१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

हरेक पार्टी कार्यालयहरू राजदरबार बनेका छन्!

मुक्तक

१) मुक्तक

कसैमाथि ग्राहक कसरी तान्ने भन्ने मार थपिंदैछ

कसैको टाउको माथि अथाह ऋणको भार थपिंदैछ

परीक्षा बोर्डले विद्यार्थीको नतिजा प्रकाशन गरेपछि

हरेक वर्ष शहरमा शिक्षाको नामले व्यापार थपिंदैछ।

२) मुक्तक

नेताको मुहार चहकिलो जनताको मलिन देखिन्छ

जनता भद्र र शालीन तर सत्ता मतिहीन देखिन्छ

कागजमा कानुन जति लोकप्रिय बनाउँछ सरकार

उति नै व्यवहारमा लागु गराउन उदासिन देखिन्छ।

३) मुक्तक

हिजोका घनहरू आज खुकुरीको धार बनेका छन्  

ढाल भएर उभिएकाहरू पनि तरवार बनेका छन्  

समय परिवर्तनशील भएर होला सायद अचेल

हरेक पार्टी कार्यालयहरू राजदरबार बनेका छन्।

४) मुक्तक

कि त बडाहरूको पाउ छुनेहरूले दिन पाएका छन्

कि त झोलाभरि पैसा हुनेहरूले दिन पाएका छन्

जटिल छ सर्वसाधारण स्वाभिमानी मान्छेहरूलाई  

यहाँ न त कराउनेले न रुनेहरूले दिन पाएका छन्।

५) मुक्तक

सधैं सत्तामा पुगेर देशविदेश डुल्न पल्केकाहरू

कमिसनबाट अकूत आम्दानी चुल्न पल्केकाहरू 

सत्ता बाहिर बस्न बगरको माछाजस्तै मान्छन्  

जनताको नाममा अनेक कर असुल्न पल्केकाहरू।

६) मुक्तक

मर्ने मुक्ति पाएको ठान्छन् कतिपयले पद पाएपछि

ब्रह्मासँग बिन्ती लगाउँछन् साथमा नारद पाएपछि

भुल्छन् यिनी आफन्तजन भुइँमा खुट्टा टेक्दैनन्  

पालिकामा प्रमुख प्रदेश अनि संघीय संसद् पाएपछि।

६) मुक्तक

सुनौलो सपना जपेर शहरमा पसेकाहरू अलपत्र छन्

दलालहरूको फन्दामा परेर फसेकाहरू अलपत्र छन्

साहुको ऋण तिरौंला र दुई छाक खान पाउँला भनेर

घरमा परदेशीको मुख ताकेर बसेकाहरू अलपत्र छन्।

७) मुक्तक

संगीतभित्र स्वार्थको राग खोज्नेहरू पनि थुप्रै हुन्छन्

मन्दिरको भेटीमाथि भाग खोज्नेहरू पनि थुप्रै हुन्छन्

ऐनामा आफ्नो अनुहारको चायापोतो सुद्यो नहेर्ने तर

पूर्णिमाको जूनभित्र दाग खोज्नेहरू पनि थुप्रै हुन्छन्।

८) मुक्तक

नदीमा घिसिएको ढुङ्गा जस्तो भयो मेरो जीवन

मान्छे पारि तार्ने डुङ्गा जस्तो भयो मेरो जीवन

उल्टो धारले थिचिएर र सुल्टो धारले काटिएर

झरेको फूलको थुँगाजस्तो भयो मेरो जीवन।

९) मुक्तक

कहिले पानीमा कहिले घाममा खेलेको हुन्छ

फलाम चपाएको हुन्छ र पापड पेलेको हुन्छ

यस्तैयस्तै हो गरिबको जिन्दगीको परिभाषा

जसले सधैं दुःखको माथि दुःख झेलेको हुन्छ।

१०) मुक्तक

घरखेत बेचेर सन्तान पढन शहरमा लाउँछन्

बाआमाले जिन्दगी गिट्टी कुटेर बिताउँछन्

इन्चट्युट, स्कुल, कलेज र म्यानपावर नाउँका

गिरोहले विभिन्न बहानामा पैसा उठाउँछन्। 

(मुक्तककार सोराडीकाे मुक्तकसंग्रह उथलपुथलमा सङ्गृहीत।)

प्रकाशित: १३ फाल्गुन २०८२ १०:१५ बुधबार