सन् २०२६ को जनवरीमा नेपाल आउने अन्तर्राष्ट्रिय पर्यटकको आगमन १५.७ प्रतिशतले बढेको छ। सन् २०२५ को जनवरीको तुलनामा सन् २०२६ को जनवरीमा पर्यटकको आगमन उक्त प्रतिशतले बढेको हो।
नेपाल पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्माका अनुसार सन् २०२६ को जनवरीमा ९२ हजार पाँच सय ७३ जना अन्तर्राष्ट्रिय पर्यटकको आगमन भएको छ। सन् २०२५ को जनवरीमा ७९ हजार नौ सय ९१ जना अन्तर्राष्ट्रिय पर्यटकको आगमन भएको थियो।
सन् २०२५ को तुलनामा सन् २०२६ को जनवरीमा १२ हजार पाँच सय ८२ अन्तर्राष्ट्रिय पर्यटकको आगमन वृद्धि भएको प्रवक्ता शर्माले बताए।
नेपालमा सन् २०२६ को जनवरीमा १० देशका पर्यटकहरूको आगमन भएको छ। जनवरीमा भारतबाट सबैभन्दा बढी पर्यटकको आगमन भएकोमा सबैभन्दा कम भुटानबाट आगमन भएको छ।
जनवरीमा भारतबाट २६ हजार ६ सय २४ जना पर्यटकको आगमन भएकोमा भुटानबाट तीन हजार १२ जना पर्यटकको आगमन भएको छ।
यसैगरी चीनबाट नौ हजार एक सय एक जना, अमेरिकाबाट आठ हजार चार सय ६ जना, बाङ्लादेशबाट पाँच हजार आठ सय १४ जना र अस्टे«लियाबाट चार हजार नौ सय ५७ जना पर्यटकको आगमन भएको छ।
यस्तै बेलायतबाट तीन हजार नौ सय ७३ जना, म्यानमारबाट तीन हजार तीन सय ९६ जना, दक्षिण कोरियाबाट तीन हजार दुई सय २६ जना र थाइल्यान्डबाट तीन हजार दुई सय पाँच जना पर्यटनकको आगमन भएको बोर्डले जनाएको छ।
प्रवक्ता सुनिल शर्माका अनुसार पछिल्ला वर्षहरूमा गरिएको गन्तव्य प्रवर्द्धन, हवाई सम्पर्क विस्तार, साहसिक तथा सांस्कृतिक पर्यटनप्रतिको आकर्षण र अन्तर्राष्ट्रिय बजारमा नेपालको छवि सुधार हुनु आगमन वृद्धिको प्रमुख कारण हो।
यी सकारात्मक तथ्यांकहरूले नेपाललाई ‘लाइफटाइम एक्सपेरियन्स डेस्टिनेसन’ का रूपमा स्थापित हुँदै गएको प्रवक्ता शर्मा बताउछन्।
सामाजिक सञ्जालका माध्यमबाट पनि पर्यटकीय स्थलहरूको प्रत्यक्ष प्रशारणलगायत प्रचारप्रसार समेत गर्ने गरिएको प्रवक्ता शर्माले बताए।
प्रकाशित: २५ माघ २०८२ २०:२५ आइतबार





