१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
अर्थ

बाँकेमा दुई व्यवसायीलाई जरिवाना र सजाय

बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको ठहर गर्दै दुई व्यवसायीलाई सजाय र जरिवाना गरेको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले दायर गरेका दुइटा मुद्दामा अदालतले एक व्यवसायीलाई एक वर्ष कैद र अर्कालाई रु ५० हजार जरिवानाको फैसला सुनाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगञ्जले जनाएको छ।

जिल्ला न्यायाधीश राजु ढुङ्गानाको इजलासले कोहलपुर–११ स्थित अस्मिता चाउमिन उद्योगका सञ्चालक पर्शुराम घिमिरेलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत दोषी ठहर गर्दै एक वर्ष कैद सजाय तोकेको हो।

त्यस्तै जिल्ला न्यायाधीश इन्दिरा शर्माको इजलासले नेपालगन्ज–२ स्थित गौरी मिनी मार्टका रामजी वैश्यलाई रु ५० हजार जरिवाना गर्ने फैसला गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगञ्जका प्रमुख प्रशान्त पोखरेलले जानकारी दिए।

मार्टबाट बिक्री भइरहेको मास दालको नमूना सङ्कलन गरी प्रयोगशालामा परीक्षण गर्दा दालमा प्रतिबन्धित बाह्य रङ प्रयोग भएको प्रमाणित भएको थियो।

दुवै मुद्दामा अदालतले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गरेको बजार अनुगमन, नमूना सङ्कलन, प्रयोगशाला परीक्षण तथा अनुसन्धानको प्रमण स्वीकार गर्दै फैसला गरेको हो। फैसलामा खाद्य व्यवसायीले उत्पादन र बिक्री गर्ने खाद्य वस्तुको स्वच्छता तथा गुणस्तर सुनिश्चित गर्नु कानुनी दायित्व भएको उल्लेख गरिएको छ।

यसैबीच, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले बर्दियाको गुलरियास्थित आनन्द ड्रिङकिङ वाटर उद्योगद्वारा उत्पादित प्रशोधित पिउने पानी तथा बाँसगढीस्थित सिजी फुड्स इन्टरप्राइजेज प्रालिले उत्पादन गरेको वाइवाइसहित चार ब्रान्डका तयारी चाउचाउ बजारबाट फिर्ता गर्न सम्बन्धित उद्योगलाई निर्देशन दिएको छ।

त्यस कार्यालयले गत आर्थिक वर्षभरि ५४० स्थानमा बजार अनुगमन गरेको थियो। अनुगमनका क्रममा कैफियतयुक्त ठहरिएका रु.६ लाख ३८ हजार ८६४ बराबरका खाद्य तथा दाना पदार्थ नष्ट गरिएको जनाइएको छ। रासस

प्रकाशित: १२ श्रावण २०८३ १३:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App