सार्वजनिक यातायातको भाडा इन्धनको मूल्यसँगै स्वतः समायोजन हुने प्रणाली लागू गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्देशन दिएको छ।
शुक्रबार मन्त्रालयमा भएको छलफलमा मन्त्री सुनिल लम्सालले यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेललाई प्रचलित कानुनअनुसार स्वचालित भाडा समायोजन प्रणाली (अटोमेटिक फेयर एडजस्टमेन्ट सिस्टम) कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।
मन्त्री लम्सालले इन्धनको मूल्य घटबढ भएपछि यातायात व्यवसायीहरू पटक–पटक मन्त्रालय धाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने भन्दै प्रणालीलाई प्रविधिमैत्री बनाउन जोड दिएका छन्। उनका अनुसार, भाडा समायोजनलाई नियमित प्रक्रिया भन्दा पनि स्वचालित संयन्त्रमार्फत व्यवस्थापन गर्नु आवश्यक छ।
छलफलमा मन्त्रालयका सचिव, विभागीय महानिर्देशक तथा यातायात व्यवसायीहरूको सहभागिता थियो। व्यवसायीहरूले इन्धनको मूल्य ५ प्रतिशतभन्दा बढी घटबढ हुँदा भाडा समायोजन गर्ने व्यवस्था भए पनि व्यवहारमा कार्यान्वयन नभएको गुनासो गरेका थिए।
हालै नेपाल आयल निगमले डिजेलको मूल्यमा पटक–पटक गरी प्रति लिटर ५५ रुपैयाँसम्म वृद्धि गरेपछि यातायात क्षेत्रले ठूलो आर्थिक दबाब झेलिरहेको व्यवसायीहरूको भनाइ थियो। उनीहरूले बढ्दो लागतका कारण केही सवारी साधन सञ्चालनमै कठिनाइ आएको समेत बताएका छन्।
मन्त्रालय स्रोतका अनुसार, मन्त्री लम्सालले इन्धन मूल्य परिवर्तनसँगै भाडा स्वतः समायोजन हुने प्रणाली विकास गर्न निर्देशन दिएका हुन्। यसले व्यवसायी र सरकार दुवैलाई प्रक्रिया सहज हुने अपेक्षा गरिएको छ।
त्यस्तै, संघीय र प्रदेश सरकारबीच भाडा समायोजनमा देखिएको असंगतिलाई अन्त्य गर्दै एकीकृत र वैज्ञानिक भाडा प्रणाली लागू गर्नुपर्नेमा पनि मन्त्रीले जोड दिएका छन्। उनका अनुसार, एउटा प्रदेशमा भाडा समायोजन हुने र अर्कोमा नहुने अवस्थाले व्यवस्थापनमा जटिलता सिर्जना गरिरहेको छ।
अब विभागले स्वचालित प्रणाली कार्यान्वयनको खाका तयार गरी अघि बढाउने तयारी गरेको छ।
प्रकाशित: ४ वैशाख २०८३ २०:०७ शुक्रबार





-600x400.jpg)