सार्वजनिक यातायात सेवा व्यवस्थित हुन नसकेको अवस्थामा नेपालमा राइड सेयरिङ कम्पनीहरूले सेवा दिइरहेका छन्। पछिल्लो पटक ‘इनड्राइभ’ यात्रु माझ लोकप्रिय बन्दै गएको छ। नेपाल प्रिमियर लिगसँग पनि इनड्राइभले सहकार्य गरेको छ। इनड्राइभले एनपिएलसँग सहकार्य गर्नुको उद्देश्य यसबाट यात्रुले कसरी फाइदा लिन सक्छन् र के कस्ता सेवा सुविधा पाइरहेको छ भन्नेसमेतका विषयमा इनड्राइभका नेपाल कन्ट्री रेप्रिजेन्टेटिभ रिता पोखरेलसँग नागरिककर्मी दिलीप पौडेलले गरेको कुराकानीको सम्पादित अंशः
राइड सेयरिङ कम्पनी इनड्राइभले नेपालमा कहिलेदेखि सेवा सुरु गरेको हो। यसको प्रभाव कस्तो छ?
नेपालमा सन् २०२२ देखि सेवा सुरु गरेको हो। व्यवसाय राम्रो छ। प्रयोगकर्ताले एकदम मन पराएका छन्। प्रयोगकर्तालाई स्वतन्त्र रूपमा छान्ने अधिकार दिएका छौं। कुनै वस्तु तथा सेवा किन्न जाँदा हामीले जसरी आफ्नो इच्छाले रोज्छौं। त्यसैगरी, इनड्राइभमा आफूले रोजेको सवारी साधन र आफूले तोकेको रकममा सवारी साधन प्रयोग गर्न पाउनु प्रयोगकर्ताका लागि धेरै सुविधाको विषय हो।
इनड्राइभमार्फत नेपालको कुन–कुन सहरमा सेवा दिइरहनु भएको छ? प्रयोगकर्ताको अवस्था के छ?
नेपालको काठमाडौं, भरतपुर र पोखरामा हामीले सेवा दिएका छौं। मासिक करिब १० लाख प्रयोगकर्ताले इनड्राइभको प्ल्याटफर्म प्रयोग गर्दै आएका छन्। यसबाट प्रयोगकर्ताले रुचाएको पुष्टि हुन्छ। प्रयोगकर्ता मात्र नभएर राइडरले पनि इनड्राइभको प्ल्याटफर्मलाई रुचाएका छन्। विगतका वर्षको तुलनामा वृद्धि भइरहेको छ।
इनड्राइभले नेपाल प्रिमियर लिगसँग सहकार्य गर्नुको उद्देश्य के हो?
समुदाय तथा नेपालको खेलकुदसँग जोड्न प्रिमियर लिगसँग सहकार्य गरेका हौं। एनपिएलसँग जोडिएर धेरै यात्रुलाई सेवा दिने उद्देश्य राखिएको छ। एनपिएलमा इनड्राइभको ब्रान्ड अभिवृद्धिसँगै समाजप्रतिको दायित्व पूरा गर्न पनि यसले सघाउ पुगेको छ।
राइड सेयरिङ सेवासँगै समाजप्रतिको प्रतिबद्धता पूरा गर्न पनि एनपिएल प्रिमियर लिगमा सहकार्य र साझेदारी गरेका हौं। यसले खेलकुदको विकासमा पनि सघाउ पुग्छ। इनड्राइभले सिएसआर परियोजनाका रूपमा खेलकुद मात्र नभएर शिक्षा, स्वास्थ्य क्षेत्रमा पनि सहयोग गर्दै आएको छ।
इनड्राइभले एनपिएलसँग सहकार्य गर्ने निर्णय किन गर्यो?
हामी समुदायको सशक्तिकरण गर्नुपर्छ भन्ने मूल्य, मान्यता राख्छौं। एनपिएलसँगको सहकार्यले हाम्रो खेलप्रतिको दायित्व पूरा गर्नुका साथै हाम्रा क्रिकेटप्रेमी प्रयोगकर्ताले सरल, सहज र सुलभ मूल्यमा सेवा पाउन भन्ने ध्येयले पनि सहकार्य गरेका हौं।
एनपिएल खेल हेर्न जाने दर्शकलाई इनड्राइभले के कस्ता सुविधा तथा फाइदा उपलब्ध गराउँदै आएको छ?
प्रयोगकर्तालाई किफायत, विश्वसनीय र भरपर्दो सेवा विगतदेखि दिँदै आएका छौं। त्यसमा फेयर प्राइसिङ छ। सामान्य मात्र नभएर व्यस्त समयमा पनि प्रयोगकर्ताले छनोटको अधिकार पाएका छन्।
व्यस्त समय होस् वा ‘सर्च आवर’ ड्राइभर र प्रयोगकर्तालाई छनोट गर्ने स्वतन्त्रता दिइएको छ। त्योबाहेक पनि प्रिमियर लिगमा पिकअप जोन राखिएको छ। जहाँबाट यात्रुले आफ्नो राइड लिन सक्छन्। यसबाट क्रिकेटका फ्यानहरूले सुविधा पाएका छन्।
एनपिएलसँगको साझेदारिताले स्थानीय ड्राइभरहरूलाई कसरी सहयोग पु¥याउँछ?
एनपिएल भन्नेबित्तिकै धेरै खेलप्रेमीहरू हेर्न जान्छन्। ठूलो भिडभाड हुन्छ। खेल हेर्न जाने धेरै प्रयोगकर्ता हुने भएकाले धेरै राइडरले सेवा दिन्छन्। सेवा दिएबापत धेरै आम्दानी गर्ने अवसर प्राप्त गर्छन्। राइडरसँग इनड्राइभले न्यून शुल्क लिने भएकाले आम्दानी गरेको धेरै पैसा राइडरले घर लैजान पाउँछन्। अन्य राइडर सेवा प्रदायकमा भन्दा इनड्राइभले न्यून कमिसन शुल्क लिएको छ। फेयर नेगोसेसन गर्न पाइने मोडलबाट फाइदा लिन सक्छन्। प्लाटिनम लेवलमा पुगेपछि अतिरिक्त फाइदा लिन सक्नछन्। यसमा राइडरलाई विभिन्न अफर रहेका छन्।
एनपिएल जस्ता ठूला कार्यक्रममा इनड्राइभको फेयर प्राइसिङ मोडलले कसरी अतिरिक्त मूल्य थप्छ?
जब ‘बिजी आवर’ हुन्छ अरु प्ल्याटफर्ममा मूल्य बढ्छ। सर्च प्राइसिङले प्रयोगकर्तालाई असर पारिरहेको हुन्छ। त्यो बेलामा प्रयोगकर्ताले इनड्राइभको प्ल्याटफर्ममा जुन मूल्य देख्छन् त्यो निर्धारित मूल्य हो। त्यो मूल्य परिवर्तन हुँदैन। त्यो मूल्य दुवै पक्षले सुनिश्चित गरेका हुन्छन्। यसले प्यासेन्जर र राइडरबीच ‘फेयर प्राइस’मा ‘फेयरनेस’ सिर्जना गर्छ।
एनपिएल हेर्न जाने खेलप्रेमीलाई हेर्न जाँदा र घर फर्किंदा कसरी जाने आउने भन्ने चिन्ता नहोस्। सहज मूल्य कायम होस् भन्ने नै इनड्राइभको चासो र चिन्ता हो। यसमा फेयर प्राइसिङ मोडलले धेरै सजिलो बनाएको छ।
टुर्नामेन्टको अवधिमा यात्रुहरूको सुरक्षाका लागि इनड्राइभले के कस्ता कदम चालेको छ?
इनड्राइभमा सुरक्षा भनेको फिचर नभएर प्रडक्ट हो। यो हाम्रो अनिवार्य दायित्व हो। सुरक्षालाई प्रडक्टसँग छुट्याएर हेर्न मिल्दैन। हाम्रो एप्समा जिपिएस ट्र्याकिङ सिस्टम छ। एनपिएल म्याच हेर्न इनड्राइभ प्रयोग गरेर जाँदा घरमा परिवारका सदस्यलाई राइड सेयर गरेर म यहाँ छु है भन्ने जानकारी दिन सकिन्छ। गाडी वा बाइक कतै बीचमा रोकियो भने एप्सले यात्रुलाई प्रश्न सोध्छ। तिमीलाई कुनै समस्या परेको छ भने कसैलाई सम्पर्क गर्न सक्छौ भन्ने अप्सन एप्समा आउँछ।
हाम्रो प्ल्याटफर्ममा ड्राइभरको सबै डकुमेन्ट राम्रोसँग भेरिफाइ गरेको छ। राइडर तालिम प्राप्त छन्। यात्रुको सुरक्षालाई उच्च प्राथमिकता दिएका छौं। रिभेरिफिकेस भन्ने अप्सन छ। त्यतिबेला आफ्नो फेस, सवारी साधनको फोटो लिनुपर्ने हुन्छ। कडाइका साथ भेरिफिकेसन गर्छौं। त्यसैले सुरक्षामा विशेष ध्यान दिएका छौं।
एनपिएलसँगको सहकार्यमार्फत इनड्राइभले नेपालको मोविलिटी इकोसिस्टममा कस्तो प्रभाव पार्ने लक्ष्य राखेको छ। यसले स्थानीय खेलकुदलाई कसरी प्रवद्र्धन गर्न सक्छ?
यो साझेदारीले सामाजिक रूपमा इनड्राइभ जवाफदेही छ भन्ने प्रमाणित हुन्छ। हामी व्यवसायमा फाइदाका लागि मात्र होइन सामाजिक जिम्मेवारी पनि पूरा गर्न चाहन्छौं भन्ने सन्देश दिएको छ। युवाहरूको खेलकुदप्रतिको लगावलाई प्रोत्साहन गरेको छ।
मोविलिटी इकोसिस्टमको माध्यमबाट फेयरनेस, समुदाय केन्द्रित मोडल दिगो बनाउन चाहान्छौं। इनड्राइभमार्फत राइडसेयरिड उद्योगमा फेयरनेसको नयाँ बेन्चमार्क बनाएका छौं।
एनपिएल जस्ता ठूला कार्यक्रममा इनड्राइभलाई कसरी अन्य राइड सेयरिड सेवाभन्दा फरक देख्न सकिन्छ?
हामीले एनपिएल जस्तो इभेन्टमा मात्र नभएर अरु समयमा पनि युनिक प्राइसिङ मोडल प्रयोगमा ल्याएका छौं। अरुमा सर्च प्राइसिङ छ। अल्गोरिदम छ। उच्च माग भएको बेला होस् वा बिजी आवर होस्। राइडर र यात्रुले कति तिर्ने र राइडरले कति लिने आफैं निर्णय लिन सक्छन् जुन बाध्यकारी छैन। मूल्य पारदर्शी रूपमा कायम भएको छ।
राइडसेयरिङ कम्पनीहरूले सेवा दिन के कस्ता कानुनी जटिलताहरू रहेका छन्? नीतिगत सुधारको अपेक्षा केही छ कि?
नेपाल विकासशील देश हो। हरेक कुराको नीतिगत सुधार गर्दै लैजानुपर्छ। हाम्रो देशमा पनि राइड सेयरिङको नियमन गर्न सुरु भएको छ।
सरकारी नियम अनुसार दर्ता भएर चलिरहेका छौं तर विभिन्न समयमा कानुनी जटिलता आउन सक्छन्। त्यसमा ध्यान दिनुपर्छ। उद्योगमा राइड सेयरिङ आइसकेको छ। त्यसलाई अझै परिभाषित गर्नु आवश्यक छ। छिमेकी मुलुकका कानुनहरू अध्ययन गरेर पनि सो अनुरूप स्थानीय आवश्यकता अनुसार कानुन बनाउन सकिन्छ।
राइडसेयरिड कम्पनीहरूबीचको प्रतिस्पर्धा कस्तो छ? इनड्राइभका प्रयोगकर्ताको रेस्पोन्स कस्तो पाउनु भएको छ?
राइड सेयरिङ कम्पनीहरूबीच स्वस्थ्य प्रतिस्पर्धा छ। त्यसमा हामी रमाएर सेवा दिएका छौं। यात्रुलाई छनोटको अवसर प्रदान गरेका छौं।
समय–समयमा प्रयोगकर्तासँग सेवाका बारेमा सुझाव लिने तथा सर्वेक्षण पनि गर्ने गरेका छौं। मूल्य हेर्न पाउने र गाडी छनोट गर्ने सुविधा छ। मूल्य आफैं छनोट गर्न पाउने भएकाले हतार भएको बेला बढी तिरेर जाने हतार छैन भने आफ्नो मूल्यमा जाने सुविधा भएकाले प्रयोगकर्ता निकै उत्साहित भएको पाएका छौं।
भावी योजना के छ?
प्रयोगकर्ताको आवश्यकताबारे अध्ययन गरेर के कस्ता फिचर थप गर्न सकिन्छ भनेर सोचिरहेका छौं।
इनड्राइभले रोजगारी सिर्जना गर्न कस्तो भूमिका खेलेको छ?
इन्ड्राइभमार्फत रोजगारी सिर्जना गरेको छ। मध्यपूर्वका मुलुकमा गएर मासिक ५० हजार रुपैयाँ कमाउने युवाले अहिले यहाँ मोटरसाइकल चलाएर राइड सेवामार्फत सोही बराबर आम्दानी गरिरहेका छन्। यसले मुलुकको अर्थतन्त्रमा पनि योगदान पुगेको छ। गिग इकोनोमीमा योगदान पुयाएको छ।
इनड्राइभका प्रयोगकर्तालाई यहाँको के आग्रह छ?
हाम्रो एप्सलाई रुचाउनु भएको छ। प्रयोग गर्दा कुनै गुनासो आए कम्पनीमा खबर गर्न अनुरोध छ। सुरक्षामा विशेष ध्यान दिन आग्रह गर्दछौं।
प्रकाशित: २५ मंसिर २०८२ ०८:०० बिहीबार





