साझा यातायातका बसहरू अब पनि परम्परागत हरियो रङमै सञ्चालन हुने भएका छन्। बसको रङ परिवर्तन गर्ने विषयमा विभिन्न चर्चा भए पनि कम्पनीले हाललाई विद्यमान हरियो पहिचानलाई निरन्तरता दिने निर्णय गरेको जनाएको छ।
साझा यातायातले बसको रङभन्दा सेवा विस्तार, व्यवस्थापन सुधार र यात्रुलाई सहज सेवा उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखेको जनाएको छ। कम्पनीका अनुसार हरियो रङ साझा यातायातको पहिचानसँग जोडिएकाले त्यसलाई यथावत् राखिएको हो।
यता सरकारले घोषणा गरेको निःशुल्क बस सेवा सञ्चालनबारे भने अझै अन्तिम निर्णय हुन बाँकी रहेको छ। निःशुल्क सेवा सञ्चालनका लागि कति वटा बस परिचालन गर्ने, कुन रुटमा चलाउने र त्यसको सञ्चालन मोडालिटी कस्तो हुने भन्ने विषयमा सम्बन्धित निकायबीच छलफल जारी रहेको बताइएको छ।
साझा यातायातले सरकारसँग समन्वय गरेर निःशुल्क सेवा सञ्चालनको कार्ययोजना तयार पारिने जनाएको छ। आवश्यक निर्णय भएपछि बसको संख्या, सेवा क्षेत्र तथा सञ्चालन मितिबारे औपचारिक जानकारी सार्वजनिक गरिने कम्पनीको भनाइ छ।
सरकारले सार्वजनिक यातायातलाई थप व्यवस्थित, पहुँचयोग्य र नागरिकमैत्री बनाउने उद्देश्यले विभिन्न सुधारका कार्यक्रम अघि बढाइरहेका बेला साझा यातायातको निःशुल्क सेवा सञ्चालनको तयारीलाई पनि चासोका साथ हेरिएको छ।
प्रकाशित: २९ असार २०८३ १८:०५ सोमबार





