जेनजी आन्दोलन चल्दै गर्दा नेपालमा पर्यटन क्षेत्रको मुख्य सिजन सुरु हुँदै थियो। यो सिजनमा नेपाल आउनका लागि धेरै विदेशी पर्यटकले होटल समेत बुकिङ गरिसकेका थिए। तर, आन्दोलनका कारण पाहुना आउन डराए। पाहुनाले एकाएक बुकिङ समेत रद्द गरे। व्यावसायीका अनुसार विदेशी पर्यटकले आगामि नोभेम्बरसम्मको बुकिङ रद्द गरिसकेका छन।
पर्यटन बोर्डका अनुसार यो सेप्टेम्बरमा नेपाल भित्रिने विदेशी पाहुनाको आकारमा अघिल्लो महिना (अगष्ट) तुलनामा ११ प्रतिशतले कमी आएको छ। गत अगष्टमा नेपालमा ८८ हजार ६ सय ८० जना विदेशी पाहुना भित्रिएका थिए। त्यो आकार सेप्टेम्बरमा घटेर ७८ हजार ७ सय ११ मा झरेको छ।
‘अगष्टको तुलनामा सेप्टेम्बरमा ११ प्रतिशतले पाहुना आगमन घटेको छ, अक्टोवरमा अझै कम हुन सक्छ। यो जेनजी आन्दोलनको प्रभावले हो,’ पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछाने भन्छन, ‘आगामि केही महिनासम्म यो प्रभाव परिरहन्छ। आन्दोलनको प्रभावले गर्दा विदेशी पाहुना नेपाल आउन डराएका हुन।’
उनका अनुसार सिजन सुरु हुनै लाग्दा आन्दोलन भएको र त्यसले गर्दा पाहुना आउन डराएका हुन। ‘अगष्टको तुलनामा सेप्टेम्बरको आगमन उत्साहजनक हुनुपर्नेमा झनै घटेको छ। आन्दोलन नहुँदो हो त पाहुनाको आगमन योपटक निकै नै राम्रो हुने थियो,’ उनले भने, ‘तर, पाहुना आउने बेला सुरु हुनै लाग्दा आन्दोलन भयो। त्यसले गर्दा पाहुना आउनै डराए।’
आन्दोलनका क्रममा काठमाडौं र पोखराका पर्यटकीय पूर्वाधारमा समेत तोडफोड र आगजनी भएपछि पर्यटकहरु बढी त्रसित भएको उनले बताए।
‘पाहुनाले आफु बसेको होटल नै छाड्नुपर्ने अवस्था त्यो बेला आयो। पर्यटकीय पूर्वाधारमा भएको तोडफोडको विदेशी पाहुना प्रत्यक्षदर्शी बने,’ उनले भने, ‘विदेशी पाहुना नेपालमा बस्नै डराएका थिए। हामीले नै त्यो बेला धेरै पर्यटकको उद्धार गर्नुपरेको थियो। आएका पाहुना पनि बसाई छोट्याएर फर्किएका थिए।’
पर्यटन बोर्डका अनुसार सन् २०२४ को सेप्टेम्बरको तुलनामा पनि यो सेप्टेम्बरको आगमनमा १८.३ प्रतिशत गिरावट आएको छ। २०२४ सेप्टेम्बरमा नेपालमा ९६ हजार ३ सय २ जना विदेशी पाहुना आएका थिए। त्यो आगमनमा यो पटक १८.३ प्रतिशत घटेर यो सेप्टेम्बरमा ७८ हजार ७ सय ११ जना पाहुना आएका छन्।
‘कोरोना भाइरस संक्रमण पछि विदेशी पर्यटकको आगमन उत्साहजनक रुपमा उकालो लाग्दै आएको थियो। तर, योपटक जेनजी आन्दोलनपछि आगमनमा धक्का लाग्यो,’ उनले भने, ‘पर्यटक आगमन उकासिन अझै केही समय लाग्छ।’
कोरोना संक्रमण अघि सन् २०१९ को सेप्टेम्बरमा नेपालमा ९२ हजार ६ सय ४ जना विदेशी पाहुना आएका थिए। कोरोना अघिको आगमनमा पनि १५ प्रतिशत घटेर यो सेप्टेम्बरमा पाहुना आएको लामिछानेले बताए। ‘कोरोना संक्रमण अघिको भन्दा पनि योपटक कमजोर आगमन रह्यो,’ उनले भने।
संकटमा परेको पर्यटक आगमनलाई उकास्नका लागि सरकारले अब बलियो रणनीति बनाउनुपर्ने पनि लामिछानेको भनाई छ। ‘पर्यटन क्षेत्रमा आइपरेको संकटलाई पार लगाउन बलियो रणनीति आवश्यक छ। त्यसो भयो भने मात्र नेपालले पर्यटनबाट लाभ लिनेछ,’ उनले भने।
व्यावसायी पनि आन्दोलनका कारण विदेशी पाहुनाको आगमनमा योपटक ठूलो असर परेको कताउँछन्। अग्रज पर्यटन व्यावसायी गणेशबहादुर भट्टराईका अनुसार यो सिजनको बुकिङ मध्ये ८० प्रतिशतसम्म रद्द भएको छ। ‘विदेशी पाहुना आउने बेला सुरु हुनै लाग्दा आन्दोलन भयो। अझै पनि नेपालको राजनीति कुन तवरले अघि बढ्छ भन्ने यकिन छैन,’ उनले भने, ‘अहिले भन्दा खराब अवस्था नआएमा आगामि दिनमा पाहुना आउनेछन। नत्र अझै पनि अप्ठेरो थपियो भने त्यसले पाहुना आगमनमा निकै नै असर गर्नेछ।’ पाहुना नआएपछि पर्यटकीय क्षेत्र लेकसाइड सुनसान बनेको उनले बताए।
भारतीको आगमनमा ठूलो गिरावट
पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०२५ को नौमहिना अवधिमध्ये यो सेप्टेम्बरमा नेपालमा सबैभन्दा कम भारतीय पाहुना भित्रिएका छन्। व्यावसायीका अनुसार यो बेला भारतीय पाहुना भित्रिने समय भएपनि आगमनमा निकै नै कमजोर देखिएको छ। तथ्यांक अनुसार यो सेप्टेम्बरमा नेपालमा जम्मा १५ हजार ५ सय ५६ जना भारतीय पाहुना हवाई मार्गबाट भित्रिए। जबकी यो अगामन संख्या अघिल्लो महिना (अगष्ट) मा ३५ हजार ५ सय ५ थियो।
‘जेनजी आन्दोलनपछि भारतीय पाहुनाको आगमनमा पनि ठुलो गिरावट आएको छ। आन्दोलनपछि भारत सरकारले ट्राभल एडभाइजरी जारी गर्दै नेपालमा यात्रा गर्दा सचेत हुन आफ्ना नागरिकलाई आग्रह गरेको थियो,’ बोर्डका गण्डकी प्रमुख लामिछाने भन्छन, ‘नेपाल यात्रा गर्दा सचेत हुन भारत सरकारले आग्रह गरेपछि भारतीय आगमन एकाएक खस्कियो।’
त्यसबाहेक बाढीपहिरोको त्रासका कारण पनि भारतीय पाहुनाको आगमनमा प्रभाव पारेको उनले बताए। ‘स्थलमार्गबाट आउने भारतीय पाहुना पनि रोकिए। आन्दोलनका क्रममा कुनैपनि पाहुनाले दुव्र्यवहार खेप्नु त परेन। तर, यात्रा असुरक्षित भएको महसुस गरेर सम्बन्धित मुलुकका सरकारले नै यात्रामा सचेत हुन आफ्ना नागरिकलाई आग्रह गरेको थियो,’ उनले भने।
आगमन कमजोर भएपनि सेप्टेम्बर महिनामा नेपाल भित्रिने विदेशी पाहुना मध्ये सबैभन्दा बढी भारतीय नै रहेका छन। बोर्डका अनुसार भारतीयपछि अमेरिकीको संख्या रहेको छ। सेप्टेम्बर महिनामा नेपालमा ९ हजार ६सय ७९ जना अमेरिकी पाहुना आएका छन। तेश्रो नम्बरमा रहेको अस्टे«लियाका ६ हजार ८ सय २४ जना पाहुना भित्रिएका छन्।
त्यस्तै चौथो नम्बरमा रहेको चीनबाट मात्र ५ हजार २ सय ३७ जना र पाँचौं नम्बरमा रहेको बेलायतबाट ४ हजार ९ सय ८१ जना पाहुना भित्रिएका छन्। सन् २०२५ को जनवरीदेखि सेप्टेम्बरसम्मको तथ्यांक अनुसार नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या ८ लाख १५ हजार २ सय ७३ पुगेको पनि बोर्डको भनाई छ।
प्रकाशित: २२ आश्विन २०८२ १७:१४ बुधबार





