coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
सम्पादकीय

मिठो महको तीतो कथा

अमृततुल्य नेपाली महले बजार पाएको छैन। न्यून गुणस्तरको विदेशी महका निम्ति भने यहाँ बाटो खुला छ। स्वदेशी किसानको उत्पादनले बजार नपाएपछि स्वाभाविकरूपमा ती निरुत्साहित हुन्छन्। नेपाली उत्पादन गुणस्तरीय छ। यहाँ उत्पादन लागतका कारण केही महँगो छ। तर भारतबाट यहाँ आउने महको गुणस्तरमा ढुक्क हुन सकिँदैन। भारतमै पनि महका कैयन् ब्रान्ड भरपर्दा नरहेको समाचार यसअघि आइसकेको छ। स्वदेशी उत्पादनको गुणस्तर कायम गर्दै त्यसलाई नेपाली बजारमा सहजरूपमा पुर्‍याउन सकिएको छैन। त्यसैगरी विदेशी बजारमा पनि नेपाली गुणस्तरीय मह पुर्‍याउन सक्दा व्यापार घाटा सन्तुलनका निम्ति थोरै भए पनि योगदान हुन सक्छ।

‘टाइम्स अफ इन्डिया’ दैनिकका अनुसार सन् २०२१ मा भारतका केही चर्चित मह ब्रान्डमै समस्या रहेको जानकारी त्यहाँको चर्चित अनुसन्धान संस्था सेन्टर फर साइन्स एन्ड इन्भायरोमेन्ट (सिएसइ) ले सार्वजनिक गरेको थियो। त्यहाँको खाद्य सुरक्षा तथा मापदण्ड हेर्ने निकाय फुड सेफ्टी एन्ड स्टान्डर्ड अथोरिटी अफ इन्डिया (एफएसएसएआइ) ले महमा भएको मिसावट रोक्न पर्याप्त ध्यान दिन नसकेकोसमेत समाचारमा उल्लेख थियो। मापदण्ड पूरा गर्न नसक्नेमा त्यहाँका चर्चित ब्रान्ड डाबर, पतञ्जली, अपिस, झण्डु, वैद्यनाथ, हितकारी, दादेव, इन्डिजिनियस, हाइ हनी र सोसाइटी न्याचुरल रहेका थिए। भारतमा महबारे त्यतिबेला निकै ठूलो होहल्ला भएको हो। त्यो चर्चाले नेपाली बजारलाई छुने कुरा भएन। यहाँका कुनै पनि निकायले भारतीय महलाई छुने आँट गरेनन्। यहाँ निरन्तर मह आइरह्यो।

तरकारीको विषादी जाँच गर्नसमेत नसक्ने सरकारी संयन्त्रले महको जाँच गर्ने परिकल्पना भएन। भारतीय ब्रान्डका मह गुणस्तरयुक्त छैनन् भन्ने जानकारी भए पनि त्यो निरन्तर आइरहेको छ। गुणस्तरहीन मह आइरहँदा एकातिर त्यसले जनस्वास्थ्यलाई हानि गर्छ भने अर्कोतिर नेपाली उत्पादन मर्छ। यस्तो स्थितिलाई ध्यानमा राखी सकेसम्म गुणस्तर जाँच गर्नुपर्ने देखिएको छ। नेपाली किसानले आग्रह पनि गरेका छन् विदेशी ब्रान्डको महको भन्सार महसुल बढाइयोस्। यसो भयो भने नेपाली उत्पादनले पनि तीसँग प्रतिस्पर्धा गर्न सक्छन्। विदेशी वस्तु रोक्न सकिन्न भने भन्सार बढाउन त सकिन्छ।

नेपाली बजारमै पनि भएको महको गुणस्तरमा विश्वास गर्ने आधार दिनुपर्छ। केहीअघि ज्याठामा कम्पनी नै खडा गरी नक्कली मह बिक्री गरिरहेको अवस्थामा एकजना पक्राउ परेका थिए। ती व्यक्ति पक्राउ परे पनि यस्तै गरी झुक्याएर गुणस्तरहीन सामान बिक्री गर्ने नेपाली बजारमा छ्याप्छ्याप्ती छन्। तिनलाई नियन्त्रण गर्न सक्ने संयन्त्र यहाँ छैन। विदेशबाट म्याद गुज्रेका चकलेट र अन्य खाद्य सामग्री ल्याएर नयाँ मिति टाँसेर बेच्नेलाई त सरकारले केही गर्न सक्दैन भने महलगायतका वस्तुको यो अवस्था विचारणीय छ। प्रायः गुणस्तर परीक्षण गर्ने विषय आयो भने जनशक्ति नभएको भनी टार्ने गरिएको छ। नेपालमा बेरोजगारी छ। पढेका मानिसले काम पाएका छैनन्। जनशक्ति भर्ना गरेर काम अगाडि बढाए हुन्छ।

बजारमा स्वदेशी नक्कली र आयातित सस्तो मह सजिलै पाइने भएपछि यहींको गुणस्तरीय उत्पादन खेर जान्छ। चितवन, सर्लाहीलगायतका जिल्लामा मह उत्पादन गर्ने किसान यतिबेला आफ्नो उत्पादन बिक्री नभएका कारण रनभुल्ल छन्। यो वर्ष उत्पादन भएको करिब तीन हजार टन मह बिक्री नहुनु भनेको आफैँमा किसानका निम्ति घाटा हो। एकातिर धेरैजसो किसान पेसाबाटै पलायन भइरहेका छन् अर्कोतिर बजारमा गुणस्तरीय उत्पादन आउनबाट रोकिएको छ। राजधानी काठमाडौँमै पनि धेरैले गुणस्तर सुनिश्चित भएको मह पाए किनेर खाने थिए। यहाँ कैयन्ले गुणस्तीय मह नपाएका कारण पनि खुम्चिएर बस्नुपरेको छ।

मह पनि गैरकानुनी बाटोबाट समेत देशमा भित्रने गरेको छ। औपचारिक बाटोबाट करिब १४ सय मेट्रिक टन मह आयात भएको छ। देशभित्रै महको उत्पादन चार हजार मेट्रिक टन हुने गरेको छ। देशभित्रको महकै मूल्यमा मिल्ने गरी बाहिरको महलाई पनि भन्सार लगाउने हो भने प्रतिस्पर्धा गर्न सजिलो हुन्छ। गैरकानुनी बाटोबाट यहाँ मह आयो भने स्वतः त्यो सस्तो हुन्छ। यसैकारण नेपाली किसानको मह बिक्री नभएको गुनासो गरेका छन्। नेपालले गत वर्ष मात्र ३० करोड ४० लाख रुपियाँको मह आयात गरेको तथ्यांक छ। यो वर्ष पनि ५ लाख ३ सय ९२ किलोग्राम मह आयात भइसकेको छ। यति मह आयात गर्न पनि ११ करोड ७८ लाख रूपैयाँ देशले खर्च गरेको छ। यो रकम ठूलो नभए पनि मह किसानले स्वदेशी उत्पादन बिक्री गर्न पाउने हो भने तिनलाई राहत हुन्छ। देशभित्रै उद्यम गर्ने वातावरण बन्छ। हाम्रो मुलुकमा किसानले उत्साहित भएर उत्पादन बढाउन खोजे पनि घरेलु नीति सहयोगी नहुँदा तिनले निराश हुनुपर्छ।

कुनै बेला नेपालले धानचामल निर्यात कम्पनी खडा गरी विदेशमा पठाउने गरेको थियो। भारतले समेत यो कम्पनीबाट चामल किनेर खाने गरेको थियो। यो कम्पनी नै मासिने गरी मुलुक आयात गर्ने अवस्थामा पुगेको छ। त्यसैगरी पस्मिना, गार्मेन्ट, गलैँचा, अलैँची, चिया आदि निकासी गर्ने अवस्थाबाट नेपाल धेरै पर पुगिसकेको छ। नेपाली गुणस्तर बिगारेर अरूलाई फाइदा पुर्‍याउने वर्ग यसका निम्ति जिम्मेवार छ। बंगलादेशले हामीले जस्तै गार्मेन्ट बनाएर अहिले मुलुकको अर्थतन्त्रलाई नयाँ उचाइ दिइसकेको छ। हाम्रो गार्मेन्ट उद्योग बन्द गराएर कुनै पराइको बजार बनाउनतिर मुलुकका जिम्मेवार व्यक्तिहरू लागेका कारण आज व्यापार घाटामाथि घाटा भइरहेको छ। देशभित्रै उत्पादन बढाउनतिर ध्यान दिइएको छैन। जसरी पनि आफ्ना नागरिकलाई ‘खाडी’ पठाएर देशभित्र विदेशी हुल्ने प्रपञ्च भइरहेको छ।

हेर्दा सामान्य कुरा देखिन्छ तर यसैभित्र हाम्रो मुलुकलाई कमजोर बनाउने काम भइरहेका छन्। मह उत्पादन सामान्य हो तर यसैबाट हाम्रो स्वदेशीलाई मास्ने र विदेशीलाई पोस्ने नीति देखिन्छ। अन्य उत्पादनको अवस्था पनि महमा जस्तै छ। प्रत्येक व्यवसायलाई यसरी धराशायी बनाएपछि नेपाल विदेशीको एकलौटी बजार बन्ने हो। गुलियो मह उत्पादकका आँखामा नुनिला आँसु आउन नदिऔँ। देश बनाउने हो भने यस्तै सामान्य लाग्ने विषयमा मात्र ध्यान दिए पनि पुग्छ। अनि बल्ल हामी आत्मनिर्भरताको बाटोमा अग्रसर हुन सक्छौं।  

प्रकाशित: १७ चैत्र २०७९ ००:३३ शुक्रबार

Download Nagarik App
Download Nagarik App