२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अर्थ

पर्यटकीय क्षेत्र पोखराः विथोलियो आन्तरिक पाहुनाको यात्रा

जेनजी आन्दोलनले विदेशी प्रभावित

पोखराको पर्यटकीय क्षेत्र लेकसाइड । जेनजी आन्दोलनले विदेशी र बाढी पहिरोले आन्तरिक पाहुनालाई अप्ठेरो पार्दा पर्यटकीय क्षेत्र लेकसाइड सुनसान बनेको छ।

जेनजी आन्दोलन नहुँदो हो त यो बेला पोखरामा विदेशी पाहुना खचाखच हुन्थे। चाडबाडको मौका पारेर आउने आन्तरिक पाहुना पनि थपिँदा लेकसाइडको चहलपहल निकै नै बढ्थ्यो। तर, योपटक सिजनको बेलाका विदेशी पाहुना जेनजी आन्दोलनका कारण भित्रिन डराए।  

विदेशी पाहुनाको आगमनमा त आन्दोलनको प्रभाव रह्यो नै, आन्तरिक पाहुना पनि भित्रिन नसक्दा पर्यटन क्षेत्र सुस्ताएको छ। आन्तरिक पाहुनाको आगमनमा भने केहीदिन अघिको बाढीपहिरोको प्रभाव परेको पर्यटन व्यावसायीको भनाई छ। जेनजी आन्दोलनले विदेशी पाहुना रोकिएको र प्राकृतिक विपत्ले आन्तरिक पाहुनाको यात्रा अवरुद्ध भएको उनीहरुको भनाई छ।  

‘योपटक आन्तरिक र बाह्य सबै खाले पाहुनाको आगमन प्रभावित भएको छ। जेनजी आन्दोलनले प्रभावित भएको विदेशी पाहुनाको आगमन अझै सुधार हुन सकेको छैन। प्राकृतिक विपत्का कारण आन्तरिक पाहुना पनि भित्रिन सकेनन,’ होटल एशियाका संचालक धर्मराज पन्थी भन्छन, ‘आन्तरिक र बाह्य पाहुना भित्रिन नसक्दा पर्यटन क्षेत्रमा नोक्सानी थपिएको छ।’ जेनजी आन्दोलनले विथोलिएको विदेशी पाहुनाको अभावलाई केही हदसम्म आन्तरिक पाहुनाले पुरा गर्ने अपेक्षा गरेको भएपनि बाढी र पहिरोले आन्तरिकलाई पनि घुमघाममा जानबाट रोकेको उनले बताए। यात्रा गर्ने मुख्य राजमार्गमा अवरोध आउँदा आउन चाहेका पाहुना पनि रोकिएको उनले बताए।  

जेनजी आन्दोलनका कारण भर्खर सुरु हुन थालेको पर्यटकीय सिजनलाई असर पारेको थियो। सेप्टेम्बर मध्यदेखि सुरु हुने पर्यटकीय सिजनको मुखैमा भएको आन्दोलनका कारण विदेशी पाहुनाले धमाधम बुकिङ रद्द गरेका थिए। आगामि नोभेम्बरसम्मको बुकिङ प्रभावित भएको व्यावसायीले बताईरहेका छन।

‘विदेशीको आगमनलाई जेनजी आन्दोलनले प्रभावित पारेको हो। विदेशीको आगमनमा अझै सुधार भईसकेको छैन,’ पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका निवर्तमान अध्यक्ष समेत रहेका पन्थीले भने, ‘तर, आन्तरिक पाहुनालाई भने बाढीपहिरोले मार परेको हो। बाढी पहिरो नहुँदो हो त यो बेला पोखरामा पर्याप्त आन्तरिक पाहुना आउँथे । तर, आन्तरिक पाहुना आउनै सकेनन।’

उनका अनुसार आन्तरिक पाहुना आउने बेलामा भीषण वर्षा भयो। वर्षाले राजमार्गका ठाउँठाउँमा भीषण पहिरो खस्यो। राजमार्ग अवरुद्ध हुने र क्षति हुनसक्ने त्रासले सरकारले पनि आन्तरिक पाहुनालाई घुमघाममा ननिस्कन आव्हान गरेको थियो। ‘बाढी पहिरोले आन्तरिक पाहुनालाई असर गरेको हो। यो बेला जेनजी आन्दोलन वा बाढीपहिरोको असर नहुँदो हो त पाहुना पर्याप्त हुन्थे,’ उनले भने, ‘अहिले त होटल नै खालि राख्नुपरेको छ।’ 

आन्दोलन र प्राकृतिक विपत् नहुँदो हो त यो बेला पोखराका होटलमा ६० प्रतिशत विदेशी र ४० प्रतिशत आन्तरिक पाहुना रहने उनको अनुमान छ। तर, अहिले निकै नै कम संख्यामा आन्तरिक पाहुना रहेको उनले बताए। ‘बाढी पहिरोले अलिअलि रहेका विदेशी पाहुना पनि प्रभावित भए। विमानस्थल र बाटोघाटो बन्द हुँदा विदेशी पाहुना पनि अत्तालिए,’ उनले भने।

‘चाडबाडको लामो बिदा पर्ने हुँदा यो बेला पाहुना अभाव खेप्नुपर्ने थिएन। तर, अहिले पाहुना भित्रिन सकेनन । आएका सीमित विदेशी पाहुना पनि बाढीपहिरोको मारमा परे,’ उनले भने, ‘अवस्था सहज भएको भए यो बेला होटलमा कोठा नपाउने अवस्था आउँथ्यो। तर, पाहुना भित्रिन नपाएपछि रित्तै राख्नुपरेको छ।’  

पोखराकै अग्रज पर्यटन व्यावसायी गणेशबहादुर भट्टराई पनि पोखराले यो पटक स्वदेशी र विदेशी सबैखाले पाहुना गुमाएको बताउँछन। ‘यो बेला विदेशी पाहुनाको मुख्य सिजन हो। विदेशी पाहुना भित्रिँदा लेकसाइड चम्किएको हुन्थ्यो। त्यसबाहेक आन्तरिक पाहुनाको पनि घुमघामको सिजन हो। तर, अहिले दुवैखाले पाहुनाको आगनमा असर परेको छ,’ उनले भने। भट्टराईका अनुसार विदेशी पाहुनाले जेनजी आन्दोलनपछि नेपाल भ्रमण असुरक्षित ठानेर यात्रा रोकेका छन। केहीदिन अघिको बाढी पहिरोको मारले आन्तरिक पाहुनाको यात्रा रोकिएको उनले बताए।  

‘विद्यालय र कार्यालयमा लामो बिदा हुने हुँदा परिवारै घुमघाममा निस्कने हुँदा यो बेला पोखराले पाहुनाको अभाव खासै बेहोर्नुपर्ने थिएन। तर, अहिले आन्तरिक पाहुनाका लागि बाढी पहिरो बाधक रह्यो,’ उनले भने, ‘आन्तरिक पाहुना आउने मुल श्रोतको रुपमा रहेको काठमाडौं, चितवन सहित पूर्वी सहर प्राकृतिक विपत्बाट बढी प्रभावित भए। राजमार्गका ठाउँठाउँमा पहिरोले यात्रा अवरुद्ध गर्दा पाहुना घरबाटै निस्केनन।’

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली पनि यो पटकको सिजनलाई आन्दोलन र बाढी पहिरोको असर रहेको बताउँछन। उनका अनुसार अक्टोवरका लागि विदेशी पाहुनाले गरेको करिब ८० प्रतिशत बुकिङ रद्द भईसकेको छ। त्यसबाहेक आन्तरिक पाहुनाको आगमनमा भने केहीदिन अघिको वर्षा र त्यसले निम्त्याएको बाढी पहिरो रहेको उनले बताए।  

‘जेनजी आन्दोलनले गर्दा विदेशीको आगमनमा असर परेको हो। अक्टोवरको करिब ८० प्रतिशत बुकिङ रद्द भएको छ,’ पराजुलीले भने, ‘आन्तरिक पनि यो पटक आउन सकेनन। पाहुना घुम्न हिड्ने बेलामा बाढी र पहिरोले वितण्डा मच्चायो। सरकारले पनि अत्यावश्यक काम नपरि घुमघाममा नजानु भनेर भन्यो। बाढी र पहिरोले राजमार्ग पनि अवरुद्ध भए।’  

बाढी पहिरोले आन्तरिक पाहुना हिडडुल गर्न सक्ने अवस्था नहुँदा पोखराका होटलले आन्तरिक पाहुना पाउन नसकेको उनले बताए। ‘पोखरालाई त मौसमले साथ दिएको थियो। तर, पोखरा भित्रिने मुख्य राजमार्ग नै बन्द भएपछि यात्रुले जोखिम र झन्झट मोल्न चाहेनन,’ पराजुलीले भने, ‘अहिले पनि पोखरासम्मको यात्रा सहज भईसकेको छैन ।’  

जसोतसो भित्रिएका पाहुनाले पनि सकस खेप्नुपरेको उनले बताए। पराजुलीका अनुसार यतिबेला लेकसाइडका होटलमा अकुपेन्सी बढीमा ३० प्रतिशत रहेको छ। अहिले भएका पाहुनामध्ये पनि अधिकांश आन्तरिक नै छन।  

‘राजमार्गको यात्रा सहज हुँदै गएकोले अबका केहीदिनमा पोखरामा आन्तरिक पाहुना भने पर्याप्त भित्रिने अपेक्षा छ। किनकी यात्रा सहज नहुँदा पाहुना रोकिएका थिए। तर, अब पाहुना आउने अपेक्षा छ,’ उनले भने, ‘आन्तरिक पाहुनाका लगि अझै पनि समय छ।’ दसैं र तिहारको बेलामा पोखरामा पर्याप्त मात्रामा आन्तरिक पाहुना भित्रिने हुँदा व्यावसायमा चमक छाउने भएपनि अहिले सुनसानजस्तै रहेको व्यावसायीले बताएका छन।  

प्रकाशित: २१ आश्विन २०८२ १६:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App