नेप्से परिसूचक र कारोबार रकम बुधबार घटेको छ। अघिल्ला दुई कारोबार दिन सामान्य अंकले बढेको नेप्से परिसूचक बुधबार ४.९८ अंकले घटेर २५६१.०८ विन्दुमा झरेको हो। सेन्सेटिभ इण्डेक्स १.२६ अंक, फ्लोट इण्डेक्स ०.५१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४५ अंकले घटेपछि समग्र नेप्से प्रभावित बन्यो।
बुधबार कारोबार रकम पनि मंगलबारको तुलनामा ३३ करोडले घटेको छ। बुधबार ३३८ स्टकको ५० हजार ६२६ पटकको कारोबारमा ३ अर्ब ७७ करोड ८६ लाख ३२ हजार रुपैयाँबराबरको ८३ लाख ८८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। मंगलबार ४ अर्ब १० करोड रुपैयाँबराबरको कारोबार भएको थियो।
बुधबार ८ स्टक माबिलुङ्ग इनर्जी, दरमखोल हाइड्रो इनर्जी, सागर डिष्टिलरी, हिमस्टार उर्जा कम्पनी, बुङ्गल हाइड्रो, सान्भी इनर्जी, बन्दीपुर केबलकार एण्ड टुरिजम र झापा इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। स्वस्तिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८ प्रतिशतले बढ्दा कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ६.०३ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको बरुण हाइड्रोपावरको २७ करोड ४० लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भयो। साहस उर्जाको साढे १९ करोड र राधी विद्युत कम्पनीको करिब १६ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये बुधबार ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ।
प्रकाशित: ३ मंसिर २०८२ १५:२५ बुधबार





