कास्कीको अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा पर्यटन महोत्सव सुरु भएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्नका लागि महोत्सव आयोजना गरिएको हो ।
घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)को संयुक्त आयोजनामा बुधबारदेखि महोत्सव सुरु गरिएको हो । महोत्सव चारदिनसम्म चल्नेछ । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले महोत्सव उद्घाटन गरेका थिए । गाउँपालिका अध्यक्ष केसीले गाउँपालिकालाई समृद्ध बनाउने मुख्य आधार पर्यटन क्षेत्र रहेको बताए ।
‘अन्नपूर्ण गाउँपालिकालाई समृद्ध बनाउने मुख्य आधार कृषि र पर्यटन हो, गाउँपालिकाले अन्नपूर्णका ७ देखि ११ नम्बरसम्मको वडाक्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा घोषणा गरेका छौं, बाँकीलाई कृषि क्षेत्रको रुपमा प्रवद्र्धन गरेका छौ’, अध्यक्ष केसीले भने, ‘घान्द्रुकसँगै अन्नपूर्ण गाउँपालिकाका भित्रका पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्दै गाउँपालिकालाई समृद्ध बनाउने अभियानमा हामी छौं ।’
अध्यक्ष केसीले अन्नपूर्ण गाउँपालिकाको विभिन्न स्थानमा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज बनाउन विरेठाँटीमा एकीकृत पर्यटक सूचना केन्द्रको स्थापना गरेको उल्लेख गरे । ‘जति पनि पर्यटक अन्नपूर्ण गाउँपालिका भित्र रहेका र यहाँबाट म्याग्दी लगायत विभिन्न पर्यटकीय स्थलमा जाने पर्यटकलाई सहजता दिलाउन विरेठाँटीमा एकीकृत पर्यटक सूचना केन्द्र निर्माण गरेका छौं’, उनले भने ।
उनका अनुसार सूचना केन्द्रबाट सही सूचना प्रदान गर्ने, नयाँ पर्यटकीय गन्तव्य र गतिविधिको प्रचार गर्ने, आन्तरिक उत्पादन प्रवद्र्धन गर्ने, पर्यटकलाई पदमार्ग, घुम्न सकिने ठाउँ, अवलोकन गर्न सकिने दृश्य एवं संस्कृति सहित पर्यटनबारे जानकारी दिलाइने बताए । उनले घान्द्रुक आउने पर्यटकको बसाई अवधि बढाउनका लागि हरदम प्रयास गर्ने बताए । अन्नपूर्ण आधारशिविर क्षेत्र जाने पर्यटकको स्वास्थ्य जाँच गर्न गाउँपालिकाले आधारशिविरमै कर्मचारी नै खटाएर नियमित स्वास्थ्य चेकजाँच गर्दै आएको पनि जानकारी दिए ।
महोत्सवमा १५ प्रतिशत छुट
महोत्सव अवधिमा घान्द्रुक आउने पाहुनालाई होटलमा १५ प्रतिशत छुट दिइने आयोजकले बताएको छ । रोधीं क्लब कोँड (घान्द्रुक)का वरिष्ठ उपाध्यक्ष लामा अमृत गुरुङले महोत्सव अवधिभर घान्द्रुक आउने पर्यटकलाई १५ प्रतिशत छुट रहेको बताए ।
‘महोत्सव अवधिभर घान्द्रुक आउने पर्यटकहरुलाई १५ प्रतिशत छुट रहेको छ,’ गुरुङले भने, ‘महोत्सवमा दिनमा हामीले खेलकुद प्रतियोगिता र साँझमा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने छौं ।’ घान्द्रुक आउने पर्यटकको संख्या बढाएर पर्यटन प्रवद्र्धनमा जोड दिनका लागि महोत्सव आयोजना गरेको पनि उनले बताए । घान्द्रुक अन्नपूर्ण आधारशिविर क्षेत्रको प्रवेशद्वारमा अवस्थित पर्यटकीय गाउँ हो । पछिल्लो समय घान्द्रुक आन्तरिक र बाह्य पर्यटनमाझ लोकप्रिय छ । महोत्सवमा सांस्कृतिक गतिविधि सहित खेलकुदका प्रतियोगिता पनि संचालन हुने आयोजकले बताएको छ ।
प्रकाशित: ७ फाल्गुन २०८२ १८:०३ बिहीबार





