जेन-जी आन्दोलनका क्रममा गत भदौ २४ गते आगलागीबाट क्षति भएको सिंहदरबारको मूल भवनलाई पहिलेकै स्वरूपमा बनाइने भएको छ। आगलागीबाट मूल भवनमा मात्र एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ।
सहरी विकास मन्त्रालयका एक उच्च कर्मचारीका अनुसार यतिबेला मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले आगजानीबाट भएको क्षतिको विस्तृत मूल्यांकन तथा डिजाइनको काम गरिरहेका छन्। ‘सम्भवतः आगामी फागुनदेखि मूल भवनलाई पहिलकै स्वरूपमा ल्याउने प्रक्रिया अघि बढाइने छ’, उनले भने।
सहरी विकास तथा भवन निर्माण विभाग र नेपाल इन्जिनियर्स एसोसिएसनको संयुक्त टोलीले तयार पारेको प्रतिवेदनमा एक अर्बभन्दा बढीको क्षति भएको विवरण उल्लेख छ। मूल भवन पुनर्निर्माण गर्न एक अर्बभन्दा बढी रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
सिंहदरबारको मूल भवनको पूर्वतिरको भन्दा पश्चिमतिरको भाग बढी जलेको छ। दुवै भागलाई जोड्दा करिब एक अर्ब रुपैयाँबराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान छ। मन्त्रालयका एक कर्मचारीका अनुसार यसमा रहेको पुरातात्त्विक महत्त्वको सम्पदामा भएको क्षतिको मूल्यांकन अझै भएको छैन।
मूल भवन अंग्रेजी ‘सी’ आकारको छ। जेनजी आन्दोलनपछि मूल भवन मात्र नभएर वरिपरिको भाग पनि मानिस जानै नसक्ने गरी जोखिमपूर्ण भएको छ। जहाँतहीँ जलेका सामग्री मात्र छन्। मन्त्रालय स्रोतका अनुसार मूल भवनभित्र जान इन्जिनियरलाई समेत जोखिमपूर्ण अवस्था छ।
आन्दोलनका क्रममा एक सय २० वर्षभन्दा पुरानो मूल भवनभित्रको ‘स्टेट हल’ पुरै ध्वस्त भएको छ। उक्त हल ऐतिहासिक र पुरातात्त्विक महत्त्वको थियो। हलभित्र ऐतिहासिक र पुरातात्त्विक कला, कलात्मक पेन्टिङ तथा ऐतिहासिक किसिमबाट साजसज्जा गरिएको थियो। राणाकालमै अतिविशिष्ट विदेशी पाहुना काठमाडौंमा आउँदा स्टेट हलमा स्वागत गरिन्थ्यो। विदेशी पाहुना नेपाल आउँदा उनीहरूले दिएका बहुमूल्य उपहारहरू उक्त हलमा सजाएर राख्ने गरिएको थियो।
जेन–जी प्रदर्शनका क्रममा लगाइएको आगोले ती सामग्री पूरै जलेका छन्। सहरी विकास मन्त्रालयका कर्मचारीहरूका अनुसार जेनजी प्रदर्शनमा सिंहदरबारभित्र सोफा, फर्निचर, गलैंचा, आइटी तथा बिजुली बत्ती प्रणाली, सुरक्षा प्रणाली, टेलिफोन, कम्प्युटर, सिसिटिभी तथा महत्त्वपूर्ण र ऐतिहासिक कागजातहरू जलेका छन्।
विभिन्न देशसँग भएको सन्धिसम्झौताका प्रतिलिपिहरू पनि जलेको अनुमान उनीहरूले गरेका छन्। सिंहदरबार जल्दा काठ र काठबाट बनेका सामग्रीहरूमा ठुलो नोक्सानी भएको भवन विभागका कर्मचारीहरूको दाबी छ।
सिंहदरबारको जलेको मूल भवनलाई हरियो पर्दाले छोपिएको छ। इन्जिनियरहरूले मूल भवनमा रातो स्टिकर टाँसेका छन्। रातो स्टिकर टाँस्नुको मतलब अब उक्त भवन अहिलेकै अवस्थामा प्रयोग गर्न सकिन्न। यो भवनको पुनर्निर्माण गर्नेकि प्रबलीकरण भन्ने विषयमा इन्जिनियरहरू टुंगोमा पुगेका छैनन्। २०७२ सालको भूकम्पपछि भत्किएको सिंहदरबारलाई प्रबलीकरण गरिएको थियो। त्यतिबेला एक अर्बभन्दा बढी रुपैयाँ खर्च भएको थियो।
जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी भवन तथा संरचना पुनर्निर्माण गर्न कम्तीमा ३६ अर्ब ३० करोड २१ लाख रुपैयाँबराबर खर्च लाग्ने अनुमान गरिएको छ। गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको क्षतिको मूल्यांकन तथा क्षतिग्रस्त सार्वजनिक संरचना पुनर्निर्माण योजना तयार गर्न सरकारले गठन गरेको समितिले यस्तो अनुमानसहितको प्रतिवेदन तयार पारेको हो। राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थको संयोजकत्वमा असोज ५ गते गठित समितिले प्रतिवेदन बिहीबार प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ।
प्रतिवेदनमा जेनजी आन्दोलनका क्रममा सातै प्रदेशमा क्षति भएको विवरण छ। विवरणअनुसार ५४ जिल्ला र २६२ स्थानीय तहका भौतिक संरचना र अन्य सम्पत्तिमा क्षति पुगेको छ।
समग्रमा सरकारीतर्फ ८४ अर्ब ४५ करोड रुपैयाँबराबरको भौतिक सम्पत्तिको क्षति भएको विवरण प्रतिवेदनमा छ। सरकारी क्षतिमा संघीय सरकारतर्फ ६८ प्रतिशत तथा प्रदेश र स्थानीय तहतर्फ क्रमशः १० र २२ प्रतिशत छ। जेनजी आन्दोलनबाट दुई हजार १६८ वटा निकाय/संस्था प्रभावित भएको र दुई हजार ६७१ वटा भवनमा क्षति पुगेको विवरण प्रतिवेदनमा छ।
भवनतर्फ ३९ अर्ब ३१ करोड ७५ लाख रुपैयाँबराबरको क्षतिको भएको मूल्यांकन छ। यसैगरी १२ हजार ६५९ वटा सवारीसाधनमा क्षति पुगेको छ। सवारीसाधनतर्फ १२ अर्ब ९३ लाख ६१ हजार रुपैयाँबराबरको क्षति भएको पाइएको छ। त्यस्तै निजी क्षेत्रतर्फ ३३ अर्ब ५४ करोड ८७ लाख र सामुदायिक तथा अन्य क्षेत्रतर्फ पाँच अर्ब ९७ करोड १७ लाख रुपैयाँबराबरको क्षति भएको छ।
सहरी विकास तथा भवन निर्माण विभागले जेनजी आन्दोलनबाट क्षति भएका भवनलाई तीन किसिमबाट वर्गीकरण गरेको छ। हाल प्रयोग गर्न नमिल्ने भवनमा रातो स्टिकर टाँसिएको छ। रातो स्टिकर टाँसिएका भवनलाई पहिलेकै अवस्थामा ल्याउन पुनर्निमाण गर्नुपर्ने हुन्छ। यस्ता भवन १३४ वटा छन्, जसमध्ये विभागको कार्यक्षेत्रमा ४४ वटा छन्। अन्य भवन अन्य निकायको कार्यक्षेत्रमा पर्छन्।
यसैगरी आन्दोलनबाट सामान्य क्षति भएका भवनको संख्या १३४ छ। जसमध्ये १२५ वटा भवन विभागको कार्यक्षेत्र भित्रका हुन्। यस्ता भवनमा हरियो स्टिकर टाँसिएको छ। यसैगरी आशिंक क्षति भएका भवन १७६ वटा छन्, जसमध्ये विभागको कार्यक्षेत्र भित्र १०० वटा छन्। यस्ता भवनमा पहेंलो स्टिकर टाँसिएको छ। यस्ता भवनलाई पहिलेकै अवस्थामा ल्याउन प्रबलीकरण गर्नुपर्ने सुझाव इन्जिनियरहरूले दिएका छन्।
सहरी विकास मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयको कार्य क्षेत्रभित्र राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास सिंहदरबार, मन्त्री निवास, संसद् भवन लगायतका ५१ भवन छन्।
प्रकाशित: २८ पुस २०८२ ०६:३८ सोमबार





