२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
अर्थ

दसैंपछिको पहिलो दिनमै सेयर बजारमा पहिरो, ५८ अंकले घट्यो परिसूचक

दसैं बिदापछिको पहिलो कारोबार दिन मंगलबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ। लामो बिदापछि खुलेको बजार ५८.५५ अंकले घटेर २६०४.९६ विन्दुमा झरेको हो।

सूचकमा भारी गिरावट आए पनि कारोबार रकम भने दसैंअघिको तुलनामा बढेको छ।

मंगलबार बजारमा ४ अर्ब ६२ करोड ९० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो। जबकि दसैंअघिको अन्तिम कारोबार दिन करिब ३ अर्बको मात्र कारोबार भएको थियो।

मंगलबार ३२६ कम्पनीको १ करोड ३ लाख ४५ हजार कित्ता सेयर ५५ हजार ४५० पटक खरिदबिक्री भएको हो। मंगलबार कारोबारमा आएका सबै १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ।

जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ४.८३ प्रतिशतले घटेको छ। त्यसैगरी, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत र निर्जीवन बीमा उपसमूहमा २ प्रतिशतभन्दा बढीको गिरावट आयो। बैंकिङ्ग, वित्त, लगानी, जीवन बीमा लगायतका उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा धेरैले घट्यो।

मंगलबार भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले घटेको छ भने नेपाल पुनर्बीमा कम्पनीको मूल्यमा साढे ८ प्रतिशत र ग्लोबल आइएमई समुन्नत योजना २ को इकाईमूल्यमा करिब साढे ७ प्रतिशतको गिरावट आयो।

बजार ओरालो लागेको दिन सर्वाधिक मूल्य बढ्नेमा भने अधिकांश ऋणपत्रहरू रहे। जसमध्ये सेन्चुरी डिबेन्चर २०८८ को मूल्य १० प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा यूनियन हाइड्रोपावरले २८ करोड ३१ लाख रुपैयाँसहित शीर्ष स्थानमा रह्यो। नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि इन्स्योरेन्सको क्रमशः साढे १९ करोड र साढे १२ करोडभन्दा बढीको कारोबार भयो।

प्रकाशित: २१ आश्विन २०८२ १६:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App