coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
सम्पादकीय

भ्रष्टाचारविरुद्ध अभियान आवश्यक

अहिलेका चर्चित सर्जक प्रकाश सपुतको ‘शकम्बरी’का पंक्ति ‘तिम्लाई कानमा झुम्काना कल्ले किन्दियो’ निकै चर्चामा छ। त्यही शैलीमा नागरिकले वर्तमान सत्ता राजनीतिको केन्द्रमा रहेकाहरूलाई सोध्न थालेका छन्-‘करोडौं पर्ने बंगला तिम्लाई कल्ले किन्दियो?’

नक्कली भुटानी शरणार्थी प्रकरण अगाडि बढ्दै जाँदा ‘लहरो तान्दा पहरो नथर्किने’ स्थिति आउँदै छ। यो परिस्थिति बुझेर नागरिक समाज सडक आन्दोलनमा सक्रिय हुन थालेको छ। राजनीति र कर्मचारीतन्त्रको उच्च नेतृत्व यसमा संलग्न भएको तथ्य खुल्दै जाँदा निष्कर्षमा पुग्न नसक्ने खतरा बढ्दै गएको छ। राजनीतिक क्षेत्रमा मौलाएको अपारदर्शी व्यवहार नै अहिलेको विकृतिको कारक हो। विशेष गरी यस क्षेत्रलाई आफ्नो हातमा लिन विचौलिया तत्वले दुरूपयोग गर्दै आएको छ। नीतिगत भ्रष्टाचारमा राजनीतिक क्षेत्र संलग्न भएकै कारण स्थिति नकारात्मक हुँदै गएको हो।

देशमा अनियमितताविरुद्ध नागरिक समाजले खबरदारी नगर्ने हो भने विकृतिको अन्त्य हुने छैन। यसपटक नक्कली भुटानी शरणार्थी प्रकरणले यो अवसर दिएको छ। योसँगै अन्य मुद्दामा छानबिनका निम्ति पनि आन्दोलनको आवश्यकता देखिएको छ। आफू निकट व्यक्तिलाई जोगाउन मुलुकका प्रमुख राजनीतिक दलका नेताहरूले अहिलेसम्म भूमिका खेल्दै आएका छन्। त्यसैकारण भ्रष्टाचारका ठुल्ठुला मुद्दा सार्वजनिक हुँदा पनि त्यसमा कारबाही नभएको हो। अझ यस्ता मुद्दामा प्रश्न गर्दा तिनले छाती फुकाएर जवाफ दिने गरेका छन्-‘करोड करोड हान्दिएकै हो।’

जति ठुलो प्रकरण सामुन्ने आए पनि त्यसमा छानबिन भएकै छैन। वास्तवमा राजनीतिक व्यक्तिहरू कारबाहीमा नपरेको वर्षौं भएको छ। विगतमा नेपाली कांग्रेसका नेता चिरञ्जीवी वाग्ले, जयप्रकाशप्रसाद गुप्ता, खुमबहादुर खड्का, गोविन्दराज जोशी आदिमाथि मुद्दा चले पनि अन्य धेरै यसबाट जोगिएका छन्। त्यसयता कुनै पनि नेता कारबाहीमा नपर्नु आफैमा आश्चर्यको विषय हो। तिनले अहिलेसम्म कुनै अनियमितता गरेनन् भनेर विश्वास गर्ने अवस्था छैन।

यसकारण पनि मुलुकको राजनीतिक शुद्धीकरणका निम्ति भ्रष्टाचारविरोधी सशक्त आन्दोलन यो मुलुकले खोजेको छ। विगत दशकमा जहिल्यै राजनीतिक परिवर्तनका निम्ति यो मुलुकले बलिदान गरेको छ। राजनीतिक परिवर्तनको आडमा विगतका अनियमितता जहिल्यै ओझेलमा परेका छन्। पञ्चायतले गरेका अनियमितता बहुदलकालमा छायामा परे। बहुदल कालमा पनि एउटा सरकारले गरेको अनियमितता अर्को सरकारका निम्ति आपत्तिको विषय भएन। त्यही ठाउँबाट उसले पनि कमाउने काम गरेको छ।

दक्षिण कोरिया, जापान, सिंगापुरजस्ता मुलुकमा भ्रष्टाचारविरुद्ध अभियान चलेका छन्। भ्रष्टाचारको आरोप लागेपछि बच्ने सम्भावना कम भएपछि तिनले आत्महत्या गर्नुको विकल्प हुँदैन। जापानमा ‘हाराकिरी’ नै गर्छन्। हामीकहाँ जति धेरै भ्रष्टाचार गर्‍यो, त्यति ठुलो नेता हुन पाइन्छ। भ्रष्टाचारलाई संरक्षण गर्ने नेताहरू अहिले आम नेपालीको जानकारीमा छन्। कुन नेताले कस्ता भ्रष्टाचारलाई संरक्षण गरेका छन् भन्ने खुलेकै छ। यसकारण पनि शुद्धीकरण अहिलेको सबैभन्दा ठुलो मुद्दा हो। राजनीतिक परिवर्तन भएर मात्र पुग्दैन, त्यसलाई संरक्षण गर्न पनि भ्रष्टाचारविरुद्ध सशक्त अभियान आवश्यक भएको हो।

हाम्रो मुलुकका संस्थाहरू ध्वस्त भएका छन्। बाटोघाटो, पानी, पुलपुलेसो र अन्य विकास निर्माणको अवस्था दयनीय छ। यो सबैका पछाडि भ्रष्टाचार छ। हाम्रा अस्पताल र स्कुलले सेवा पुर्‍याउन सकेका छैनन्। त्यहाँ पनि भ्रष्टाचारको जगजगी छ। भ्रष्टाचार कम हुने र भएकै स्रोतसाधनको सदुपयोग हुने हो भने नेपालले यही अवस्थामा रहनुपर्ने थिएन। तीन दशकभन्दा लामो लोकतान्त्रिक अभ्यासले पनि आम जनजीवनलाई परिवर्तन गर्न नसक्नुको खास कारण भ्रष्टाचार हो।

अहिले आएर भ्रष्टाचार विरुद्ध आम नागरिकसमेत तातेको देखिन्छ। केही अघिसम्म भ्रष्टाचार गरेर होस् वा जसरी होस् कमाउनुलाई बहादुरी मान्ने गरिन्थ्यो। विस्तारै भ्रष्टाचार गर्नेलाई घरपरिवार र समाजले पत्यार नगर्ने अवस्था आउँदै छ। देशको ठुलो स्रोतसाधन हात पारेर सीमित व्यक्तिको मात्र उत्थान हुने परिपाटी भ्रष्टाचारले ल्याएको हो। जोसुकै किनिन र बेचिन तयार भएकोजस्तो वातावरण यतिबेला देशमा छ। यसकारण पनि समाजले शुद्धीकरणको आवश्यकता महसुस गरेको हो। देशमा जसले शुद्धीकरणका निम्ति काम गर्न सक्छ, अब त्यही नै सबैको प्रिय बन्न सक्ने अवस्था आउँदै छ।

नक्कली भुटानी शरणार्थी प्रकरणबाट अहिले जुन तहको उद्वेलित अवस्था सिर्जना भएको छ, त्यो हिजो पनि आउनुपर्ने देखिएको हो। यस्ता प्रकरण कैयन् पटक सार्वजनिक भएका हुन्। अहिले आएर बल्ल यसको गहिराइ बुझ्न थालेको जस्तो लाग्छ। त्यति मात्र होइन, अन्तर्राष्ट्रिय रूपमै नेपालको बदनामी भएको छ। देशमा सबैजसो भ्रष्टाचार प्रकरणमा उपल्लो राजनीतिक नेतृत्व संलग्न भएको देखिँदै छ। मुहान ठिक हुने हो भने सबैतिर ठिक हुन्छ। राजनीतिक नेतृत्व नै गडबडीमा संलग्न भएपछि स्वाभाविक रूपमा विकृतिले ठाउँ पाउँछ।

हाम्रो मुलुकमा यतिबेला विकृतिविरुद्ध सशक्त ढंगले लाग्ने राजनीतिक व्यक्तिको सर्वथा अभाव देखिएको छ। आम नागरिकले विश्वास गर्न सक्ने राजनीतिक नेतृत्वको परीक्षा यतिबेला भइरहेको छ। जो यसमा उत्तीर्ण हुन्छन्, तिनले स्वाभाविक रूपमा आगामी दशकमा देशको नेतृत्व पाउने निश्चित छ। विगतको सडकछाप जिन्दगी विना कुनै उद्यम अहिले कुलिनतन्त्र हाँक्ने स्थितिमा पुगेको छ। यसमा आम नागरिकले अवश्य प्रश्न गर्नु पर्छ। यसैका निम्ति आन्दोलन आवश्यक भएको हो।

प्रकाशित: ३१ वैशाख २०८० २३:५६ आइतबार

Download Nagarik App
Download Nagarik App