सिन्धुपाल्चोकको तातोपानी नाका ५० दिनदेखि सुनसान छ । अरनिको राजमार्गको तातोपानी नाका जोड्ने सडकको बाह्रबिसे–तातोपानी खण्डमा पर्ने इको भन्ने ठाउँमा गएको पहिरोका कारण ५० दिनयता यातायात पूर्ण रूपमा ठप्प भएको छ । त्यसले गर्दा यो नाकाबाट मालवस्तु भित्र्याउन सकिएको छैन ।
अरनिको राजमार्गको भोटेकोसी गाउँपालिका डाक्लाङदेखि लिपिङ सडकखण्डका विभिन्न स्थानमा लेदोसहित आएको पहिरोले काठमाडौं आउने सामान बोकेका कन्टेनर चीन तथा अरनिको राजमार्गका विभिन्न खण्डमा अलपत्र परेका छन् । गत साउन ६ गतेदेखि अवरुद्ध सडक खुलाउन आंशिक पहल भए पनि दीर्घकालीन रूपमा भने काम हुन सकेको छैन ।
सडक अवरुद्ध हुँदा स्थानीयसँगै व्यवसायीहरू पनि मर्कामा परेका छन् । चीनतर्फ करिब १५ सयभन्दा बढी कन्टेनर अड्किएका छन् । साथै खर्बौंका सामान चीनको भूभागमा अलपत्र परेका छन् ।

दसैंतिहारलाई लक्षित गर्दै चीनबाट भित्र्याइएका मालवस्तु नेपाल ल्याउन नसकेपछि पारि नै अलपत्र रहेको व्यवसायीहरू बताउँछन् ।
‘चाडपर्व नजिकिएसँगै हामीले तातोपानी नाकाबाट दसैं, तिहार, छठलगायत पर्वलक्षित सामग्री ल्याएका थियौं तर लगातारको सडक अवरुद्धले ती मालवस्तुहरू बिग्रिने अवस्थामा छन्,’ सिल्क ट्रान्सपोर्टका डाइरेक्टर विजय शेर्पा भन्छन्, ‘हामी व्यवसायीहरू मारमा परेका छौं ।’
तातोपानी नाकाबाट ढुवानी गरिरहेको सिल्क ट्रान्सपोर्टका डाइरेक्टर शेर्पाले एक हजार पाँच सयभन्दा बढी कन्टेनर विभिन्न स्थानमा रोकिएको बताए । उनका अनुसार चीनका न्यालम, ढिंग्रे, खासा र जाङ्बु पोर्ट तथा नेपालका लिपिङ, कोदारी, तातोपानी तथा भन्सारबाट छुटेका कन्टेनर डाक्लाङको पहिरोभन्दा माथिकै सडकखण्डमा रोकिएका छन् । कन्टेनर लामो समय रोकिँदा फलफूल कुहिएर खेर गएको उनको भनाइ छ ।

यस्तै चीनबाटै दसैंलक्षित रेडिमेड र कच्चा कपडा तथा गोल्डस्टार जुत्ताका कच्चा सामान ल्याएका गोल्डस्टारका सप्लाई हेड सञ्जय कर्णले आफ्ना करोडौंका सामान चीनमै अड्किएको बताए । उनले भन्सारले अन्य सामानभन्दा फलफूललाई प्राथमिकता दिएका कारण दसैंलाई लक्षित गरेर ल्याइएको सामान चीनमै अड्किएको उनले गुनासो गरे । इकु पहिरोमा भेटिएका उनले भने, ‘दसैंका लागि भनेर हामीले ५० करोड बराबरको कच्चा सामान लिएर आएका थियौं । तर बाटो बन्द हुँदा ढुवानी गर्न सकिएको छैन ।’ उनले थपे, ‘एक त बाटोले हैरान पारेको छ, झन् त्यसमा भन्सारले पनि अरू सामानभन्दा फलफूललाई प्राथमिकतामा राखेबाट हामीलाई ठुलो मर्का परेको छ ।’
अरनिको राजमार्गको भोटेकोसी गाउँपालिका क्षेत्रका विभिन्न स्थानमा झन्डै पाँच सय मिटर सडक भासिएको छ । इकुमा दुई सय ५० मिटर, डाक्लाङमा एक सय १० मिटर, पान्थलीमा एक सय मिटर, लार्चेमा २५ मिटर र घट्टेखोलामा १० मिटर सडक भासिएको छ । बिहीबार स्थलगत अनुगमनमा पुगेको सडक विभागको टोलीले नापजाँच गर्दा यो खण्डमा झन्डै पाँच सय मिटर सडक भासिएको बताएको छ ।
यातायात खुलाउन डोजर चलाए पनि बारम्बार पहिरो गइरहेका कारण बाटो खुल्ने सम्भावना कम भएको छ । पानीका कारण लेदो झरिरहेकाले इको पहिरोमा त प्लास्टिकले छोपेर पहिरो रोक्न खोजिएको छ ।

२०७२ सालको भूकम्पपछि अरनिको राजमार्गमा पर्ने बाह्रबिसे–कोदारी सडकखण्ड पटक–पटक भत्किने र पहिरो झर्ने समस्याले व्यापारी र स्थानीयवासी आजित भएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले जानकारी दिए । ‘अरनिको राजमार्ग सडक मात्र नभएर रसुवा नाका बन्द भएको बेलामा चीनसँगको व्यापार मजबुत बनाउने नाका हो । यो नाकामा कसैको आँखा पुग्न सकेन,’ उनले भने । गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले रसुवागढी नाका पूर्ण रूपमा ठप्प छ । यो नाका ठप्प भएपछि चीनसँग स्थल मार्गबाट हुँदै आएको व्यापार तातोपानी ‘डाइभर्ट’ भएको थियो । अहिले चीनसँग जोडिएको उत्तरी नाकाबाट हुँदै आएको व्यापारका लागि तातोपानी मात्र विकल्प हो तर गत साउनदेखि यो नाका पनि विभिन्न स्थानमा गएको पहिरोका कारण बन्दजस्तै छ । रसुवा बन्द भएकाले यसपटक तातोपानीबाट हुने आयात दोब्बर हुने अनुमान गरिएको थियो तर यसपटक दसैंका लागि झिकाइएका सामान काठमाडौं ल्याउन नसक्दा मुलुकभर यसको अभाव पर्ने देखिएको छ ।
यतिबेला चीनबाट दसैंलक्षित सामान तयारी कपडा, जुत्ता, ब्याग, खेलौना, सिंगार तथा इलेक्ट्रिक सामानलगायत मालवस्तु ल्याउने गरिएको छ । विशेषतः निम्नदेखि मध्यमस्तरको परिवार अधिकांशले दसैंमा चिनियाँ तयारी पोसाक र जुत्ता प्रयोग गर्दै आएका छन् । अहिले व्यापारीले खाद्यवस्तुसहित कुहिने मालवस्तु बोकाएर नेपाल भित्र्याइरहेका छन् । त्यसरी सामान भित्र्याउँदा एक कन्टेनर फलफूलको झन्डै एक लाख ढुवानी खर्च बढ्ने व्यापारीहरू बताउँछन् । स्याउ र मसलाजन्य खाद्यवस्तु कुहिन थालेका छन् । चीनबाट स्याउ, ओखर, आँप, किबी, लसुनलगायत कुहिने र छिट्टै सड्ने सामान आउने गरेको छ । संघका अध्यक्ष तथा उत्तरी नाकाका व्यवसायी बस्नेतले भरियालाई बोकाएर भए पनि नेपाल भित्र्याउन नसकिने हो भने दसैंका लागि झिकाइएका सामान उपभोक्तासमक्ष नपुग्ने बताए ।

भोटेकोसी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठले सडक भासिनुको मुख्य कारण तलबाट भोटेकोसी नदीको कटान र माथिबाट निरन्तर खस्ने लेदो र ढुंगासहितको पहिरो भएको बताउँछन् । उनले भने, ‘लेदो र ढुंगासहितको पहिरोका कारण जति मर्मत गरे पनि अवरोध सिर्जना भएको छ ।’ सडक बने पनि वर्षा सुरु हुनेबित्तिकै माथिबाट आएको लेदोसहितको पहिरोले सडक नै बगाइदिने गरेको उनको भनाइ छ । उनले यो बाटोमा दीर्घकालीन समाधान नखोजेसम्म सडकको समस्या कहिल्यै समाधान नहुने बताए । साथै उनले यस सडकखण्डमा बनाइएका पुलहरूमा थेग्न सक्ने भारअनुसार नै सामान ल्याउन व्यवसायीहरूमाझ आग्रह गरे । उनले भने, ‘अहिले पनि पानी पर्नेबित्तिकै माथिबाट पहिरो झर्ने क्रम जारी छ । व्यवसायीहरूले पनि गाडीमा आफ्नो सामान लोड गर्दा पुलले भार थेग्ने जति नै ल्याउनु होला ।’
सोहीक्रममा वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा स्थानीयहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङलाई भेटेका थिए । भेटमा मन्त्री घिसिङले तातोपानी नाका जोड्ने अरनिको राजमार्ग दुई दिनभित्र खुलाउन सडक विभागलाई निर्देशन दिएका समेत दिएको श्रेष्ठले जानकारी दिए । मन्त्री घिसिङको निर्देशनपछि भोलिपल्टै अवरुद्ध राजमार्ग हेर्न सडक विभागका महानिर्देशक डा. विजय जैसी, उपमहानिर्देशक प्रभातकुमार झा, पहिरो विशेषज्ञ मधुसुधन आचार्य, उदयराज न्यौपाने, शुभराज न्यौपानेलगायत टोलीले अवलोकन गरेको छ ।
अवलोकनसँगै डा. महानिर्देशक जैसीले एक साताभित्र एकतर्फी सडक सञ्चालनमा आउने आश्वासन दिए । सडक विभागका महानिर्देशक जैसीले सडकको मुनिपट्टि भोटेकोसीको कटान तथा माथिबाट माटो, ढुंगासहितको लेदो र पहिरो खसेका कारण सडक सुचारु गर्न समस्या भएको बताए ।

‘स्थलगत अनुगमन भएको सरोकारवाला निकायको छलफलपछि कम्तीमा एक साताभित्र सडक खुलाउने निर्णय गरेका छौं,’ उनले भने ।
यो पहिरोले साउन ७ गतेदेखि पूर्ण रूपमा अवरुद्ध भएको सडक गत भदौ ५ गते एकतर्फी सञ्चालनमा ल्याएको थियो । तर सञ्चालनमा आएको तीन दिनमै अवरुद्ध भएको सडकखण्ड अझै पूर्ण रूपमा बन्द रहेको तातोपानी भन्सार कार्यालयका अधिकृत राजेन्द्रप्रसाद चुडालले बताए । यसअघि दैनिक करोडौंमा राजस्व शुल्क उठाउने गरिएको यस भन्सारमा पछिल्लो समय निराशाजनक रहेको सुनाए ।
‘अहिले भन्सारमा राजस्व उठ्ने क्रम एकदमै निराशाजनक छ । यहाँबाट सामान नआएपछि कतिपयले समुद्रको बाटो रोजेर भारतीय नाका भएर तराईका नाकाबाट सामान ल्याउने गर्नुभएको छ । तर ढुवानीका लागि लामो समय लाग्ने भएकाले व्यावहारिक रूपमा अप्ठेरो हुँदै गएको छ,’ उनले भने । उनले सडक खुलाउन आफ्नो क्षमताले भ्याएसम्म माथिल्लो निकायमा कुराकानी गरिरहेको बताए । ‘मैले के गर्नुपर्ने हो, त्यो गरेको छु तर मेरो हैसियत र कार्यक्षेत्र सडक खुलाउन निर्णायक हुन सक्दैन । पहलबाहेक अरू केही गर्न सकिएको छैन,’ भन्सार प्रमुख चुडालले भने ।
प्रकाशित: ३ आश्विन २०८२ २१:२५ शुक्रबार





-1200x560-600x400.jpg)