८ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री कार्कीले रविलाई भनिन्: युवाले ठूलो आशा राखेका छन्, सम्हालिएर काम गर्नू

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन्। भेटका क्रममा उनले प्रधानमन्त्री कार्कीको नेतृत्वमा सम्पन्न निर्वाचनलाई ऐतिहासिक र सफल भन्दै बधाई तथा धन्यवाद व्यक्त गरे।

लामिछानेले समयमै निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न भई देशले लोकतान्त्रिक निकास पाउनु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे। उनले यस सफलताका लागि प्रधानमन्त्री, मन्त्रिपरिषद् र सचिवालय टिमको प्रशंसा गर्दै आगामी दिनमा पनि मार्गदर्शन र अभिभावकीय भूमिका अपेक्षित रहेको बताए।

प्रधानमन्त्री कार्कीको दृढता र अडानकै कारण देशले सहज निकास पाएको उल्लेख गर्दै उनले विगतका निर्वाचनभन्दा यो प्रक्रिया बढी शान्तिपूर्ण, निष्पक्ष र गुणस्तरीय भएको धारणा राखे। यस्तो उपलब्धि मुलुकले दीर्घकालसम्म सम्झिरहने पनि उनले बताए।

त्यस अवसरमा प्रधानमन्त्री कार्कीले रास्वपाको निर्वाचन सफलताप्रति बधाई दिँदै जनअपेक्षा पूरा गर्न एकताबद्ध भएर काम गर्न सुझाव दिइन्। उनले देशवासीले युवाप्रति ठूलो आशा राखेको उल्लेख गर्दै इमानदारीपूर्वक काम गरे अपेक्षित परिणाम हासिल गर्न सकिने बताइन्। आलोचना र विरोधलाई कामबाटै जवाफ दिनुपर्नेमा उनले जोड दिइन्।

भेटमा समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको थियो। लामिछानेले वर्तमान सरकारले गरेका निर्णयप्रति आफ्नो पार्टीको कुनै आपत्ति नरहेको स्पष्ट पार्दै सरकारलाई पूर्ण अवधि काम गर्न दिनुपर्ने धारणा व्यक्त गरे। साथै, अर्को सरकार गठन नहुँदासम्म गर्न सकिने काम प्रभावकारी रूपमा अघि बढाउन सुझाव दिए।

उनले विदेशमा रहेका नेपालीहरूको सुरक्षाप्रति चासो व्यक्त गर्दै पोर्चुगलमा नेपाली विद्यार्थीले भोगेका समस्या, मध्यपूर्वमा बढ्दो तनावका बीच नेपाली श्रमिकको सुरक्षा तथा पेट्रोलियम पदार्थको आपूर्तिका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रकाशित: ८ चैत्र २०८२ २१:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App