काठमाडौंसहित मुलुकका विभिन्न प्रमुख सहरमा जेनजीको प्रदर्शन जारी रहेपछि सोमबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । सेयर बजारमा सोमबार ३५.९९ अंकले घटेर २६७२.२५ अंकमा झरेको हो।
सेन्सेटिभ इण्डेक्स ५.२१ अंक, फ्लोट इण्डेक्स २.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८६ अंकले समग्र बजार प्रभावित बन्यो ।
नेप्से घटेपनि आइतबार ४ अर्ब ४० करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा सोमबार ३२० स्टकको ५९ हजार ७०४ पटकको कारोबारमा ५ अर्ब २३ करोड ३७ लाख ६६ हजार रुपैयाँबराबरको १ करोड १७ लाख १७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
हिम स्टार उर्जा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा ३९ रुपैयाँ १० पैसा बढेर ४३० रुपैयाँ ५० पैसामा कारोबार भएको छ। बाराही हाइड्रोपावरको शेयरमूल्य ५.२८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको नेपाल पुनर्बीमा कम्पनीको ३० करोड ६८ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। यूनियन हाइड्रोपावरको २४ करोड रुपैयाँभन्दा बढी र यूनिभर्सल पावरको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ।
सोमबार १३ वटै उपसमूहको परिसूचक घटेको छ।
प्रकाशित: २३ भाद्र २०८२ १७:२० सोमबार





