७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
सम्पादकीय

रुस-युक्रेन युद्धको पाठ

रुसले युक्रेनविरुद्ध पूर्ण रूपमा आक्रमण गरेको एक वर्ष पूरा भए पनि युद्ध अन्त्यको सम्भावना तत्काल नदेखिनु दुःखद छ। दुवै देशबीच शान्तिवार्ताको छिटपुट प्रयास भएको देखिन्छ तर त्यो पार लाग्ने किसिमको छैन। यो एक वर्षसम्मको अवधिमा भएको क्षतिको अवस्था ज्यादै डरलाग्दो छ। मानवीय र भौतिक क्षतिको लेखाजोखा गर्न गाह्रो छ। विशेष गरी युक्रेनतर्फ धेरै मानवीय एवं भौतिक क्षति भएको छ। तर, रुसतर्फ पनि यस किसिमको क्षति नभएको होइन। दुवैतर्फ भएका क्षतिको अवस्था दुवै देशले सार्वजनिक गरेका छैनन्। यतिसम्म कि युद्धका कारण भएका मृत्युबारे आधिकारिक तथ्यांक दुवै देशले सार्वजनिक नगर्नुले पनि क्षति यकिन गर्न गाह्रो छ। तर बाहिर आएका समाचार/विवरणबाटै पनि युद्धले भयावह क्षति पुर्‍याएको अनुमान गर्न सकिन्छ।

रुस-युक्रेन युद्धको अन्त्य छिट्टै हुने कुनै संकेत नदेखिनुले पनि यसले अझै ठूलो क्षति निम्त्याउने सम्भावना देखिन्छ। दुवै पक्ष अहिलेसम्म सम्झौता गर्ने पक्षमा छैनन्। यतिसम्म कि दुवै पक्ष युद्धलाई तत्कालै बिसाउने मनस्थितिमा समेत छैनन्। रुसी आक्रमणको एक वर्ष पुगेको दिन युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जे अभिव्यक्ति दिए, त्यसले युक्रेन सम्झौता गर्ने पक्षमा देखिँदैन। जेलेन्स्कीले भनेका छन्, ‘गत फेब्रुअरी २४ मा हामी लाखौंले एक बाटो रोजेका थियौं। हामी भाग्नेछैनौं। बरु शत्रुसँग डटेर लड्नेछौं। प्रतिरोध र संघर्ष गर्नेछौं। यो एक वर्ष दुःख, पीडा, विश्वास र एकताको वर्ष थियोे। यो अपराजेयताको वर्ष थियो। हामीलाई थाहा छ, यो वर्ष हाम्रो विजयको वर्ष हुनेछ।’

जेलेन्स्कीले आगामी वर्षलाई जे जसरी विजयको वर्ष हुने दाबी गरेका छन्, त्यसले पनि उनी सम्झौताको मनस्थितिमा नरहेको प्रस्टै देखिन्छ। त्यसमाथि पश्चिमा मुलुकहरूले उनलाई जेजस्तो साथ र सहयोगको आश्वासन दिइरहेका छन्, यो अवस्थामा उनी एक्लैले चाहेर पनि सम्झौता गर्नसक्ने अवस्था छैन। बरु, पश्चिमा देशहरूले युक्रेनलाई दिएको साथले उसको हौसला बढाइरहेको छ। यता रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि सम्झौता गर्ने पक्षमा छैनन्। थोरै समयमा युक्रेनमाथि विजय हासिल गर्नसक्ने रुसको जुन अनुमान थियो, त्यो असफल भएसँगै युक्रेन युद्ध रुसका लागि प्रतिष्ठाको विषय बनेको छ। यो अवस्थामा रुस जस्तोसुकै जोखिम मोल्न तयार भएकाले पनि युद्धले अझै कठिन स्थिति सिर्जना हुने अनुमान गर्न सकिन्छ। युद्ध सुरु भएको एक वर्ष बितिसक्दा पनि युक्रेनको पूर्वी तथा पश्चिमी क्षेत्रमा भीषण लडाइँ जारी छ भने अमेरिका लगायत पश्चिमा राष्ट्रहरूले युक्रेनको पक्षमा थप सहयोग गर्ने प्रतिबद्धता र रुसविरुद्ध विभिन्न किसिमका थप प्रतिबन्ध घोषणा गरेका छन्। यसले पनि रुसलाई थप चिढ्याएको छ।

रुस र युक्रेन दुवै देशले आफ्ना सैनिकको मृत्युका विषयमा आधिकारिक तथ्यांक सार्वजनिक नगरे पनि गत डिसेम्बरमा युक्रेनका राष्ट्रपतिका सल्लाहकारले कुल १३ हजार युक्रेनी सैनिकको मृत्यु भएको स्वीकार गरेका थिए। तर यो संख्या राष्ट्रपतिका सल्लाहकारले स्विकारेको भन्दा धेरै बढी छ। बेलायती सरकारको सहयोगमा तयार पारिएको एक अध्ययन प्रतिवेदनले यो युद्धमा परी ४० देखि ६० हजार रुसी सैनिकको मृत्यु भएको जनाएको छ। राष्ट्रसंघको तथ्यांकअनुसार युद्धका कारण ७ हजारभन्दा बढी युक्रेनी सर्वसाधारणको मृत्यु भएको छ भने १२ हजार घाइते भएका छन्। राष्ट्रसंघले हताहती र घाइतेको संख्या अझै धेरै हुनसक्ने आकलन गरेको छ। युरोपियन युनियनका जस्टिस कमिस्नरका अनुसार युद्ध सुरु भएयता ६५ हजारभन्दा बढी युद्ध अपराधका घटना घटेका छन् भने युद्धका कारण ८० लाख युक्रेनी आफ्नो देश छोडेर युरोपेली मुलुकका शरणार्थी बनेका छन्। अधिकांश शरणार्थी परिवारसँग छुट्टिन बाध्य भएका छन्। यसैगरी देशभित्रै आन्तरिक रूपमा विस्थापित भएकाको संख्या ५३ लाख छ।

युद्ध सुरु भएयता युक्रेनलाई अमेरिकाले २९.८ अर्ब अमेरिकी डलर सैन्य सहयोग गरेको छ भने युरोपेली मुलुकहरूको सहयोग पनि उल्लेख्य रहेको छ। युक्रेन आक्रमणको निन्दा नगरेको भनेर आरोप लाग्दै आएको चीनले युद्ध रोक्न शान्तिवार्ताको आह्वान गरेको छ। आणविक हतियार प्रयोग नगर्न र सबै देशको सार्वभौमिकताको सम्मान गर्न तथा ‘शीतयुद्धको मानसिकता’ त्याग्न चीनले आग्रह गरेको छ। यो युद्धको विषयमा प्रस्ट दृष्टिकोण र अडान नलिएको आरोप खेप्दै आएको भारतले पनि युक्रेन युद्धको शान्तिपूर्ण समाधान खोजिनुपर्ने बताउँदै आएको छ। त्यसैका लागि संयुक्त राष्ट्रसंघको साधारणसभामा युक्रेन आक्रमणको निन्दा गर्ने प्रस्तावको मतदानमा अनुपस्थित भयो। विश्वका १४१ देशले प्रस्तावको समर्थन गरे पनि मतदानमा अनुपस्थित हुने ३२ राष्ट्रमध्ये भारत पनि एक रह्यो। यसरी युद्धको पक्ष विपक्षमा विश्व विभाजित भए पनि शान्ति वार्ताको विकल्प छैन। दुवै मुलुकले युद्धको बाटो छाडेर शान्तिमार्गमा आउनैपर्ने हुन्छ। यसमा जति ढिलाइ गर्‍यो, त्यति नै युद्धबाट हुने क्षति बढ्दै जाने हो।

चाहे सानो मुलुक होस् वा शक्तिशाली राष्ट्र, युद्धले दुवै पक्षको क्षति गर्छ नै। अझ भूराजनीतिक हिसाबले महत्त्वपूर्ण मुलुक जतिसुकै सानो भए पनि त्यहाँ युद्धको सानो झिल्को मात्रै सल्कियो भने पनि शक्ति राष्ट्रहरूको स्वार्थले त्यसलाई जटिल बनाइदिन्छ। र, अन्ततः त्यस्ता मुलुकहरूको अवस्था तहसनहस नै पारिदिन्छ। अहिले युक्रेन युद्धमा भएको पनि त्यही हो। त्यसैले युक्रेन युद्धले भूराजनीतिक रूपमा महत्त्वपूर्ण स्थानमा रहेका मुलुकहरूलाई सन्तुलित परराष्ट्र नीति लिनुपर्ने सन्देश दिएको छ। यसका साथै साना मुलुकलाई हेप्ने र जतिसुकै बेला तिनको सार्वभौम सत्ता समाप्त पार्न सकिन्छ भन्ने ठूला मुलुकको दम्भलाई युक्रेनले गतिलो जवाफ दिएको छ। आधुनिक विश्वमा देशभक्तिको असली उदाहरण युक्रेनले प्रस्तुत गरेको छ। 

प्रकाशित: १३ फाल्गुन २०७९ २३:५९ शनिबार

Download Nagarik App
Download Nagarik App