सिन्धुपाल्चोकको तातोपानी नाकाबाट चिनियाँ पक्षले कन्टेनर कम छाड्दा नेपाली व्यापारीहरू समस्यामा परेका छन्। नेपालीहरूको पर्व दसैँको मुखमा पनि अरूपछि भन्दा कम कन्टेनर चिनियाँ पक्षले छाडेपछि व्यापारीहरू समस्यामा परेका हुन्।
पहिरोले करिब दुई महिनादेखि अवरुद्ध भएर बल्लतल्ल खुलेको नाकाबाट चिनियाँ पक्षले कम कन्टेनर छाडेपछि दसैँ लक्षित सामान ल्याउन समस्या भएको व्यापारहरूले गुनासो गरेका छन्।
चीनमा लोड भएर बसिसकेको कन्टेनरहरू चीनले नछाडेपछि आफूहरू समस्यामा परेको नेपाल चाइना चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य रमेश शेर्पाले बताए। नेपाली पक्षबाट पहल नपुगेकाले चीनले कम कन्टेनर छाडेको उनको भनाइ छ।
'व्यापारीले कहिले पहिरोको मार खेपेर सामान ल्याउन सकेनौँ। अब अहिले पहिरोले अवरुद्ध सडक खुल्यो तर चिनियाँहरू कम कन्टेनर छाडेपछि समस्या भयो,' शेर्पाले भने, 'नेपाली पक्षको भन्सार पक्षबाट पनि अलि पहल पुगेन। चिनियाँ पक्षले के कारणले कम कन्टेनर छाडेको हो भन्न सकेको छैन। व्यवसायी मारमा परेका छौँ, दसैँको सामान दिन सकिरहेका छैनौँ।'
नेपाली भूभागमा भएको सामानको कुनै समस्या नभए पनि चिनियाँ भूभागमा भएको कन्टेनर नेपाल प्रवेश नहुँदा समस्या भएको ट्रान्स शिल्क टर्मिनलका निर्देशक अनिरूद्र थापाले बताए।
'चीनबाट सहज रूपमा गाडीहरू आउन सकेको छैन। जति सामान आउनुपर्ने थियो त्यति आउन सकेको छैन,' थापाले भने, 'यो चाडपर्वको बेलामा २५/३० कन्टेनर त आउनुपर्थ्यो तर हिजो ५/७ कन्टेनर मात्रै नेपाल आएको छ। चाडपर्व लक्षित धेरै सामान आउनुपर्ने थियो त्यो आउन सकिरहेको छैन।'
'चीनको व्यवस्थापनले चासो नदिएको हो कि वा उनीहरूको केही आफ्नै समस्या छ कि त्यो बुझ्न सकिएको छैन,' थापाले भने, 'नेपालीको तर्फबाट सबै पहल भइरहेको छ।'
दसैँ लक्षित सामान बोकेको कन्टेनहरू चीनले के कारणले नछाडेको जानकारी नपाएको हिमालय सीमापार वाणिज्य संघ सदस्य बलराम ढकालले बताए। उनका अनुसार चीनले नेपाली कन्टेनर नछाड्नुपर्ने केही कारण भनेको छैन।
ढकालले भने, 'दसैँ आइसक्यो तर चीनले सहज रूपमा कन्टेनर छाड्न मानिरहेको छैन। नेपाली चाडपर्व केन्द्रित सामान भन्ने चीनलाई पनि थाहा छ उसले छाड्नुपर्थ्यो तर छाडेन। चीनको आफ्नै नियम हुन्छ त्यही भएर पो हो कि।'
सोचे जस्तो चीनबाट सामान आउन नसकेको अर्का व्यवसायी शारदाप्रसाद पराजुलीले बताए। चीनमा करिब दुई सय नेपाली कन्टेनर जाममा रहेको चिनियाँहरूले आफूलाई भनेको पराजुलीले बताए। 'चीनमै धेरै नै जाम छ भन्ने कुरा आएको छ। हिजो भेँडा च्याङग्राले गर्दा पनि अलि जाम नै हुन्छ,' पराजुलीले भने, 'चीनको रमितेमा नेपाली गाडी दुई सय जतिको जाम भएको खबर आएको छ।'
अरूपछिको तुलनामा हिजो कम कन्टेनर चीनले छाडको तातोपानी भन्सार सिन्धुपाल्चोकका सूचना अधिकारी रमेश शाहले बताए। नेपालको तर्फबाट चीनमा कुरा भइरहेको उनले जानकारी दिए। 'हामीले रेगुलर रूपमा कोडिनेसन गरेका छौँ,' सूचना अधिकारी शाहले भने, 'हाम्रो प्रमुख भन्सार अधिकृतज्यूले न्यालम भन्सारमा पनि कुरा गरिसक्नु भएको छ।'
बिहीबार नेपालतर्फबाट कन्टेनरहरू पनि चीनमा पठाएको शाहको भनाइ छ। 'हिजो उहाँहरूको जनशक्ति पनि कम थियो कि के थियो, अरूपछिको तुलनामा अलि कम नै कन्टेनर छाडे,' शाहले भने, 'अब २०/२५ वटा कन्टेनर आउने अपेक्षा गरेका छौँ। हामीले चीनको भन्सारसँग समन्वय गरिरहेक छौँ। हामी सम्पर्कमै छौँ।'
चिनियाँहरूले आफूहरूको जनशक्तिले धान्ने जति पठाउने म्यासेज पठाएको शाहको भनाइ छ। 'उनीहरूले नेपालीहरूको ठूलो चाडपर्व पनि थाहा छ भनेका छन्, सामान रोकिएको पनि थाहा छ भनेका छन्,' शाहले भने, 'हाम्रो जनशक्तिले धान्ने जति पठाउने म्यासेज पठाएका छन्।'
भोटेकोशी गाउँपालिका-२ मा पर्ने कोदारी सडक खण्डको इको पहिरोमा साउन १७ गते राति खसेको पहिरोले अवरुद्ध सडक भदौ ६ गते मात्रै खुलेको थियो।
प्रकाशित: १० आश्विन २०८२ १४:२० शुक्रबार





