पुस ९ गतेदेखि विराटनगरमा विराट ट्रेड एक्स्पो (औद्योगिक तथा व्यापार मेला)आयोजना हुने भएको छ । विराटनगर स्थित शान्ति चोक नजिक एक्स्पो. आयोजना गर्न लागिएको आयोजक मोरङ उद्योग व्यापार संघले जनाएको छ ।
पुस १९ गते सम्म सञ्चालन हुने एक्स्पोको मुख्य उद्देश्य राष्ट्रलाई औद्योगिकीकरणतर्फ उन्मुख गर्ने, व्यवसायीहरुको हक हितको संरक्षण गरी स्थानीय उत्पादनको प्रबद्र्धन गर्ने रहेको मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले बताए । मेलाले प्रदेशका स्वदेशी उत्पादनहरु सहित कृषि, पर्यटन, ऊर्जा लगायत अन्य सम्भावित क्षेत्रहरुको प्रवद्र्धन एवं विकासमा समेत जोड दिने राठीले बताए ।
यस पटकको एक्स्पोमा जर्मन प्रविधिको ह्याङगर, अक्टानम सहितको करिब २ सय ३० वटा स्टल रहने अध्यक्ष राठीले जानकारी दिए ।
एक्स्पोमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगहरुका अतिरिक्त यस प्रदेशका महत्व झल्किने कला–संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य, कृषिजन्य तथा औद्योगिक उत्पादनहरुको प्रदर्शनी गरिने छ । यस्तै छिमेकी राष्ट्रहरू भारत, बंगलादेश, पाकिस्तान आदि देशका उत्पादित वस्तुहरुको प्रदर्शनीका स्टलहरू पनि रहने छन् । एक्स्पोमा स्टार्टअप, साना तथा मध्यम उद्यम, पर्यटन, सूचना प्रविधि, कर तथा लेखा, र महिला उद्यमशीलता सम्बन्धी विभिन्न छलफल तथा गोष्ठीमार्फत सहभागीहरूलाई उपयोगी ज्ञान, सीप र अवसर प्रदान गरिनेछ ।
नयाँ उद्यमीका लागि स्टार्टअप सञ्चालन गर्ने अवसर, साना तथा मध्यम उद्यमका लागि व्यवसाय विस्तारका उपाय, पर्यटन प्रवद्र्धनका रणनीति, आ.ई. सम्बन्धी डिजिटल ज्ञान तथा साइबर सुरक्षा, कर–लेखा सम्बन्धी नयाँ प्रणाली तथा महिलालाई उद्यमशीलतामा प्रोत्साहन दिने कार्यक्रमहरू समावेश रहेको संयोजक अमितकुमार शारडाले जानकारी दिए । एक्पोमा मुख्य प्रायोजकको रुपमा रमपम तैयारी चाउचाउ र मारुती सिमेन्ट रहेका छन् । एक्स्पोमा विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरु, सेल्फी जोन, किड्स जोन, फिस तथा जलपरी ट्रेनललगायतका मुख्य आकर्षणको रुपमा नेपाली कलाकृतिमा आधारित प्रवेशद्वार निर्माण गरिने छ । मेलामा २ लाख अबलोकनकर्ताहरूको सहभागिता रहने आयोजकले दाबी गरेको छ ।
प्रकाशित: २२ मंसिर २०८२ १७:१० सोमबार





