२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अर्थ

टेक मार्केटले ल्यायो स्मार्ट फोहोर व्यवस्थापन प्रणाली

नेपालमा फोहोर व्यवस्थापनको परम्परागत शैलीलाई परिवर्तन गर्दै नेपाल टेक मार्केटले एक अत्याधुनिक स्मार्ट फोहोर व्यवस्थापन प्रणाली सार्वजनिक गरेको छ।

यो प्रणालीले कृत्रिम बुद्धिमत्ता र नवीनतम प्रविधिको प्रयोग गरी फोहोर सङ्कलन तथा व्यवस्थापनलाई अझ प्रभावकारी, पारदर्शी र सुविधाजनक बनाउने लक्ष्य लिएको छ।

कम्पनीका अनुसार, यो पहलले स्वच्छ र स्वस्थ वातावरण निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यो प्रणालीले फोहोर व्यवस्थापनमा संलग्न विभिन्न सरोकारवालाहरू जस्तै, फोहोर सङ्कलन गर्ने संस्थाहरू, घरपरिवार, अस्पताल, होटल, विद्यालय, र सरकारी निकायहरूबिच सीधा अन्तरसम्बन्ध स्थापित गर्दछ। यसले फोहोर व्यवस्थापनका लागि लाग्ने शुल्कको अनलाइन भुक्तानी सुविधा प्रदान गर्नुका साथै, नगरपालिकाका लागि छुट्टै ड्यासबोर्ड उपलब्ध गराउँछ।

यस ड्यासबोर्डमार्फत नगरपालिकाका पदाधिकारीहरूले आफ्नो नगर वा वडामा भइरहेका फोहोर व्यवस्थापनका गतिविधिहरूको वास्तविक-समय निगरानी गर्न सक्नेछन्।

नेपाल टेक मार्केटका प्रमुख प्राविधिक अधिकृत मङ्गल प्रधानले प्रणालीलाई प्रयोगकर्ता-मैत्री बनाउन नवीनतम प्रविधि र विश्वव्यापी ट्रेन्डहरू समावेश गरिएको बताए।

यो बलियो, सुरक्षित र प्रयोग गर्न सहज रहेको उनको भनाइ छ। प्रमुख व्यावसायिक अधिकृत सुष्मिता पौडेलले प्रणालीले प्रयोगकर्ताहरूबाट सकारात्मक प्रतिक्रिया पाएको र ग्राहकको अनुभव सुधार गर्न निरन्तर प्रतिबद्ध रहेको जानकारी दिइन्।

कम्पनीका सिइओ चिरञ्जीवी अधिकारीले उपभोक्ताको आवश्यकता र बजारको मागलाई ध्यानमा राखेर प्रणाली विकसित गरिएको बताए। उनले यस प्रणालीमा कृत्रिम बुद्धिमत्ताको प्रयोगले फोहोर व्यवस्थापनलाई अझ बढी प्रभावकारी र सहज बनाउने विश्वास व्यक्त गरे।

प्रकाशित: ११ भाद्र २०८२ १५:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App