सरकारी तथ्यांक अनुसार नेपाल भित्रिने विदेशी पर्यटकमध्ये सबैभन्दा ठूलो आकार भारतीयको छ। सन् २०२५ मा नेपाल भित्रिएका ११ लाख ५८ हजार विदेशी पाहुनामध्ये २५ प्रतिशत भारतीय थिए। नेपालले भारतीय पर्यटनलाई मूल श्रोत बजारको रुपमा पनि मान्दै आएको छ। त्यही अनुसार भारतीय पाहुना भित्र्याउने उद्देश्यले बेलाबेला भारतीय बजारमा प्रवर्द्धनात्मक गतिविधि पनि पर्यटन क्षेत्रले संचालन गर्दै आएको छ।
होटल संघ पोखराले त भारतीय पर्यटकलाई पोखरा घुम्न बोलाउँदै वर्षेनीजसो भारतीय सहरमा ‘चलिए पोखरा’ अभियान नै संचालन गर्दै आएको छ। प्रवर्द्धन अभियान संचालन गर्ने क्रममा आफ्नै सवारी (भारतीय) चढेर पाहुनलाई पोखरा घुम्न बोलाउने पनि गरिएको छ। पोखरासम्मको स्थलमार्ग सहज भएकोले भारतीय पाहुना आफ्नै साधन वा रिजर्भ गरेर पोखरा आउन सक्ने भनेर प्रवर्द्धन गर्ने र त्यही अनुसार पाहुना आउने गरेका पनि छन। पर्यटकीय सहर पोखराले भारतीय पर्यटनबाट लाभ लिएको भनेर व्यावसायीले बताउने गरेका छन।
तर, पछिल्लो समय भारतीय पर्यटकले आफ्नै सवारीमा घुम्न आउने क्रम बढेसँगै पोखराको पर्यटन क्षेत्रले असन्तोष जनाउन थालेको छ। खासगरि आफ्नै सवारी चढेर भित्रिएका भारतीय पाहुना भित्रिने क्रम बढेसँगै पोखराका केही व्यावसायीले सवारीसाधनको विषयलाई लिएर प्रश्न उब्जाउन थालेका छन।
भारतीय सवारीलाई मनलाग्दी तरिकाले जता पायो त्यत्तै लैजाने, उच्च हिमाली भेगसम्म पनि जाने, आवश्यक कागजात नबोक्ने तथा चालकले मादक पदार्थ सेवन गरेर समेत संचालन गर्ने गरिएको भन्दै पोखराका पर्यटक यातायात व्यवासायीले असन्तोष जनाएका हुन।
नेपाली सवारीलाई भारत प्रवेशमा कडाई भएको तर, भारतीय सवारी निर्वाध रुपमा नेपालमा पाहुना बोकेर गुड्ने गरेको भन्दै उनीहरुले जथाभावि रुपमा भित्रिएका सवारीलाई नेपाल प्रवेशमा कडाई गर्नुपर्ने तथा नियमन पनि हुनुपर्ने बताएका छन।
नेपाल पर्यटक यातायात व्यावसायी संघ (एनटिभिए) गण्डकीका पूर्व अध्यक्ष तथा अहिलेका सल्लाहकार बोबरजंग गुरुङ भन्छन, ‘भारतीय पाहुना नेपाल आउनुपर्छ, त्यसमा अवरोध छैन। तर, जथाभावि आउजाउ गर्ने र उच्च हिमाली भेगसम्म जानुलाई राम्रो मान्न सकिएन।’ उनका अनुसार पोखरासम्म मात्र आउने भनेर अनुमति लिएका कतिपय भारतीय सवारी हिमाली जिल्ला मनाङ र मुस्ताङ समेत जाँदा जोखिम बढाएको छ।
उनका अनुसार कुनैपनि भारतीय सवारीले एकवर्षमा पटकपटक गरेर बढीमा एकमहिना अवधि मात्र नेपाल आउजाउ गर्न पाउँछ तर, नेपाल भारत सीमा क्षेत्रका नेपाली र भारतीय व्यावसायी मिलेर तोकिएको भन्दा बढी समय नेपालमा गाडी गुडाउने गरिएको पनि उनले बताए।
‘भन्सार तिरेको कागजको भरमा बाह्रैमास यतै (नेपाल) रहने गरेका छन। यसलाई नियमन मात्र गर्न खोजेका छौ। गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई समेत यसबारेमा जानकारी गराएका छौ,’ उनले भने, ‘पटकपटक गरेर एकमहिना अवधि मात्र नेपालमा आउजाउ गर्न पाउने व्यवस्था भएपनि त्यो भन्दा बढी समय नेपालमा रहने गरेका छन, नियमनमा कडाई हुन नसक्दा यो मनपरि भएको हो। नेपाली र भारतीय मिलेर बोर्डरमा गाडी किनेर राखेका छन। ती गाडीको जाचपास पनि हुँदैन, भन्सारको कागज लिएर कुँदेका छन।’
भारतीय सवारीलाई अवरोध भन्दा पनि नेपाल सरकारलाई यसबारेमा सचेत गराएको उनले बताए। ‘सरकारले हामीमाथि कर लिएको छ। तर, भारतीय सवारीलाई भन्सार तिरेको भरमा छुट दिएर पाहुना बोक्न दिन्छ,’ उनले भने। भारतीय सवारी जथाभावि गुडेको भन्दै व्यवासायीले नै पोखरा भित्रिने नाकामा बसेर चेक जाँच पनि गरेका थिए।
‘हामी आफैले चेकजाच गर्ने अधिकार त छैन । त्यही भएर प्रहरीको रोहवरमा रहेर भारतीय सवारीको अवस्था बुझ्न अनुगमनमा मात्र बसेका हौ,’ उनले भने, ‘भारतीय सवारीलाई नेपाल भित्रिनै नदिने भन्दा पनि नेपालले नै नियमनमा कडाई गर्दा उपयुक्त हुन्छ भन्ने हाम्रो भनाई हो। हाम्रो दवाव नेपाल सरकारलाई हो।’
भारतबाटै यात्रु बोकेर पोखरा, मुस्ताङ, मुक्तिनाथ, मनाङ पुग्दा हाई अल्टिच्युडको कारणले विभिन्न स्वास्थ्य समस्या आउनुका साथै सवारी चालकलाई भौगोलिक अवस्थाको समेत जानकारी नहुँदा दुर्घटनाको त्रास समेत रहेको उनले बताए।
नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछाने सरकारले नै अनुमति दिएर भारतीय पर्यटक बाहक सवारी नेपाल भित्रिएको बताउँछन। ‘सरकारले भारतीय पाहुनालाई आफ्नै सवारीमा नेपाल भित्रिन अनुमति दिएको छ। नेपाली पनि आफ्नै गाडी लिएर भारत घुम्न जान्छन। चिनियाँ पनि आफ्नै गाडी लिएर नेपाल आउँछन,’ उनले भने, ‘सरकारले नै आउन दिएका हो। भन्सार तिरेर अनुमति लिएर छिरेका हुन। धमाधम भारतीय गाडी आउने गरेका छन। यसले पोखरामा पाहुनाको चलायमान बनाएको छ।’
पोखराले भारतीय सहरमा ‘चलिए पोखरा’ भनेर प्रवर्द्धन गर्दा ‘ड्राइभ टुरिजम’ भनेर प्रवर्द्धन गर्ने गरिएको पनि उनले बताए। ‘भारतीय पाहुनालाई विमानस्थलबाट मात्र आउ भन्न सकिन्न । किनकी काठमाडौंमा मात्र विमानस्थलको पहुँच छ। अहिले भारतीय पाहुना सहज रुपमा गाडीमा आउन पाएकै कारणले नेपाल आएका हुन। त्यसले अर्थतन्त्र चलायमान बनाएको छ’ उनले भने। उनका अनुसार संसारभर अहिले ड्राइभ टुरिजम निकै नै फस्टाएको छ। आफ्नो परिवार र साथीभाई सहितको टोली आफ्नै गाडीमा घुम्न जाने चलन बढेको छ।
‘नेपाली गाडी लिएर घुम्न जाने पनि चलन छ। आफ्नै गाडीमा घुम्ने चलन नेपाल र भारतमा मात्र नभई अमेरिका, यूरोपमा पनि व्यापाक छ। सडकको सहजता, बाटोमा सुविधा थपिएपछि दक्षिण एशियाली मुलुकमा पनि ड्राइभ टुरिजम फस्टाएको छ,’ उनले भने, ‘ड्राइभ टुरिजम भनेर हामीले प्रवर्द्धन गरेका छौ। त्यसलाई रोक्नु भन्दा पनि बरु नियमन गर्नुपर्छ। व्यवस्थित गरेर सहज वातावरण बनाउनुपर्छ।’
नेपालमा ट्राफिक नियममा कडाई गर्नु, कहाँ कुन समयमा चलाउन हुन्छ भनेर चालकलाई सचेत गराउनु उपयुक्त विकल्प भएको उनले बताए। ‘भारतीय पाहुनाको आगमन बढेको बेला अवरोध गर्नु हुँदैन बरु व्यवस्थित गर्नुपर्छ। कतिपय रुटमा जाँदा पालना गर्नुपर्ने नियममा कडाई गर्न सकिन्छ। स्पीड नियन्त्रणमा ध्यान दिनुपर्छ। उच्च हिमाली क्षेत्रमा जाँदा के गर्ने भनेर सचेत गराउन सकिन्छ,’ लामिछानेले भने, ‘तर, रोक्दा गलत सन्देश जान्छ। बल्लबल्ल भारतीय पाहुना आउन थालेका छन। गतिलो श्रोत बजार भनेर भारतलाई भनिएको छ। नेपालमा अवरोध हुने हो भने भारतीयलाई अन्य मुलुकले तान्नेछ।’
सरकारी नियम भन्दा बाहिर गएर भारतीय गाडी चेकजाँज गर्दा पर्यटक बिच्किन सक्ने उनले बताए। ‘भारतीय श्रोत बजारमा सकारात्मक भन्दा पनि नकारात्मक सन्देश गएर पाहुना नआउन सक्छन। त्यसको नोक्सान पोखरालाई हुन सक्छ। पोखरामा भारतीय गाडी विरुद्ध चेकजाच सुरु भएपछि अन्य क्षेत्रमा पनि यस्तै गतिविधि गरिएको छ,’ उनले भने, ‘यसले सन्देश सकारात्मक नजान सक्छ। पाहुनाले वैकल्पिक गन्तव्य सोच्न सक्छन।’ भित्रिएका सवारीलाई नियमन गर्नु, भन्सारमा जाँचपास सही तरिकाले दिनु, गति नियन्त्रणमा सचेत गराउनु, उच्च हिमाली भेगमा जाँदा के गर्ने भनेर सचेत गराउँदा सकारात्मक सन्देश प्रवाह गर्ने उनले बताए।
प्रकाशित: २२ माघ २०८२ १७:५७ बिहीबार





