिमिटेडसँगको हो। यो कम्पनी प्रधानमन्त्री पुष्पकमल दाहालका घरबेटी शारदाप्रसाद अधिकारीका छोरा निकेशको हो। प्रधानमन्त्रीका घरबेटीकै छोराको कम्पनीले यस्तो सम्झौता गर्न पाउने अवस्था शक्ति र पहुँचका आधारमा सिर्जित भएको हो। शारदाप्रसाद आफैं पनि विभिन्न ठेक्का सम्झौता गरेर पालना नगर्ने व्यक्ति हुन्। शक्तिकेन्द्रसँगको पहुँचका आधारमा उनले ठेक्कापट्टामा एकलौटी गर्दै आएका छन्। उनकै छोराको कम्पनीले पनि फेरि उसैगरी सम्पदास्थलको महत्त्वपूर्ण जग्गाा पाउने अवस्था कसरी आउँछ ? यो भनेको सत्तारुढ दलका नेताको प्रभाव हो। र, ल्हारक्यालको नियुक्ति पनि यस्तै काम गर्न गराउनकै निम्ति भएको हो भन्नेमा द्विविधा छैन। सम्पदास्थलका जग्गा आफ्ना आसेपासेलाई दिनै पर्ने कस्तो बाध्यता हो ? यो बाध्यताभन्दा पनि मिलेर सबै क्षेत्रमा लुटतन्त्र चलाउने प्रवृत्ति हो।

सम्पदा राज्यको साझा सम्पत्ति हो। सम्पदालाई अन्तर्राष्ट्रिय चासोका रूपमा समेत हेरिन्छ। लुम्बिनी त विश्व सम्पदा हो। यो वैभवलाई अरू कसैसँग तुलना गर्न मिल्दैन। यही कारण सम्पदाहरू विश्वका सबैको आकर्षणको विषय बन्ने गर्छन् र यो व्यवस्थापन गर्न जान्दा मुलुक कायापलट गर्न सक्ने स्रोतसमेत हो। हामीले भने यस्तो महŒवपूर्ण सम्पदा पाएर पनि मुलुकका निम्ति केही गर्न सकेनौं। काठमाडौँ उपत्यकाभित्रका पशुपतिनाथ, बौद्धनाथ, स्वयम्भूनाथ, काठमाडौँ, भक्तपुर र पाटन दरबार क्षेत्र, चाँगुनारायण विश्व सम्पदा सूचीमा सूचीकृत छन् भने मोफसलका सगरमाथा र चितवन राष्ट्रिय निकुञ्ज अनि लुम्बिनी पनि यस्तो सूचीमा सूचीकृत छन्।

उसै त कहिले स्वरूप बिगारेको, कहिले जीर्णोद्धारको प्रक्रिया नमिलेको त कहिले मासिनेखालका गतिविधि गरेका भन्दै नेपालका सीमित विश्व सम्पदालाई जोखिमको सूचीमा राख्ने चेतावनी सम्बन्धित निकायले दिँदै आएको छ। यस्तो अवस्थामा भएका सम्पदालाई बचाउन र तिनको मर्यादा कायमै राख्न थप मेहनत गर्नुपर्नेमा यस्तै यस्तै विवादित काम गर्नुले हाम्रा सम्पदा झनै जोखिममा परेका छन्।

यतिखेर ल्हारक्यालमाथि लुम्बिनीको अस्तित्व नै संकटमा पार्नेखालका गतिविधि गरिरहेका आरोप लागिरहेको छ। नियमविपरित विभिन्न संरचना निर्माण गर्ने, मायादेवी मन्दिरको डिजाइन परिवर्तन गरी गुम्बा बनाउने जस्ता कार्यमा उनी संलग्न देखिएका छन्। पछिल्लोपटक प्रधानमन्त्रीका घरधनीको कम्पनीलाई दिन सम्झौता गरिएको रामग्रामचाहिँ बुद्धको अस्थि धातु रहेको स्थान हो। हुन त उनी यो पदमा नियुक्त हुँदा नै सचेत वर्गले विरोध जनाएका हुन् तर प्रधानमन्त्री स्वयंले काँध थामेपछि सबैका विरोध निस्तेज भएका थिए।

मुख्य कुरा लुम्बिनी जस्तो पवित्र स्थलमा ल्हारक्याल जस्ता व्यक्तिको नियुक्ति नै गलत थियो। अर्को कुरा प्रधानमन्त्रीसँग पटक–पटक नाम जोडिएर आउने उनका घरधनी यो काण्डमा पनि मुछिएपछि त्यसको जिम्मेवारी ल्हारक्यालले मात्र लिएर पुग्दैन, प्रधानमन्त्री स्वतः जोडिन्छन्। त्यसैले अब ल्हारक्याल प्रवृत्ति निर्मूल पार्न प्रधानमन्त्री स्वयं अग्रसर हुनुपर्छ। अन्यथा उनीमाथि ठडिएको औँलो पनि कायमै रहनेछ।  

प्रकाशित: १ फाल्गुन २०८० ०६:०४ मंगलबार

Download Nagarik App
Download Nagarik App