१३ श्रावण २०८३ बुधबार
image/svg+xml
अर्थ

अन्नपूर्णमा १६५ मुलुकका पाहुना: पदमार्गले जोडेको विश्व

अन्नपूर्ण क्षेत्रको पदयात्रामा पुगेका पाहुना।तस्बिरः नागरिक

अन्नपूर्ण क्षेत्रमा आर्थिक वर्ष २०८२/८३ मा अहिलेसम्मकै बढि ५ लाख ८ हजार ४ सय ७६ जना विदेशी पाहुना पुगे। यही आर्थिक वर्षमा ६ लाख बढि आन्तरिक पाहुना समेत उक्त क्षेत्रको घुमघाममा गएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को भनाई छ।स्वदेशी र विदेशी गरेर आर्थिक वर्ष २०८२/८३ मा ११ लाख भन्दा बढि पाहुनाले अन्नपूर्ण क्षेत्र घुमेको एक्यापले बताएको छ।  

आर्थिक वर्ष २०८२/८३ अन्नपूर्ण क्षेत्र घुम्न पुगेका ती पाहुना १६५ मुलुकका थिए। एकवर्षमा १६५ मुलुकका पाहुनाले अन्नपूर्ण क्षेत्र घुमेको एक्यापका आयोजना प्रमुख डा. रविन कडरियाले जानकारी दिए।‘ अन्नपूर्ण क्षेत्रमा यतिधेरै मुलुकका पाहुना घुम्न पुगेका छन की ती हरेक मुलुकमा अन्नपूर्ण क्षेत्रबारेको जानकारी  पुगेको छ,’ कडरियाले भने, ‘अन्नपूर्ण क्षेत्रमा धेरै मुलुकको पहुँच पुगेको यसले देखाउँछ। सबै मुलुकका पाहुनाका लागि अन्नपूर्ण क्षेत्र पहुँचयुक्त रहेको सन्देश दिएको छ।एउटा मुलुकको पर्यटकीय रुटले विश्वलाई जोड्न सकेको यसले देखाउँछ ।’

कुनै पनि मुलुकका पर्यटकले अन्नपूर्ण क्षेत्र पहुँच भन्दा बाहिर रहेको भनेर भन्नु नपर्ने उनले बताए। यसले अन्नपूर्ण क्षेत्रमा आगामि वर्षमा अझ धेरै पाहुना भित्र्याउन सघाउने उनले बताए। 

‘जतिधेरै मुलुकका पाहुना आए, त्यत्ति नै बढि प्रचारप्रसार हुने हो। आएका पाहुनाले खिचेको फोटो र भिडियोमार्फत अन्नपूर्ण क्षेत्रको प्रवर्द्धन भएको छ,’ उनले भने, ‘सबैखाले मुलुकका पाहुनाको पहुँचको गन्तव्य रहेछ भनेर पनि यसले बुझाउँछ।’

एउटै पर्यटन क्षेत्रमा धेरै मुलुकका पाहुना घुमघामका लागि जाँदा सबै मुलुकका पाहुनाका लागि बसोबास र खानपिनको व्यवस्था रहेको भन्ने पनि यसले पुष्टि गरेको उनले बताए। अघिल्लो आर्थिक वर्ष अन्नपूर्ण क्षेत्र घुम्न गएका पाहुनामध्ये सबैभन्दा बढि भारतीय छन्।घुमघाममा गएका पाहुनामध्ये सबैभन्दा बढी भारतीय छन्। आर्थिक वर्ष २०८२/८३ मा भारतका मात्र ३ लाख ७५ हजार ७ सय ९७ जना पाहुना अन्नपूर्ण क्षेत्रमा घुमघामका लागि गएका छन्।

दोश्रो नम्बरमा रहेको चिनियाँ पाहुनाको संख्या १२ हजार ५ सय ३९ जना रहेको छ। तेश्रो नम्बरमा रहेको अमेरिकी पाहुनाको संख्या ९ हजार ८ सय ८४ जना रहेको छ।चौथो नम्बरमा रहेका बेलायतका ८ हजार ८ सय ५९ जना पाहुना अन्नपूर्ण क्षेत्र घुम्न पुगेका छन्।

त्यस्तै फ्रान्सका पाहुनाको संख्या ७ हजार ९ सय ३९ जना रहेको छ। मलेशियाका पाहुनाको संख्या ७ हजार ८ सय ४८, जर्मनी पाहुनाको संख्या ७ हजार ६ सय ३४ रहेको छ। बंगलादेशी पाहुनाको संख्या ७ हजार ४ सय ८४, अस्टेलियाका पाहुनाको संख्या ७ हजार ९५ र इजरायली पाहुनाको संख्या ६ हजार ३ सय ९८ रहेको एक्यापले बताएको छ।

‘पाहुनाको विविधताको पनि सम्मान भएको छ। धेरै भन्दा धेरै मुलुकका पाहुनाका कारण अन्नपूर्ण क्षेत्रको प्रवर्द्धन पनि त्यही अनुसार हुने गरेको छ,’ उनले भने, ‘घुम्न आएका पाहुनामा पनि विविधता छ। विविधताको सम्मान पनि भएको छ। विविधतायुक्त ती पाहुनाले फरक भाषा र तरिकाले प्रवर्द्धन गर्न पाउने भएकोले त्यसको लाभ अन्नपूर्ण क्षेत्रले लिएको छ।’ अन्नपूर्ण क्षेत्रमा विभिन्न मुलुकका पाहुना पुगेकोले विश्वका मान्छेलाई जोड्ने ठाउँ बनेको उनले बताए।

पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्ण आचार्य पनि बढि भन्दा बढि मुलुकका पाहुना घुमघाममा जाँदा त्यस क्षेत्रको प्रवर्द्धनमा सघाउ पुग्ने बताउँछन्। 

‘घुम्न आएका विदेशीले स्वदेश फर्केपछि परिवारका सदस्य र साथीभाईसँग घुमघामको अनुभव बाड्ने गर्छन। त्यसबाहेक सामाजिक सञ्जालमाफर्त पनि ती पाहुनाले तस्बिर तथा भिडियो शेयर गर्ने गरेका छन,’ उनले भने, ‘त्यसले गर्दा धेरै भन्दा धेरै ठाउँसम्म अन्नपूर्ण क्षेत्रको प्रचारप्रसार भएको छ ।’  

अन्नपूर्ण क्षेत्र सबै मुलुकका र सबैखाले पाहुनाका लागि उपयुक्त रहेको सन्देश यसले दिने उनले बताए।‘ विविधतायुक्त पाहुनाका लागि पनि त्यस क्षेत्रमा सेवा सुविधा पर्याप्त रहेको यसले पुष्टि हुन्छ।’ पदयात्राका लागि उपयुक्त भएपनि कतिपय रुटमा आफ्नो स्वादको खाना नपाउने अवस्थामा पाहुना नजान सक्ने अवस्था रहने भएपनि अन्नपूर्ण क्षेत्रमा त्यो लागु नभएको उनले बताए।

उनका अनुसार पछिल्लो समय बंगलादेशी पाहुना समेत पदयात्रामा जान थालेका छन्। पदयात्रामा जान थालेका ती बंगलादेशी पाहुनाका लागि उपयुक्त खाना पनि उपलब्ध रहेको सन्देश गएको छ।‘बंगलादेश जस्तै विभिन्न मुलुकका पाहुना जाँदा अन्नपूर्ण क्षेत्रको प्रवर्द्धनमा सबैभन्दा बढि सहज भएको छ। फरक फरक मुलुकका पाहुना फरक भाषामा त्यहाँको प्रवर्द्धन गरेका छन।नजानिदो तरिकाले अन्नपूर्ण क्षेत्रको प्रवर्द्धन भएको छ,’ उनले भने, ‘जति बढि मुलुकका पाहुना घुमघाममा आउँछन।त्यत्ति नै प्रवर्द्धनमा सघाउ पुग्छ। अन्नपूर्णको पहिचान विभिन्न मुलुकका कुनाकाप्चासम्म पुग्न पाएको छ ।’  

प्रकाशित: ७ श्रावण २०८३ १७:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App