पर्वतारोहणका लागि नेपाल आउने आरोहीको संख्या वृद्धि हुँदै गएको छ । पछिल्ला वर्षमा आरोहीको संख्या बढेको पर्यटन विभागले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ को तुलनमा २०८१/८२ मा आरोहीको संख्या बढेको हो ।
पर्यटन विभाग साहसिक पर्वतारोहण शाखाका निर्देशक हिमाल गौतमका अनुसार गत आव २०८१/८२ मा ८७ देशका तीन सय तीन पर्वतारोहण दलका पाँच सय ५५ महिला र एक हजार नौ सय ९३ पुरुष गरी दुई हजार पाँच सय ४८ जनाले पर्वतारोहण अनुमतिपत्र लिएका छन् । सोबापत सरकारले ९१ करोड ८६ लाख ३३ हजार रुपैयाँ सलामी रकम (रोयल्टी) प्राप्त गरेको छ ।
आव २०८०/८१ मा ९३ देशबाट तीन सय आठ पर्वतारोही दलका चार सय ७६ महिला र एक हजार आठ सय ९७ पुरुष गरी जम्मा दुई हजार तीन सय ७३ जनाले पर्वतारोहण अनुमति प्राप्त गरेका थिए । त्यसबापत सरकारलाई ७६ करोड ८६ लाख नौ हजार सलामी रकम प्राप्त भएको थियो ।
आव २०८०/८१ को तुलनामा आव २०८१/८२ मा पर्वतारोहणबापतको सलामी रकम १९.०८ प्रशितले वृद्धि भएको छ भने पाँच देशका पर्वतारोहीसमेत घटेको पर्यटन विभागले जनाएको छ ।
विगत दुई वर्षमा पर्वतारोहणबाट प्राप्त कुल सलामी रकममा सगरमाथाको हिस्सा ७८.७४ प्रतिशत रहेको छ ।
नेपालमा पर्वतारोहणका लागि सामान्यतः आरोही खुम्बु क्षेत्रका हिमाल आरोहण गर्न आउने गरेको भए पनि अहिले पूर्वदेखि पश्चिमसम्मका हिमालहरूमा पनि आरोहीको आगमन देखिन थालेकाले गर्दा पर्वतारोहणमा आरोहीको आगमन बढेको निर्देशक गौतम बताउँछन् ।
सरकारले अहिले मानव विकास सूचकांकमा पछाडि परेका प्रदेशमा अवस्थित हिमालमा आरोहण गर्न लाग्ने रोयल्टी पनि निःशुल्क गरेकाले गर्दा आरोहीको संख्या बढेको उनले बताए ।
मानव विकास सूचकांकमा पछाडि परेको प्रदेश कर्णाली र सुदूरपश्चिम प्रदेश हुन् । पश्चिम क्षेत्रका पर्वतारोहण गर्नका लागि स्थानीयस्तरबाट सहयोगको अपेक्षा रहेको भए पनि समन्वय सहकार्य नभएकाले गर्दा जति आरोही आउनुपर्ने हो त्यति आउन नसकिरहेको निर्देशक गौतमको भनाइ छ । पर्वतारोहणलाई स्थानीय स्तरबाट पनि साथ सहयोग भए आरोहीको संख्या अझै वृद्धि हुने उनले बताए ।
अहिले सरकारले कर्णाली र सुदूरपश्चिमका ९७ वटा हिमालको रोयल्टी निःशुल्क गरेको छ । विश्वकै सर्वोच्च शिखर सगरमाथा लगायत करिब १३ सयभन्दा बढी आरोहणयोग्य हिमाल नेपालमा रहेको नेपाल पर्वतारोहण संघको अध्ययनले देखाएको छ ।
नेपालका हिमालमध्ये हालसम्म सरकारले चार सय ६१ वटा हिमाल आरोहणका लागि खुला गरेको छ । आरोहणका लागि खुला गरेका हिमालहरूको संख्या धेरै भए पनि सीमित हिमालमा मात्र आरोहण केन्द्रित हुने गरेको देखिएको हो ।
खुला गरिएका हिमालमध्ये हालसम्म मानव पाइला नपुगेका कीर्तिमानी प्रथम आरोहीको प्रतीक्षामा रहेका हिमालहरूको संख्या एक सय दुई रहेको पर्यटन विभागको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
पर्वतारोहण गर्न हिमालहरूमा अहिले पनि पूर्वाधारहको समस्याले गर्दा अपेक्षाकृत पर्यटकको आगमन हुन नसकिरहेको निर्देशक गौतमले बताए ।
नेपालमा सबै भन्दा बढी पाँच वटा देशबाट पर्वतारोहण गर्न आरोहीहरू आउने गरेका छन् । जसमा अमेरिका, चीन, फ्रान्स, बेलायत र जर्मनी देशबाट आउने गरेको पर्यटन विभागले जनाएको छ ।
नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष फुर गेल्जे शेर्पाले आरोहीका लागि उत्कृष्ट स्थलहरू भएकाले गर्दा पनि नेपालमा आरोहीको संख्या बढेको बताए । उनले पर्वतारोहणका क्षेत्रहरू व्यवस्थित गर्न सके अझै धेरै आरोहीको संख्या बढ्न सक्ने बताए ।
राज्यले पर्वतारोहणका क्षेत्रहरूको प्रचारप्रसार अझै गर्न सके धेरैभन्दा धेरै देशबाट आरोहीहरू नेपाल आउने उनको भनाइ छ ।
गत आवमा दुई हजार एक सय ९६ आरोहीलाई सफल आरोहणको प्रमाणपत्र जारी गरिएको थियो ।
जसमध्ये आरोहण अनुमति लिई सलामी रकम बुझाएका आरोहीहरू मध्ये पुरुषको संख्या आठ सय १७ र दुई सय ६१ महिला गरी एक हजार ७८ जना छन् । पर्वतीय पथप्रदर्शक, उचाइमा जाने कामदार एवं अन्य सहयोगीहरूको कुल संख्या एक हजार एक सय १८ जना रहेको छ । जसमध्ये पुरुष एक हजार एक सय पाँच र महिला १३ जना रहेका छन् ।
आर्थिक, सामाजिक एवं माव विकास सूचाकङमा पछाडि परेका कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पर्वतीय पयृटन प्रवद्र्धनमार्फत अन्य पर्यटकीय गन्तव्य एवं सम्भावनाहरुको विकास र विस्तार गर्न नेपाल सरकारले (मन्त्रिपरिषद्) बाट उक्त दुई प्रदेशमा अवस्थित सम्पूर्ण हिमाल आरोहणमा लाग्ने सलामी रकम आव २०८२/८३ र २०८३/८४ को लागि पूर्णरुपमा छुट दिने निर्णय गरेको छ ।
प्रकाशित: १२ पुस २०८२ २०:५४ शनिबार





